हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा शुक्रबार बिहान एकजना युवकलाई गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बर्ष ३० को लालबहादुर मोक्तानलाई गोली प्रहार भएको हो । घाइते भएका मोक्तानलाई कसले गोली हान्यो थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
घटना भएपछि प्रहरी चौकी भार्ताबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा, ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहित सुरक्षा टोली परीचालन भई उक्त स्थान पुग्दा मोक्तानलाई छाती तथा हातमा चोट लागी घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मोक्तानलाई स्थानीयको सहयोगमा उपचारका लागि मनाङ एयरको हेलिकप्टर मार्फत् काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।
मोक्तानले घर खानतलासी गर्दा ओच्छानमा गोलीको खोका भेटिएको कार्कीले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।