काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबनि थालेको छ । राजधानी दैनिकले असई यादव हत्या प्रकरण छानबिनमा सशस्त्र प्रहरी बल गम्भीर नभएको तथ्यसहितको समाचार प्रकाशित गरेकै दिन सशस्त्र मुख्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा नायव महानिरीक्षक (डीआईजी) कुलबहादुर नेम्वाङ र छवि पाण्डे रहेका छन् । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराज दरबन्दी भई बीओपी छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक यादवको शव गत २० असोजको बिहान भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नग्न अवस्थामा भेटिएको थियो । उनको शव फेला परेको स्थान नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको छ ।
उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । उनको हत्यामा सहकर्मीकै संलग्नताको आशंका गर्दै सप्तरी प्रहरीले सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । हत्यामा प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले सशस्त्र प्रहरी जवान खत्रीलाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।
असई यादव हत्याको एक सातापछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खडकालाई प्रधान कार्यालय तानिसकेको छ । उनीसँग सशस्त्रका एआईजी गौतम नेतृत्वको छानबिन समितिले पनि वयान लिइसकेको छ ।
असई यादवको हत्या प्रकरणमा सशस्त्र प्रहरीको नम्बर २ बाहिनीका बाहिनीपति डीआईजी गणेश ठाडामगर पनि छानबिन समितिको सोधपुछको दायरामा आएका छन् । उनीसँग यादव हत्याको अनुसन्धानप्रति चासो नदिएको भन्दै छानबिन समितिले वयान लिने स्रोतको दाबी छ । घटनालगत्तै सशस्त्र प्रहरीको बाहिनीबाट अनुसन्धान गर्न टोली गए पनि खासै अनुसन्धान नगरी फर्केको स्रोतको दाबी छ । डीआईजी ठाडामगरमाथि लामो समयदेखि आफ्नो क्षेत्रमा तस्करी खुलाएको आरोप लाग्दै आएको छ ।
स्रोतका अनुसार छिन्नमस्ताको मोहनपुर नाकाबाट सुन, सुपाडी, स्याउ, मटर, मरिच र मदिराको व्यापक मात्रामा तस्करी हुँदै आएको छ । साथै, त्यस नाका आसपास वेश्यावृत्ति पनि अत्यधिक रूपमा हुँदै आएको छ । यो बेथिति रोक्ने काम बाहिनीपतिका हैसियतले डीआईजी ठाडामगरको हो । तर, तस्करी खुलाउनकै लागि छिन्नमस्तास्थित बीओपीमा आफूनिकट नायब निरीक्षक (सई)लाई कमान्ड दिएको भन्दै बाहिनीपति ठाडामगरको आलोचना हुँदै आएको छ ।

जिल्लाका अन्य बोर्डर आउटपोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कार्यरत रहेपनि ठाडामगरकै निर्देशनमा दुई महिनाअघि बरमझियास्थित शिक्षालयबाट मगर थरका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)लार्ई छिन्नमस्ता बीओपीमा खटाइएको थियो । उनी बीओपी प्रमुख भएर गएपछि तस्करीको लाइन सहजै खुला भएको स्रोतको दाबी छ । स्रोतका अनुसार मृतक असई यादव तस्करीसहितका सीमामा हुने अवैध गतिविधिको विपक्षमा थिए । तर, हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका सशस्त्र प्रहरी जवान खत्रीले भने माथिल्लो तहको अधिकारीको निर्देशनमा अवैध गतिवधि सञ्चालन गर्दै आएका थिए । स्रोतका अनुसार असई यादव १९ असोजमा युनिफर्ममै ड्युटीमा मोहनपुरतर्फ गएका थिए ।
सोही दिन प्रहरी जवान खत्रीले सपना नाम गरेकी युवतीलाई मण्डल थरका मदिरा तस्करको मोटरसाइकलमा राखी मोहनपुरमै खानपिन गर्ने भन्दै लगेका थिए । आफ्नै आँखाले देखेपछि असई यादवले जवान खत्रीको सात्तो लिनुका साथै एक लठ्ठी समेत हिर्काएका थिए । सो घटनाको भोलिपल्टै असई यादवको शव फेला परेको थियो । असई यादवको हत्या नेपाली भूमिमै भए पनि शव भने सीमा क्षेत्रबाट ३ किलोमिटर टाढा भेटिएको थियो । हत्यापछि उनले लगाएको युनिफर्म खोलेर नांगो बनाएर खोला किनारमा फालिएको थियो ।
भारतीय सुरक्षाकर्मीले आफ्नो भूमिमा शव फेला परेपछि अनुसन्धान अघि बढाइरहेका बेला स्थानीयले सो शव नेपालको सशस्त्र प्रहरीको भएको जानकारी दिएका थिए । त्यसपछि भारतीय सुरक्षाकर्मीले सशस्त्र प्रहरीलाई शव बुझाउन खोजेको थियो । तर, सशस्त्र प्रहरीले भने सुरुमा शव बुझ्न इन्कार गरेको थियो । स्थानीयको व्यापक दबाबपछि मात्र सशस्त्र प्रहरीले भेटिएको शव आफ्नै असई यादवको भएको स्वीकार गरेको थियो । घटना सार्वजनिक भएपछि सशस्त्रले असई यादव १८ गतेबाट तीन दिन बिदा गएको नाटक मञ्चन गरेको थियो ।
बाहिनीपति ठाडामगर र बारा गणपति थापाको आडमा घुमुवाको आतंक
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मातहतका कुनै पनि बाहिनीदेखि बीओपीसम्म घुमुवा नराख्ने नीति लिएको छ । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक भएपछि कतै पनि घुमुवा नराख्न कडा निर्देशन दिइएको थियो । तर सशस्त्र प्रहरीको नम्बर २ बाहिनीका बाहिनीपति डीआईजी गणेश ठाडामगरले आफ्नो बाहिनीअन्तर्गतको आठ ओटै जिल्लामा घुमुवा परिचालन गदै आएका छन् ।
सादा पोशाकमा खटिने घुमुवाले आ–आफ्ना कमाण्डरको स्वार्थअनुरुप काम गर्ने गर्छन् । कमाण्डरको स्वार्थ विशेषगरी आर्थिक पक्षसँग जोडिएको हुन्छ ।
स्रोतका अनुसार बाहिनीपति ठाडामगरले सुरुमा पथलैयास्थित प्रविाधिक शिक्षालयमा बसेर व्यापारी, तस्कर र आफ्ना घुमुवाहरुलाई भेट्थे । तर हल्ला बढी भएपछि पछिल्ला दिनमा उनले सिमराको इच्छा होटलमा बसेर तस्करीलाई बढावा दिने काम गर्दै आएका छन् । सो होटल पाँचतारे होटल हो ।
स्रोतका अनुसार अन्य जिल्लाको तुलनामा बारामा घुमुवाले दशैं तिहार भन्दै आर्थिक संकलन कार्यलाई तिब्रता दिएका छन् । डीआईजी ठाडामगरको आडमा नम्बर १२ गण बाराका गणपति राजेन्द्र थापाले संगठनको नीतिविपरीत सादा पोशाकमा घुमुवा खटाएर आर्थिक आतंक मचाएको व्यपारीहरुको गुनासो सुनिन थालिएको छ । उनले आफूले खटाएका घुमुवाहरुमार्फत् तस्कर र व्यापारीसँग महिनावारी रकम त लिएकै थिए, तर पछिल्ला दिनमा सामान सामातेर त्यसमा बार्गेनिङ पनि गर्दै आएका छन् ।

गणपति थापा कमान्ड कन्ट्रोलमा अत्यन्तै कमजोर मानिन्छन् । उनले परिचालन गरेका घुमुवाहरुले पछिल्ला दिनमा त महिनावारीका नाममा अग्रिमरुपमा रकम संकलन गर्न थालेको व्यापारीहरुको गुनासो रहेको छ । व्यापारीहरुका अनुसार, डीआईजी ठाडामगरले पछिल्ला दिनमा महिनावारीको शुल्क पनि तीन गुणासम्म बढाएका छन् ।
डीआईजी ठाडामगरले बाराको कोहल्बी नगरपालिका–९ को श्रीपुरमा जग्गा प्लटिङमा लगानीसमेत गरेका छन् ।
त्यसो त डीआईजी ठाडामगर र एसपी थापाका लागि व्यापारी र तस्करहरुसँग रकम उठाउने घुमुवाहरुलाई सशस्त्र मुख्यालयले मुख्यालय नतानेको पनि होइन, तर सत्ताको आडमा उनीहरु पूवर्वत् ठाउँमै फर्किसकेका छन् । यसबाट उनीहरुको मनोबल थप बढ्दै गएको छ ।