घनेन्द्र ओझाकाे ‘शुभेच्छा’मा चार पुस्ताको स्वर

काठमाडाैं । नेपाली गजल लेखन परम्पराले सवा सय वर्षको यात्रा पार गरिसकेको छ । युवाकवि मोतीराम भट्टले हिन्दी साहित्य परम्पराबाट नेपाली साहित्यमा भित्र्याएको गजलले यसबीचमा अनेक प्रयोगका आरोह-अवरोह पनि पार गरेको छ । विक्रमको २०६० को दशकयता भने नेपाली गजलले शास्त्रीयता र परिष्कारको बाटो समातेको छ ।

यसै क्रममा बीचमा हुँडलिएको र छिरलिएको नेपाली गजललाई परिष्कृत बनाउन अनाममण्डलीलगायतका संस्थाले सङ्गठित प्रयास गरेका पाइन्छ । त्यही क्रममा अनाममण्डलीका स्रष्टाहरूले गजलमा शास्त्रीयताको खोजी गर्न थालेपछि नेपाली गजललेखन र गायनमा व्यापकता आएको देखिन्छ ।

नेपाली गजलमा शास्त्रीयताको खोजी र परिष्कारकै क्रममा अनाममण्डलीका संस्थापक महासचिवसमेत रहेका घनेन्द्र ओझाले लेखेका बहरबद्ध गजलहरूको एल्बम ‘शुभेच्छा’ बजारमा ल्याएका छन् ।

‘शुभेच्छा’मा ५ वटा बहरबद्ध गजल समेटिएका छन् । नेपाली गजलमा विक्रमको २०६० को दशकदेखि बहरमा गजल लेखनले तीव्रता पाएसँगै सोही क्रममा लेखिएका गजलहरू यस एल्बममा समेटिएको ओझाले बताएका छन् । ‘जब हामीले अनाममण्डलीमार्फत गजलमा शास्त्रीयताको खोजी र बहरमा लेखन अभ्यास थाल्यौँ, त्यही क्रममा सिर्जना गरिएका गजलहरू यस एल्बममा समेटिएमा हुन्’, ओझाले भने ।

४ पुस्ताको स्वर एउटै एल्बममा

विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत रहेको एल्बममा नेपाली गायन क्षेत्रका ४ पुस्तालाई समेटिएको सङ्गीतकार श्रेष्ठको भनाइ छ । उनका अनुसार अघिल्लो पुस्ताबाट गायिका ज्ञानु राणा, त्यसपछि आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, सन्तोष श्रेष्ठ र निशा देशार तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीले एल्बममा स्वर दिएका छन् ।

समावेशी स्वरहरू

‘शुभेच्छा’ एल्बमलाई समावेशी बनाइएको पाइन्छ । पुस्ता (उमेर)का आधारमा मात्र नभएर लैङ्गिक हिसाबले पनि एल्बम समावेशी बनेको छ । यस एल्बममा ६ जनाले स्वर दिएका छन् । ६ जनामा महिला र पुरुषको आधा/आधा सङ्ख्या छ ।

बहरबद्ध गजलको पहिलो एल्बम

‘शुभेच्छा’ नेपाली गजल गायनका क्षेत्रमा एउटा ऐतिहासिक एल्बमका रूपमा आएको छ । यो बहरबद्ध गजलहरूको पहिलो एल्बम बन्न सफल भएको छ । उसो त घनेन्द्र ओझाले बहरबद्ध गजलहरूको पहिलो सङ्ग्रह ‘बल्झेर याद तिम्रो, २०६२’ पनि प्रकाशन गरिसकेका छन् भने पहिलो बहरबद्ध संयुक्त गजलकृति ‘बहरमाला, २०६३’ र दोस्रो ‘गजलमाला, २०६६’को सम्पादनसमेत गरिसकेका छन् ।

यस एल्बममा समावेश गजलहरू सोही गजलकृति ‘बल्झेर याद तिम्रो’बाट लिइएको सङ्गीतकार श्रेष्ठले बताए । उनले नेपाली गजल लेखनको सवा सय वर्षको इतिहासमा गजलको खास मान्यता अर्थात् बहरमा लेखिएका गजलहरूको एल्बम बजारमा नदेखिएकाले आफूले यो काम गर्न रुचि देखाएको बताए ।

‘नेपाली गजल लेखनमा अन्योल र विवादमा रहिरहेको पाएँ । यसबीच गजल गायनमा पनि दुविधाहरू देखिए । एउटा प्रयोगकै रूपमा भए पनि यो काम गरौँ भन्ने लागेर अघि बढियो’, श्रेष्ठले भने ।

शुभेच्छाभित्रका गजलहरूमा ‘परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ’ सन्तोष श्रेष्ठ र निशा देशारले, ”थिएँ शान्त व्यर्थै चलाएर भाग्यौ’ ज्ञानु राणाले, ‘उठाऊ लाजको घुम्टो, बढाऊ हात मायाको’ आनन्द कार्कीले, ‘झर्दै छ अश्रुधारा, सम्हाल भन्छु प्यारी’ शिव परियारले र ‘फेरि साथ मेरै माग्दै नआउनू’ अस्मिता अधिकारीले गाएका छन् ।

एल्बमका गजलहरू पूरै बहरमा लेखिएमा छन् । परिष्कृत बहरमा लेखिएका गजलहरूमा लयको पूर्ण पालना गरिएको छ । बहर स्वयंमा परिष्कृत लयसमेत भएकाले बहरबद्ध गजलहरूमा सङ्गीत गर्न निकै सहज हुने सङ्गीतकार श्रेष्ठको अनुभव । ‘तर, शास्त्रीय सङ्गीत निकट हुन्छ गजल । यस कारण गजलको शास्त्रीय गायनको पक्षलाई पनि ध्यान दिँदै बहरका नियमलाई भङ्ग नगरी सङ्गीत संयोजन गर्नु सामान्य काम पनि होइनरहेछ’, श्रेष्ठले अनुभव सुनाए ।

यसभित्रका ‘परे म मर्छु…’ बहरे हजज मुसम्मन मक्बुज (छन्द: पञ्चचामर)मा, ‘थिएँ शान्त व्यर्थै…’ बहरे मुतकारिब मुसम्मन सालिम (छन्द: भुजङ्गप्रयात्)मा, ‘उठाऊ लाजको घुम्टो…’ बहरे हजज मुसम्मन सालिम (छन्द: विधाता)मा, ‘झर्दै छ अश्रुधारा…’ बहरे मुजारे (छन्द: दिक्पाल)मा र ‘फेरि साथ मेरै…’ बहरे हजज अस्तरमा रचना गरिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९