निर्वाचनमा स्वतन्त्र र तटस्थ प्रशासनको खाँचो

मुलुक प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संघारमा छ । ४ मंसिरको तयारी तीव्र भएको छ । सबै राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । घरदैलो अभियान व्यापक पारिएको छ ।

विशेषगरी सत्तामा रहेर निर्वाचन लडिरहेका प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थहरूले पद र शक्तिको व्यापक दुरुपयोग गरेर निर्वाचनलाई आफ्नाे पक्षमा पार्ने प्रयास भरमग्दुर गर्न सक्छन् । सत्ता पक्ष होस् वा प्रतिपक्षी कसैले पनि अलोकतान्त्रिक तथा अपारदर्शी गतिविधि गरेर निर्वाचनलाई आप्mनो पक्षमा पार्न हुँदैन । सत्ताधारीहरूले सत्ताको दुरुपयोग गर्नसक्ने भएकाले यसमा निर्वाचन आयोग विशेष चनाखो हुन जरुरी छ । निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ पनि गरिरहेको छ तर पनि शक्तिमा रहेकाहरूले आचारसंहिता उल्लङ्घन गरिरहेका छन् । आयोगको आचारसंहितालाई बेवास्ता गरिरहेका छन् ।

एकातिर उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरिरहेका छन् भने अर्कोतिर सरकारमा रहेर निर्वाचन लडिरहेकाहरूले सरकारी साधन स्रोतको समेत व्यापक दुरुपयोग गरिरहेको विषय पनि सार्वजनिक भइरहेको छ ।

सत्तामा रहेका राजनीतिक नेतृत्वले चुनाव आफ्नाे पक्षमा पार्न सरकारी साधनस्रोतको व्यापक दुरुपयोग गर्ने प्रयास गरिरहँदा स्थायी सरकारका रूपमा रहेको प्रशासनिक संयन्त्रले त्यस्ता सबै खाले दुरुपयोग रोक्न सक्दो प्रयास गर्नुपर्छ । अहिले सरकार पूर्ण रूपमा काम चलाउ भइसकेको छ । काम चलाउ सरकारले नियमित प्रशासनिक काम मात्रै गर्नुपर्छ । अन्य दूरगामी असर पार्ने खालका कुनै पनि काम चुनावी सरकारले गर्नु हुँदैन ।

राजनीतिक दलप्रति जनतामा एक किसिमको निराशा छ । यद्यपि, राजनीतिक प्रणालीमा राजनीतिक दलहरू भनेका लाइफलाइन हुन् । जनताले दलहरूप्रति घृणा गर्नु हुँदैन । दलहरूबाट उठेका सबै व्यक्ति खराब छैनन् । त्यसैले, असल व्यक्ति हेरेर भोट दिन सकिन्छ । सबै दल असफल भए भन्ने खालको विश्लेषण गर्नु हुँदैन । व्यक्तिहरू खराब हुन सक्छन् तर राजनीतिक दल आफैंमा खराब हुँदैन । दलभित्रका असल व्यक्तिलाई छनोट गर्न सकिएमा राजनीतिक प्रणालीमा सुधार आउन सक्छ । कतिपय ठाउँमा स्वतन्त्र व्यक्ति पनि छन् । असल र भिजनरी खालका छन् भने स्वतन्त्रहरूलाई पनि भोट हाल्न सकिन्छ ।

यो निर्वाचनमा विधि, पद्धति र विचारले जित्नुपर्छ । पैसा, शक्ति र माफियाको प्रयोग गर्नेहरू जुनसुकै हालतमा पनि पराजित हुनुपर्छ । प्रशासनिक संयन्त्रले विचार, पद्धति र निष्ठाले जित्नेगरी आवश्यक वातावरण बनाउन सक्नुपर्छ ।

अहिले निर्वाचनको समय भएकाले निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष बनाउन प्रशासन संयन्त्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । देशभरका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउने महत्वपूर्ण भूमिका कर्मचारीतन्त्रकै काँधमा आएको छ । यस्तै, सिंहदरबारमा रहेका उच्च तहको प्रशासनिक निकाय यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीको एसम्यान बन्ने गल्ती गर्नु किमार्थ पनि हुँदैन । अहिले धेरैजसो मन्त्री चुनावमा उम्मेदवार बनेका छन् । मन्त्रीहरू प्रायः मन्त्रालयमा भेटिँदैनन् । उनीहरू जिल्ला र आप्mनै निर्वाचन क्षेत्रमा व्यस्त भइरहेका छन् । तर पनि, आप्mना कतिपय स्वार्थको काम गर्न उनीहरू बेलाबेलामा मन्त्रालय आउने गरेका छन् भने फोनमार्फत सचिव तथा सहसचिवलाई गलत काम गर्न र निर्वाचनलाई आफ्नाे पक्षमा पार्न आवश्यक माहोल बनाउन पनि दबाब दिइरहेका छन् । तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने प्रशासकहरूले मन्त्रीको रुचिअनुसार कुनै पनि काम गर्नु हुँदैन । निर्वाचनको समय भए पनि जनतालाई दिने सेवा सुविधा र अन्य नियमित विकासका काम भने रोक्नु हुँदैन । कर्मचारीतन्त्रले यो विषयलाई बढी ध्यान दिन जरुरी छ । किनकि, कर्मचारीतन्त्रलाई त्यसै स्थायी सरकार भनिएको होइन । राजनीतिक नेतृत्व त परिवर्तन भइरहन्छ । त्यसैले, स्थायी संयन्त्रका रूपमा रहने प्रशासनिक संयन्त्रले आप्mनो साख र प्रतिष्ठा उँचो राख्ने किसिमले काम गर्नुपर्छ । प्रशासनिक संयन्त्र नियम विधि र पद्धतिअनुसार चल्नुपर्छ । कसैको गैरकानुनी आदेश र निर्देशनमा चल्नु हुँदैन ।

प्रशासन संयन्त्रले मुलुकमा देखिएका जनताका समस्या समाधान गर्न विशेष पहल गर्नुपर्छ । चुनावका बेलामा विभिन्न खाले तस्करीका घटना बढ्न सक्छन् । त्यसैले, प्रशासन संयन्त्रले त्यस्ता तस्करीका घट्ना रोक्न पनि आवश्यक पहल गर्नै पर्छ ।

अहिले धेरै मन्त्रालयमा मन्त्रीहरू अनुपस्थित रहे पनि सचिव, सहसचिव तथा अन्य कर्मचारी रहेका छन् । यस्तो अवस्थामा निर्वाचन सम्पन्न गराउन सशक्त भूमिकाका साथै कर्मचारीहरूले राजनीतिक प्रणालीले आत्मसात् गरेका मूल्यमान्यता र असल राज्यले जनतालाई प्रदान गर्नुपर्ने सेवा सुविधा तथा लाभहरू जनतालाई प्रभावकारी रूपमा वितरण गर्नेगरी आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्छ । यद्यपि, अहिले निर्वाचनको माहोल भएकाले यस्ता कार्यमा केही कमी हुन सक्छ तर पनि कर्मचारीले गर्नुपर्ने सबै खाले काम तटस्थ र स्वतन्त्र भएर गर्नुपर्छ । निर्वाचनको समयमा विभिन्न खाले दबाब र प्रभाव पनि आउन सक्छन् । त्यस्ता दबाब र प्रभावबाट अलग रहन सक्नुपर्छ ।

नागरिकलाई सेवा दिन र राज्यका संयन्त्रलाई कामयावी बनाउन कर्मचारीको मुख्य नेताका रूपमा रहेका मुख्य सचिव र अन्य सचिवको ठूलो भूमिका रहन्छ । मन्त्री मन्त्रालयमा नहुँदा सचिवहरूले सुशासनको अनुभूत हुनेगरी काम गर्नुपर्छ । त्यसो गर्न सकिएमा मात्रै आम कर्मचारीप्रति विश्वास र भरोशा जाग्न पुग्छ । यतिखेर उच्च प्रशासकहरू हप्तामा एक दिन मन्त्रालय आउने मन्त्रीको भक्त बन्न जरुरी छैन । त्यसैले, बाहिर फिल्डबाट मन्त्री तथा उनीहरूका आसेपासेले कुनै काम लगाउँछन् भने त्यो मान्न जरुरी छैन । प्रशासनिक संयन्त्रले दिने सेवा प्रवाहमा राजनीतिलाई प्रवेश गराउनु हुँदैन । अहिले कतिपय कर्मचारीहरू पनि राजनीतिक रूपमा विभाजितजस्ता देखिन्छन् । कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकर्ताका रूपमा काम गर्नु हुँदैन ।

सत्ता पक्ष होस् वा प्रतिपक्षी कसैले पनि अलोकतान्त्रिक तथा अपारदर्शी गतिविधि गरेर निर्वाचनलाई आफ्नाे पक्षमा पार्न हुँदैन ।

अहिले निर्वाचनको सममा पनि राजनीतिक नेतृत्वमाथि चौतर्फी प्रश्न उठिरहेको छ । उनीहरू जनताको हितप्रति खासै समर्पित छैनन् भन्ने आमगुनासा यत्रतत्र सुनिन थालेका छन् । राजनीतिक दलका नेताहरू जनताको अपेक्षा र चाहना पूरा गर्न असफल भइरहेको अवस्थामा कर्मचारी संयन्त्रले जनताको चाहनाअनुसार आपूmहरूलाई परिचालित गर्नैपर्छ । यो कर्मचारी संयन्त्रको नियमित कर्तव्य पनि हो र अवसर पनि हो ।

लोकतन्त्रका कर्मचारीले सेवा मात्रै होइन, जनतासमक्ष लोकतन्त्र नै वितरण गर्नुपर्छ भन्ने सिद्धान्त छ । यतिखेर यो सिद्धान्तको खोजी जनताले गरिरहेका छन् । डेलिभरी इन डेमोक्रेसी भनिन्छ । त्यसैले यो डेलिभरी गर्ने प्रमुख निकाय भनेकै प्रशासनिक संयन्त्र हो । निर्वाचनको समयमा राजनीतिक नेता कार्यकर्ताहरू जसरी पनि निर्वाचन जितेर सत्ता हत्याउने धुनमा रहेका हुन्छन् । उनीहरूलाई जनताले भोग्नुपरेका तमाम समस्यासँग केही मतलब र चासो हुँदैन । यद्यपि, विभिन्न सपना भने देखाइरहेका हुन्छन् । यस्तो अवस्थामा जनताको सुख दुःखको साथीका रूपमा कर्मचारी संयन्त्रले काम गर्न सक्नुपर्छ । निर्वाचन आयोगमा रहेर आचारसंहिता कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्ने जिम्मेवारीमा पनि कर्मचारी संयन्त्र नै रहेका हुन्छन् । कर्मचारी संयन्त्रले आचारसंहिता उल्लङ्घन गर्नेमाथि कठोर कारबाही गराउन सक्नुपर्छ । यो निर्वाचनमा विधि, पद्धति र विचारले जित्नुपर्छ । पैसा, शक्ति र माफियाको प्रयोग गर्नेहरू जुनसुकै हालतमा पनि पराजित हुनुपर्छ । कर्मचारी संयन्त्रले विचार, पद्धति र निष्ठाले जित्नेगरी आवश्यक वातावरण बनाउन सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठको गुड्ने कार बनाएका युवाले बनाए पानी मिल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९