आलोचनाको अचानोमा कर्मचारीतन्त्र

देशमा साँच्चै विकृति बढेको छ । सबैतिर केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनता सुकिला–मुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश भएका छन् । दुर्गममा नजाने, सहरमा राम्ररी सेवाप्रवाह नगर्ने, बिरामीको हदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टर, जस्तोसुकै अपराध गरे पनि शक्तिकेन्द्रसँग नजिक रहेकालाई संरक्षण दिने प्रहरी, मनपरी भाडा असुल गरी सिन्डिकेट प्रणालीलाई सुदृढ गरी जनतालाई ठगी गर्ने यातायात व्यवसायीसँग मिलीभगत गरी यस्ता कुकृत्य निरन्तरता दिन सहयोग गर्ने अख्तियारवाला, भन्सारमा दस्तुर कम गरी व्यापारीसँग मिलीभगत गर्नेहरू, आम्दानी कम देखाइ आयकर छल्न व्यापारीलाई सिकाउने, अनुभवविहीन राजनीतिज्ञलाई भ्रष्टाचार र अख्तियारको दुरुपयोग गर्न अभ्यस्त बनाउनेहरू, प्रत्येक आर्थिक वर्षको अन्त्यमा वर्षायाम प्रारम्भ भएपछि अत्यन्त न्यून गुणस्तरको सडक निर्माण गर्नेहरू, ससाना जग्गाको रजिस्टे«सन पास, नामसारी, नागरिकता प्रमाणपत्रलगायतका लागि आवेदन दिनेहरू र अन्यायमा परी न्यायको खोजी गर्दै सदरमुकाम आइपुग्ने सर्वसाधारणलाई दलाल लगाइ दिने, यी सबै क्रियाकलापबाट जनतालाई दुःख दिई स्थानीय तथा राष्ट्रियस्तरमा तथाकथित टाठाबाठा एवं समाजसेवीलाई मनग्य फाइदा दिलाइ आफूसमेत त्यसैबाट आर्थिक तरक्की गर्न उद्यत रहनेहरू, सबै विभिन्न आवरणमा राष्ट्रसेवक कर्मचारी कहलिएका छन् ।

यिनीहरूको जीवनशैली, कार्यप्रक्रिया र संस्कार नै टाठाबाठालाई रिजाइ दिनदुःखी जनतालाई थप अन्यायमा पार्नुरहेको छ, जसलाई हामी कर्मचारी भनेर चिन्छौं । त्यसैले यी राष्ट्रसेवक सर्वसाधारण गरिबहरूको झुप्रादेखि ठूलाठूला जिम्मेवारीमा रहेका राजनीतिज्ञ, व्यापारीदेखि उद्योगपति, सरकारबाहेक अन्य क्षेत्रमा काम गर्नेदेखि समाजसेवा र नागरिक समाजको आवरणमा क्रियाशील, सबैको आलोचनाको पात्र भइरहेका छन् । विभिन्न सञ्चारमाध्यममा कर्मचारीको कार्यशैली’bout खुला आलोचना भएको पाइन्छ । राजनीतिज्ञले आफ्नो असक्षमताका लागि कर्मचारी संयन्त्रमाथि नै दोषारोपण गर्दै आएका छन् । यसले गर्दा सीमित संख्यामा रहेका स्वाभिमानी राष्ट्रसेवक विस्तारै पाखा लाग्दै पेसा परिवर्तन गर्दै निजामती सेवाबाट पलायन हुँदै गएका छन् । परिणामस्वरूप निजामती सेवाभित्र असल कर्मचारीको खोजी गर्दा अपवादको रूपमा मात्रै फेला पर्छ । यो अवस्था सिर्जना हुनुमा कारक तŒवहरूको अन्वेषण गरी उपचार खोज्ने विषयमा राज्य लामो समयदेखि मौन रहेको अवस्था छ । यसको पूर्वाग्रहरहित भई विश्लेषण गर्न जरुरी देखिएको छ ।

आखिर देशको पढेलेखेको र अरूलाई बाटो देखाउने हैसियतमा रहेको समूह नै कर्मचारी हो । तर, कर्मचारी आफंै दिग्भ्रमित भएका हुन् वा यो संयन्त्रलाई यस्तो दूरवस्थामा पु¥याउने संस्कार र पद्धति नै देशले विकास गरिसकेको हो ? अध्ययन जरुरी देखिएको छ । कर्मचारीमा एकथरी १० प्रतिशत काम र ९० प्रतिशत लोकप्रियता हासिल गर्न तल्लीन हुने गर्छन् । यसैका लागि सरकारी स्रोतसाधनको दुरुपयोग समेत गर्छन् । अर्को वर्ग छ, राजनीतिक वर्ग जे गर्दा खुसी हुन्छ, त्यही मात्र गरी व्यक्तिगत फाइदामा तल्लीन हुने । नेपालमा टे«ड युनियनका नाममा निम्नस्तरका कर्मचारीलाई अनुशासनहीन बनाउने, एउटा मन्त्रालयमा एकभन्दा बढी सचिव राखी प्रशासनिक नेतृत्वलाई अत्यन्त कमजोर बनाउने, सचिवबीच द्वन्द गराई व्यक्तिगत हिसाबमा तरक्की गर्नेहरू नेपालको कर्मचारीतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेका छन् । उनीहरूका चिप्ला प्रस्तुतिबाट राजनीतिज्ञ बुझी नबुझी प्रभावित बन्न पुग्छन् ।

सञ्चार माध्यममा खुला आलोचना, राजनीतिज्ञद्वारा असहयोगको दोषारोपणका कारण स्वाभिमानी राष्ट्रसेवक विस्तारै पेसा परिवर्तन गर्दै जान थालेका छन्

कर्मचारीको वृत्ति विकास विस्तारै गुणस्तरहीन कर्मचारीले गर्ने दलालीमा निर्भर हुँदै छ । तलबलगायतका सुविधाका विषयमा नेपालको कर्मचारीतन्त्र विश्वमा नै दोस्रो न्यून बेतनभोगीमा पर्न आउँछ । तसर्थ वैकल्पिक व्यवसाय अवलम्बन नगरी कर्मचारी आफ्नो दैनिकी चलाउन सक्दैनन् । यसै कारण कर्मचारी काममा ढिलो पुग्छन्, छिट्टै निस्कन्छन् । आफ्नै व्यक्तिगत समस्याले मानसिक द्वन्दको सामना गरिरहनु परेकाहरूले अरूको पीडामा मलमपट्टि गर्न खासै ध्यान पु¥याउन सक्दैनन् । कर्मचारीको अर्को समूह छ, जसले कहिल्यै राजधानी छाड्दैन । शक्तिकेन्द्रसँग नजिक रहेको परिवारबाट आएको हुन्छ । देशविदेशमा भ्रमण गर्ने थुप्रै अवसर प्राप्त गर्छ, हैसियतभन्दा बढी सरकारी सुविधाको उपयोग गर्छ । पुरस्कार, विभूषण, अलंकार यिनीहरूले नै प्राप्त गर्छन् । यो दृश्य हेर्दाहेर्दै अन्य पहुँच नभएकामा निराशा र वितृष्णा पैदा हुन्छ, यस्तै निराशा कर्मचारी मोफसलमा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यमा संलग्न भएका हुन्छन् । कुण्ठा पालेका वर्गले जनतालाई सेवा प्रदान गर्नुपरेको र गरिरहेको अवस्था छ ।

विद्वानहरूले राजनीतिलाई अत्यावश्यकीय खराब वस्तुका रूपमा परिभाषित गर्न थालेका छन् । देशमा पद्धतिको विकास गर्नेतर्फ राजनीतिज्ञहरूको ध्यान पटक्कै गएको पाइँदैन । इमानदार, परिश्रमी र सच्चरित्रता कायम गर्न सक्ने योग्यतम कर्मचारीलाई उचित जिम्मेवारी दिनेतर्फ यिनीहरूको ध्यान जाँदैन । नातावाद, कृपावाद र आर्थिक तरक्कीलाई नै सबै प्रकारको काम गर्ने आधार बनाइन्छ । योग्य र स्वाभिमानी व्यक्ति यस्तो गलत र अस्वस्थ प्रतिस्पर्धामा उत्रिन चाहँदैनन् । सबैतर्फ कम्मल ओढेर घिउ खाने, आफू मात्रै सर्वज्ञ हुँ भन्नेहरू नै पुरस्कृत हुन पुग्छन् । देशको राजनीतिले कर्मचारीलाई सत्कार्यमा लाग्न प्रोत्साहन गर्नुपर्नेमा प्रशासनको नेतृत्व गर्नेलाई नै देशका प्रधानमन्त्री भ्रष्टाचार गर्न दबाब दिन्छन् । टेड्र युनियनका नाममा ‘मसल’ प्रदर्शन गरी सचिवलाई धम्क्याउने जिम्मेवारी मन्त्रिपरिषद्ले औपचारिक रूपमा नै निम्नस्तरको कर्मचारीलाई प्रदान गर्ने निर्णय गर्छ । राजनीतिज्ञहरू सचिवलाई आफ्नो निजी सचिवका रूपमा परिणत गर्न चाहन्छन् । सचिवहरू कानुनले दिएको अधिकार प्रयोग गर्ने हैसियत राख्दैनन् । सरकारले गरेका गलत निर्णयमा सुधार गर्न असल मनसायले सरकारलाई सुझाव दिनेलाई कारबाही गर्नसमेत सरकार चुक्दैन । देशले चामत्कारिक नेता त पाएन नै ! क्षमतावान राजनेता र नेतृत्व प्रदान गर्न सक्ने सक्षम प्रशासन प्राप्त गर्ने संयन्त्र र पद्धति नै निर्माण गरेन । यस्तो अवस्थामा असल प्रशासक व्यक्तिगत हैसियतमा अपवादका रूपमा देखिए भने पनि समग्र कर्मचारीतन्त्र र अस्तव्यस्त पथभ्रष्ट राजनीतिले उनीहरूलाई साथ दिँदैन । यसका थुप्रै उदाहरण नेपालको कर्मचारीतन्त्रमा खोजीपस्दा पाउन सकिन्छ ।

समानान्तर अर्थ मन्त्रालय अन्यत्र कतै कायम गरी व्यापारी, उद्योगपति र तस्करहरूको सल्लाहमा वार्षिक बजेट तयार पार्दा त्यसको जवाफदेहिता र जिम्मेवारी लिन कठिन हुने देखी तत्कालीन अर्थ सचिवले राजीनामा दिनुपर्ने स्थिति बन्यो । यो परिस्थितिलाई खुलेर साथ दिँदै समानान्तर अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग काम गर्ने एक उच्च पदस्थ कर्मचारी सञ्चार माध्यममा अझै असल कर्मचारीका रूपमा छाएकै छन् । पुरस्कृत गर्ने र जिम्मेवारी दिने क्रममा नातावाद र कृपावाद संस्थागत भएकै छ । जनताले अयोग्य सोची धुलो चटाइ दिएका मन्त्री तथा प्रधानमन्त्री बनेका छन् । निर्वाचनमा हारेका विभिन्न राजनीतिक दलका अध्यक्ष आफ्ना श्रीमतीलाई निर्लज्ज भई सभासद्मा मनोनयन गर्छन् । शहीदका लागि प्राप्त कोटामा आफ्नो छोरालाई विदेशमा पढ्न पठाउने, क्षमताविहीन आफ्नी छोरीलाई विदेशीसँग लम्पसार परी डाक्टर पढ्न पठाउन गिडगिडाउनेहरू नै देशको उच्चतम राजनीतिक नेतृत्वमा पुगेका छन् । राजनीतिमा सुधार नआएसम्म देशमा पद्धतिको विकास र सुधार कसरी सम्भव हुन्छ ? यस्तो राजनीतिले बनाएको विकृत र प्रदूषित समाजका सदस्य नै देशको विभिन्न क्षेत्रमा रहने हुन् । यस अवस्थामा देशमा कर्मचारीतन्त्र मात्रको आलोचना हुनु र चुस्त सेवा प्रवाहको अपेक्षा गरिनु कहाँसम्म सान्दर्भिक हुने हो ? गम्भीरतापूर्वक चिन्तन गरिनु जरुरी छ ।

विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदा जनताको चाहनाअनुसार परिवर्तनकामी शक्तिसँग घुलमिल गरी इमानदारिताका साथ सहयोग गरेको इतिहास कर्मचारीतन्त्रले बोकेको छ

यति हुँदाहँुदै पनि हाम्रो कर्मचारीतन्त्रले राम्रा काम पनि गरेको छ । हुन त नेपालको कर्मचारीतन्त्रलाई प्रारम्भदेखि नै शासनहरूको औजारका रूपमा मात्रै प्रयोग गर्न थालियो । शासकहरूको मनस्थितिमा सुधार नआएकाले कर्मचारीतन्त्र यस्तै, कार्यशैलीको अनुकरण गर्दै गयो । यति हुँदाहुँदै पनि स्थायी संयन्त्रका हिसाबले जस्तोसुकै अस्तव्यस्तता र राजनीतिक संकटको अवस्थामा समेत देशमा शान्ति सुरक्षा कायम गरी नेपाली जनतालाई राज्यको उपस्थितिको अनुभूति गराउने, शान्तिको समयमा विकास निर्माण कार्यहरू सम्पन्न गर्दै अघि बढेको, राजनीतिक प्रक्रियामा सर्वसाधारण जनतालाई सहभागी बनाउने काममा क्रियाशीलता देखाएको, देशको कुनाकाप्चामा रहेका नेपालीहरूलाई राष्ट्रिय मूलधारमा प्रवाहीकरण गर्न योगदान गरेको, विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदा जनताको चाहनाअनुसार छिट्टै परिवर्तनकामी शक्तिहरूसँग घुलमिल गरी इमानदारिताका साथ सहयोग गरेको जस्तो इतिहास कर्मचारीतन्त्रले बोकेको छ । शासक वर्गको औजार बन्ने क्रममा हाम्रो कर्मचारीतन्त्रले राणाशासनमा शासकको विशुद्ध व्यक्तिगत अभिष्ट पूरा गर्न लागिप¥यो भने ३० वर्षसम्म एकतन्त्रीय तानाशाही पञ्चायती व्यवस्थालाई निरन्तरता दिने कार्यमा यो शक्तिलाई परिचालन गरिरहेको अवस्था थियो । २०४६ सालको आन्दोलनपश्चात् देशमा सुधारको अपेक्षा गरिएकोमा राजनीतिक दलहरूले कर्मचारीलाई आआफ्नो कित्तामा विभाजन गर्न पुगे । यसलाई संस्थागत र सुदृढ बनाउने कार्य दोस्रो जनआन्दोलन पछि भयो । यतिखेर सबै क्षेत्रका अगुवा देशमा सुधार गर्नुभन्दा अस्तव्यस्त सिर्जना गर्नेतर्फ क्रियाशीलता देखाइरहेका छन् ।

यस्तो संगीन अवस्थामा समेत कर्मचारीतन्त्रले आफ्नो धर्म निर्वाह गरिरहेको छ । त्यसैले सबै अस्तव्यस्तताको कारकका रूपमा कर्मचारीलाई लिइँदा यस संयन्त्रप्रति अन्याय हुनेछ र कर्मचारीको कार्यसम्पादनस्तर अत्यन्त उत्तम भएको दलिल पेस गरिरहँदा समेत अत्युक्ति हुनेछ । त्यसैले देशमा अत्यन्त राम्रा शैक्षिक योग्यता भएका, सक्षम, ठूलो प्रतिस्पर्धाबाट छानिएका कर्मचारीलाई उचित मार्गदर्शन गर्ने र प्रभावकारी रूपमा परिचालन गर्ने क्षमता हाम्रो राजनीतिज्ञहरूले शीघ्र देखाउन जरुरी छ, अन्यथा देशको अवस्था अझ विकराल हुनेछ । जसबाट सर्वसाधारण जनता नै पीडित र प्रताडित बन्नेछन् । एक वर्गले अर्को वर्गलाई हिलो छ्यापेर समस्याको समाधानमा पुग्न सकिँदैन । देशको शासन सत्तामा रहनेहरू यसमा गम्भीर भएनन् भने पद्धतिको सुधार भने हुनेछैन । त्यसैले शुद्धीकरणको प्रारम्भ राजनीतिबाटै हुनुपर्छ र यस्तो उच्च मनोबल भएको राजनीतिले मात्र कर्मचारी संयन्त्रको आलोचना गर्ने हैसियत राख्छ भन्ने चर्चा प्रशासनलाई नजिकबाट अध्ययन गर्नेहरूका बीच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९