बालविवाहमुक्त समाजको आवश्यकता

हाम्रो समाजमा सानै उमेरमा विवाह गर्ने र बच्चाबच्ची जन्माउने समस्या अहिले पनि उत्तिकै छ । कतिपय ठाउँमा त ‘बिहेबारी, २० वर्ष पारी’ लेखिएको होर्डिङबोर्डमुनि सानो नानी काखमा लिएर हाम्रा छोरी र चेली उभिइरहेका हुन्छन् । उनीहरू उभिएको ठाउँ माथिको बोर्डमा के लेखिएको छ, त्यो हेर्न भ्याइरहेका हुँदैनन् । फलतः होर्डिङ बोर्डले उनीहरूलाई र उनीहरूको उपस्थितिले होर्डिङबोर्डलाई गिज्याइरहेको हुन्छ । यो हाम्रो समाजमा धेरै मेहनत गर्दा पनि न्यूनीकरण हुन नसकेको सामाजिक समस्या हो । यसरी किशोर–किशोरी अवस्थामा आमा र बावु बनेका हाम्रा सन्ततीले भविष्य कस्तो हुनेछ, के गर्ने हो भन्नेसम्म सोच र योजना बनाएका हुँदैनन् । परिवारमा उनीहरूले आफू खुसी विवाह गरेकाले छुट्याएर अलग अलग राखिदिने चासोसम्म पनि देखाएका हुँदैनन् । यसो गरिदिँदा आत्महत्यासम्मका घटना घटेको देखेपछि अभिभावक पनि पछि हटेको र नदेखेको जस्तो गरी बेवास्ता गरिरहेका देखिन्छन् । बालविवाहमा अन्मिएका किशोर–किशोरी सानै उमेरमा बाबाआमा बन्ने समस्याबाट टाढा रहन अत्यधिक गर्भपतन गर्ने पनि गरेको देखिन्छ ।

सानै उमेरमा आमा बन्दा किशोरी आमाको स्वास्थ्यमा असर पर्नुका साथै ज्यान पनि जोखिममा पर्ने समस्या हरदम रहन्छ नै । त्योभन्दा पनि बढी अहिले आएर लगातार गर्भपतनको समस्याले ज्यान जोखिममा परेको देखिन थालेको छ । कतिपयको त गर्भपतनले थोत्रो बनेको शरीरले धान्न नसक्ने गरी बच्चाबच्ची हुर्काइरहेको समस्यासमेत देखिएको छ । तर, समाजका अभिभावकका रूपमा रहेका स्थानीय, प्रादेशिक तथा संघीय सरकार र ती मातहतका निकाय भने आफ्नो इलाका सबैभन्दा पहिले बालविवाहमुक्त भएको देखाउने होडमा छन् । ठाउँ कुठाउँ बोर्ड र होर्डिङ बोर्डहरू झुन्ड्याइएमा छन् । भाषण र नाराहरू निकै चर्का चर्का रूपमा सार्वजनिक गरिएका छन् । तर, बालविवाहमुक्त त के, न्यूनीकरणका कुराहरू पनि व्यवहारमा संगतिपूर्ण रूपमा लागू हुन सकिरहेका छैनन् । कतिपय समाजमा कन्यादान, रहरको बिहे, बुहारी हेरेर मर्ने, नातिनातिनाको मुख देख्न पाए स्वर्ग पुगिने, बुहारी लिएर देखाउने आदिजस्ता गलत सोचका कारण बालविवाहले निरन्तरता पाएको छ । घरमा काम गर्ने मानिस नहुनु, सहाराविहीन हुनु र गरिबीका कारण सुख पाउन विवाह गर्नुले पनि यसमा बल दिने गरेको देखिन्छ ।

यी सबै कुरालाई मध्यनजर गर्दा केही आवश्यक कानुनी कदम चालिनु जरूरी देखिन्छ । बालविवाह रोक्नका लागि सबैभन्दा पहिले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र अनिवार्य गरिनु जरुरी हुन्छ । ताकि विद्यार्थीले किशोर अवस्था विद्यार्थी भएर बिताउन पाऊन् । दोस्रो कुरा, कक्षा १२ पास गरिसकेपछि बाबुआमाको पैत्रिक सम्पत्ति हस्तान्तरण हुने प्रावधान निर्माण गरिनुपर्छ । पैत्रिक सम्पत्ति पाएपछि मात्र विवाहका लागि योग्य हुने मान्यता प्रदान गरिनुपर्छ । तेस्रो कुरा, कक्षा १२ पास गरेका विद्यार्थीका लागि स्थानीय सरकारले स्वरोजगार वा रोगारका लागि नीति तथा कार्यक्रम ल्याई उनीहरूलाई रोजगारीको अवसर दिनुपर्छ । स्वरोजगार वा रोजगार पाएपछि मात्र विवाह गर्ने परिपाटीको विकास गरिनुपर्छ । यसले मात्र वास्तवमा बालविवाह रोक्न मद्दत गर्ने छ । यति काम नगरेमा हाम्रो समाज बालविवाहमुक्त हुन सक्ने देखिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति