देश अब संघीय तथा प्रादेशिक निर्वाचनको माहोलमा होमिइसकेको छ । संघीय तथा प्रादेशिक तहका प्रतिनिधिहरू चयनका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । यस वर्षको संघीय तथा प्रादेशिक सभाका लागि आवधिक निर्वाचनको प्रक्रिया सुरु भएसँगै चुनावी माहोल तात्न थालेको छ ।
आगामी निर्वाचनमा कसले जित्ला ? आगामी सरकार कसको बन्ला ? भन्ने जिज्ञासाले ठाउँ लिइरहेको छ । राजनीतिक पार्टी तथा तिनका उम्मेदवार प्रतिस्पर्धाको मैदानमा उभिएका छन् । उनीहरू सबै जनताले गर्ने फैसलाका लागि आआप्mा दावा र प्रतिदावा गरिरहेका छन् । राजनीतिक शक्तिहरू र तिनका छानिएका उम्मेदवारहरू मतदाता रिझाउने, प्रभावित पार्ने र मत आप्mनो पक्षमा खसाल्ने अभियानमा जुटिरहेका छन् । अहिले देशमा सत्ता र शक्ति केही दिनका लागि भए पनि प्रत्यक्ष वा ‘डिफ्याक्टो’ रूपमा जनताको हातमा सरेको छ । राजनीतिक दल तथा तिनका उम्मेदवार मतदाताको कठघरामा उभिइसकेका छन् । जनताले आप्mनो हित गर्नेका लागि न्याय गर्न न्यायाधीशका भूमिका सम्हालिरहेका छन् ।
यहाँ पनि मतदानद्वारा गरिने न्यायमा केही न केही लिखित अभिलेख जरुरी देखिएको छ । त्यो हो, राजनीतिक दलहरूको प्रतिबद्धता वा घोषणापत्र ! तर अहिलेसम्म कुनै पनि दल तथा तिनका उम्मेदवारले न त प्रतिबद्धतापत्र जारी गरेका छन्, न त घोषणापत्र नै । जनताले पनि उति साह्रो घोषणापत्र वा प्रतिबद्धताको अपेक्षा गरेको जस्तो पनि देखिएको छैन । यसका पछाडि मूलतः राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताहरूले जनतालाई घोषणापत्रका नाममा गरिरहेको ठगी र जालझेलले निकै विरक्त बनाएको छ । जनता उधारो कुरा र गफमा विश्वास गर्न सकिरहेका छैनन् । किनकि, प्रतिबद्धता भनेको त वचन र अडान हो, जो व्यवहारमा कार्यान्वयन गरिन्छ । तर, राजनीतिक दलहरूले कहिल्यै पनि यस्तो प्रतिबद्धता पूरा गरेर जनताको विश्वास जित्ने प्रयत्न नै गरेनन् । बरु उल्टै आआप्mनो स्वार्थमा रमाउने काम गरे । त्यो विरासत अहिले पनि कायमै छ । त्योभन्दा पनि बढी त यसपाला त्यही ‘कागजी खोस्टो’ जनताका माझमा देखाइएन । नेता तथा कार्यकर्ताहरू जनताको घरदैलो चाहार्न थाल्दासम्म कसैको घोषणापत्रले जनताको घरदैलो देखेको छैन । राजनीतिक विश्लेषकहरूको भनाइमा यो पार्टीहरूको राजनीतिक टाटपल्टाइको व्यावहारिक अभिव्यक्ति हो ।
यसको विपरीत सामाजिक सञ्जालहरू पोस्टर बनाइएका छन् । नानाथरीका नारा, आश्वासन र कलात्मकता सञ्जालमा छरपस्ट पारिएका छन् । सामाजिक सञ्जाल घोषणापत्र बनेका छन् । वादविवादका थलो बनेका छन् । टिकाटिप्पणीका पाटी तथा परिपाटी बन्नपुगेका छन् । मनग्यै रङ्गिएका छन् । जुहारी पनि ननिकै चलिरहेको देखिन्छ । तर, आधिकारिक रूपमा पार्टीको आवाज, घोषणा तथा विचार लिएर एकरूपतामा कुनै पनि पार्टीका नेता, कार्यकर्ता तथा उम्मेदवार गाउँ छिरेका छैनन् । विचारको स्थान आत्मग्लानि, कुन्ठा र आक्रोशले लिएको छ । राजनीति त गालीगलौज र आरोप÷प्रत्यारोपको चलेको छ । तर, जनताले सपना देख्न छाडेका छैनन् । विचार, राजनीति र नयाँ भिजनको खोजी गरिरहेका छन् जनता ! जनताले महापरिवर्तनको इच्छा पालेको देखिँदैन । तर, सुधारका काम मनग्यै होऊन् भनेर अपेक्षा गरेको भने देखिन्छ । यो आवधिक निर्वाचनका समयमा पनि नेपाल र नेपाली जनताका लागि नियत र नियति दुवै जनमैत्री देखिएनन् । यो विडम्बनाले दुःखी तुल्याएको छ सबैलाई ! नेताहरूले अब भने इमान्दारिता देखाउनैपर्छ ।