गुरू चेलाकाे प्रतिस्पर्धा


चुरे (मकवानपुर) । उम्मेदवारी दर्ता गराएसँगै व्यस्त दैनिकीमा छन्– मकवानपुरका विरोध खतिवडा र महेश बर्तौला । प्रतिनिधिसभातर्फ मकवानपुर निर्वाचन क्षेत्र २ मा उम्मेदवार रहेका उनीहरू आफ्नाे क्षेत्रमा आफुलाई ‘अब्बल’ दाबी गर्छन् । खतिवडा सत्ताधारी गठबन्धनको साझा र बर्तौला नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार हुन् ।

विरोधलाई कलम फाप्ला ?

विगतमा सूर्यको साथ राम्रैसँग फाकेको थियो, खतिवडालाई । अहिले, उनी सूर्यबाट टुक्रिएर कमलको साथमा छन् । अर्थात्, एमाले छाडेर एकीकृत समाजवादीमा आएका खतिवडा अब गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । उनी यो क्षेत्रका लागि पुराना नेता मानिन्छन् । विगतमा नेकपा एमालेबाटै पटकपटक चुनाव जितेका खतिवडा यसपटक भने एमालेकै प्रतिद्वन्द्वी बनेका छन् ।

खतिवडा यसपटक पनि निर्वाचित भए पाँचौंपटक सांसद बन्ने भाग्यमानी व्यक्ति हुनेछन् । २०७४ को निर्वाचनमा उनले कांग्रेस नेता महालक्ष्मी उपाध्याय डिनालाई ११ हजार ९ सय ६३ मतान्तरले हराउँदै जित हात पारेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ र पराजित डिनाले ३२ हजार ६ सय ८१ मत ल्याएका थिए । योसँगै उनी चौथोपटक सांसद बनेका थिए । उनी १८ वर्षपछि फेरि संसद्मा फर्किएर स्वास्थ्य तथा जनसंख्यामन्त्रीसम्म बने । खतिवडा २०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए । तर, हारे ।
त्यसपछि, खतिवडा २०४८ सालमा जनमुखी नेता रूपचन्द्र विष्टलाई पराजित गर्दै सांसद बने । २०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए । २०५१ सालको मध्यावधिमा पनि खतिवडाले डिनासँग प्रतिस्पर्धा गरेका थिए । तर, कांग्रेस सो चुनावमा तेस्रो भएको थियो ।

२०५६ को चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हिरण्यलाल श्रेष्ठलाई हराए । अब उनी यही क्षेत्रमा सूर्यबाट टुक्रिएर अर्थात् एमाले टुक्रेपछि एकीकृत समाजवादीबाट ‘कलम’ चिह्न लिएर मैदानमा छन् ।

विद्यार्थीका सारथी बर्तौला

बर्तौला मकवानपुरमा चर्चित विद्यार्थी नेता हुन् । नेकपा एमालेमात्रै हैन, अन्य दलसमेत उनको विद्यार्थी राजनीतिक नेतृत्वको प्रशंसा गर्छन् । जिल्लाको सबैभन्दा बढी विद्यार्थी आबद्ध मकवानपुर बहुखुमी क्याम्पसबाट बर्तौलाले यो संगठनबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरे ।
उनी २०७८ असोजदेखि सक्रिय विद्यार्थी राजनीतिबाट अलग्गिएका थिए । बर्तौलाकोे विद्यार्थी राजनीतिको आधार मकवनपुर नै भएकाले पनि उनको ख्याति राम्रो रहेको विद्यार्थी नेता सन्तोष पौडेल बताउँछन् ।

मकवानपुरका एक एमाले नेता बर्तौलाले संसदीय राजनीति अभ्यास गर्न पाएमा युवाहितमा काम गर्ने अपेक्षा गर्छन् । भीमफेदी गाउँपालिका भीमफेदी–९ नामटार घर भएका बर्तौलाले अनेरास्ववियु इलाका कमिटीबाट विद्यार्थी राजनीति थालेका थिए । उनी मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट दुई कार्यकाल स्ववियु सभापति निर्वाचित भए । हाल, उनी एमाले बाग्मती प्रदेश कमिटी उपमहासचिव छन् ।

कसलाई साथ, कसलाई हेला ?

बर्तौला र खतिवडाको सुरुवाती राजनीति नेकपा एमाले नै हो । विगतको सम्बन्ध हेर्ने हो भने उनीहरू गुरुचेला हुन् । कुनै समय नेता–कार्यकर्ताका रूपमा रहेका उनीहरू अब प्रतिस्पर्धी बनेका छन् ।

२०७४ को प्रतिनिधिसभा चुनावमा खतिवडालाई जिताउन बर्तौला अहोरात्र खटे । खतिवडाकै ‘स्कुलिङ’बाट विद्यार्थी राजनीति गर्दै बर्तौला अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्म भए । खतिवडालाई जिताउन बर्तौैलाले सिंगो विद्यार्थी संगठन परिचालन गरे ।

खतिवडा २०७४ मा चुनावमा होमिँदा बर्तौला प्रचारकको भूमिकामा थिए । त्यति बेला खतिवडा लेखा विभाग सदस्य तथा पूर्वसांसदको हैसियतमा थिए । धेरैपटक राजनीति तथा संगठनात्मक प्रशिक्षण बर्तौलालगायतलाई खतिवडाले प्रशिक्षण दिए ।

बर्तौला दुई कार्यकाल अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्षसमेत भए । उनको घर मकवानपुर निर्वाचन क्षेत्र २ नामटार हो । यो विरोध खतिवडाकै निर्वाचन क्षेत्रमा पर्छ । यसो हुनाले पनि बर्तौलालाई खतिवडाले खुबै माया गर्थे । उनीहरूबीच संगठनात्मक रूपमा पनि सहकार्य गहिरो थियो ।

नेकपा एमाले नगर कमिटी सचिव बोलबहादुर कार्कीका अनुसार बर्तौला र खतिवडा २०६२÷०६३ को जनआन्दोलनमा एकैपटक हिरासतमा थुनिएका थिए । एमाले मकवानपुर जिल्ला अधिवेशन ताका एउटा भेटमा खतिवडाले अनेरास्ववियु जिल्ला अध्यक्ष रहेका बर्तौला’bout भनेको कुरा उनलाई अहिले पनि याद छ ।

‘बर्तौलाको भाषण कला र नेतृत्व क्षमतामा प्रशंसा गर्ने खतिवडाका धेरै कुरा मलाई याद छन्,’ कार्की भन्छन् ‘विरोध दाइ पटकपटक भन्नुहुन्थ्यो, महेश भाइ एक दिन सांसद बन्छ, त्यति बेला मैले सघाउने दिन आउँछ, उनीमा यो क्षमता राम्रो छ । तर, आज सघाउने दिन हैन, मत खोस्ने दिन आयो ।’

गत स्थानीय तह निर्वाचनमा पनि एकीकृत समाजवादीले त्यस क्षेत्रको कुनै पनि पालिकामा आप्mनो नेतृत्वलाई जिताउन सकेको छैन । जसका कारण एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा थप समस्या हुने देखिन्छ ।

‘चारपटक निर्वाचन जितेर पनि खतिवडाले मकवानपुरका लागि उपलब्धिमूलक कुनै काम नगरेकाले यसपालि नयाँलाई रोज्ने’ बताउँछन्, मकवानपुरगढी–५ का भरत लामा । ‘महेशलाई चिनेर हैन, म चिन्दिन“ तर नयाँमा केही गर्ने जोस र केही योजना पक्कै हुन्छ, पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत बनिसकेका खतिवडाको चुनावी चर्चा गाउँमा खासै छैन,’ उनले भने ।

‘हार्न नजानेका बोल्ड नेता’का रूपमा पहिचान बनाएका खतिवडाले जति पनि चुनाव जिते सबै एमालेमै हुँदा जितेका हुन् । विगतमा चारवटा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाटै निर्वाचित भएका थिए, खतिवडा ।

जब पार्टी टुक्रियो, खतिवडा पहिलोपटक यही क्षेत्रमा चुनावी मैदानमा जाँदै छन् । आगामी निर्वाचनमा एकीकृत साजवादी पार्टीको कलम चिह्नबाट निर्वाचनमा होमिन लागेका तिनै खतिवडासँग स्थानीय युवा उम्मेदवार बर्तौला सधैं जित्दै आएको चिह्न सूर्यको साख जोगाउने कसरतमा छन् ।

पुरानो साख जोगाउन नयाँ व्यक्ति मैदानमा आएकाले पनि आपूmलाई चान्स हुने बर्तौला बताउँछन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर विजयी बनेका खतिवडाको आगामी निर्वाचनमा नेकपा एमालेसँगै प्रतिस्पर्धा हुने भएपछि उनको प्रतिस्पर्धी अघिल्लो निर्वाचनमा खुलेर भोट माग्दै हिँडेका युवा एमालेको सूर्य चिह्नको साख जोगाउने दौडधुपमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेनु दाहाललाई ११ हजार बढीको अग्रता