गिडिदह हेरेनौं मात्रै, इतिहास रचेर फर्कियौं

जुम्ला । जुम्लाको इतिहासमा पहिलो पटक तातोपानी गाउँपालिका वडा नम्वर ४ ले उद्घोष गर्यो, जुम्लाको सबै भन्दा ठुलो ताल गिडि दह (ताल) प्रचारका लागी असोज ४ देखी ८ गते सम्म सम्मेलन गर्ने भनेर । जुम्लाका क्रियाशील संचारकर्मीलाई असोज ४ गते हाँकु गाउँमा बिहान ठिक १० बजे पुग्ने उर्दी थियो । मलाई एकातिर गिडि दह (ताल) पुग्ने हुटहुटि थियो भने, अर्कोतिर रुघाखोकीले दोस्ती बनाइसकेको थियो । सञ्चारकर्मी साथि बिच गिडि दह (ताल) जाने कि नजाने भन्ने छलफल चलिरहेको बेला मैले आफ्नो धारण पेस गरेको थिएँ, कि ‘यो यात्रा ऐतिहासिक र साहसिक हुन्छ ।’ भनेर । दोधारे मनस्थिति ले एक धार समात्न मुस्किल थियो नै । त्यसै कहाँ भनिएको होला ? र, ‘संसार जित्नेलाई वीर भनिन्छ, आफ्नो मन जित्नेलाई महावीर ।’ मैले साहस जुटाएँ, अनि गिडि दह (ताल) जसरी पनि पुग्ने अठोट गरेँ पनि । १४ वर्षको उमेरमा पानसय पाटन उक्लिसकेकोले मैले यात्रा कठिन नहुने अनुमान गरेँ । वाल्यकालमा कैद भएर मधुरो बन्दै गएको पानसय पाटनको तस्विर नविरकण गर्न ढिला भइसकेको थियो । सुर्कि गाउँको कालिकाथान बाट देखिने गिडि दहको नजिक गएर रमाउने इच्छाले उत्सुक बनायो ।

केहि ढिलो गरि गिडि दह (ताल) जाने टिम साढे ११ बजे हाँकु गाउँमा जम्मा भयो । यद्यपि पालिकाका कर्मचारी र जनप्रतिनिधि विहानै पाटन तर्फ हिँडिसकेको खबर पाएँ । सयपत्रिको माला र अबिर बोकेका हाँकु गाउँका स्थानीयले सुखद् यात्राको कामना गरिरहेका थिए । उनिहरुको मानवियताले हामीलाई हौसला प्रदान गरिरहेको थियो । हामी गिडि दह (ताल) पहिलो पटक जाँदै थियौं, यद्यपि पानसय पाटन पुगेकाहरु थुप्रै थिए । हामी सँग त्यस्ता यात्री पनि थिए, जो जडिबुटी संकलनका लागी पटक पटक पाटन उक्लेका थिए । जीविका का लागी मृत्युलाई चुनौती दिदै जडिबुटि संकलनमा पाटन उक्लनु यहाँका निम्न आय भएका नागरिकको बाध्यता पनि हो । हामी लस्करै लाग्यौं, पाट तर्फ । हाम्रो पहिलो दिनको गन्तव्य थियो, फुल्चौंल्या पाटन । गिडिखोला गाउँको सिरानबाट पाटन उक्लदै गर्दा टिम भित्र ६० कटेका जेष्ठ पत्रकार कर्ण भण्डारी र ९० किलो तौलका युवा पत्रकार मानदत्त रावल पनि साथमा थिए । यात्रामा उचाई बढ्दै जाँदा मलाई पनि ज्वरोले सताइरहेको थियो, तर हाम्रो टिम यो कुरामा पनि सचेत थियो, अक्सिजन घट्दै गएको अप्ठ्यारो बाटोमा हरेस खानु भनेको मृत्युलाई निमन्त्रणा दिनु जस्तै हो । जँगलको मध्य भागमा पुग्दा थकाईले आकुलव्याकुल भइसकेका थियौं । मैले पुलुक्क जेष्ठ पत्रकार कर्ण भण्डारी तर्फ हेरेँ । शरिरमा थकान भएपनि अनुहारमा हरेस थिएन । ‘आफ्नो रिटाएर लाइफ समेत गिडिदहको उज्जव भविष्य निर्माणका लागि खर्चेको देख्दा हामीलाई उर्जा दिइरहेको थियो ।’

जव कोणधारी जँगल पार गर्दै जाँदा भोजपत्र र चिमलोका रुखहरु भेटिन थाले हामी पहिलो दिनको गन्तव्य नजिक पुगेको आभास हुन थाल्यो । पाटन बाट घोडिका बथान लिएर पर्केका स्थानीयलाई फुल्चौंल्या को दुरि सोध्दा १५ मिनेट हिँडे पुगिने खबर पायौं । तर गोठालाहरुको सुचना सहि रहेनछ । यात्रा समुह–समुहमा थियो । हामी अघि हिँडेको टोलीले फाटन बाट फर्केका स्थानीयलाई जानजान झुट बोल्न लगाएको पछि पत्ता लाग्यो । घोडि पालक किसानले दिएको झुटो सुचनाले हामीलाई मनोवैज्ञानिक ढंगले यात्रा गर्न सहज पारिदिएको थियो, साथीहरु भन्दै थिए,‘अव १५ मिनेट मात्रै हिड्नु पर्छ रे चिन्ता नलिऔं ।’ तर हामी घोडा पालक किसानलाई भेटेको डेढ घण्टा पछि मात्रै गन्तव्य (फुल्चौंल्या पाटन) पुग्यौं ।

पाटन नहिँडेले हरेस नखाउन भनेर झुटो सुचना दिइएको रहेछ । ‘कहिले काँहि झुट बोलेर सहि काम गर्नु पर्छ, पाटनमा अप्ठेरो छ, मुस्किल छ र निकै टाढा छ भन्ने गरियो भने यात्री हतोत्साहित हुन्छन्, कैंयौंले हरेस खाएर पाटनमा ज्यान गुमाएका दृष्टान्त पनि छन् ।’ पाटनमा भेटिएका भेडि गोठाला लाल बहादुर रावतले भने । बाटोमा कतै पनि पानी भेटिएन, तर ३ हजा ७ सयम मिटरको उचाइमा रहेको छकल्या पानी भन्ने ठाउँमा भने पानीको मुहान रहेछ । घर बाट हिँडेर विहानको खाना खाने समयमा पुगिने हुँदा छकल्या (विहान) नाम रहन गएको स्थानीयको भनाई छ ।

पाका उमेरका यात्रीहरुलाई तुलनात्मक रुपमा युवा भन्दा अलि बढि नै चुनौति थियो । ‘पाटन भेटिए पछि एकातिर अक्सिजन घट्दै जान्छ, अर्कोतिर विषका बोटले दम बढाउन्छ ।’ कलाकार तथा बुद्धिजीवि खडानन्द चौंलागाईले सुनाए । बेलुका ७ बजे हामीले फुल्चौंल्यामा पाइला टेक्यौं । झण्डै ७५ जनाको भिडलाई व्यवस्थित गर्न र खाने बस्ने प्रवन्ध मिलाउन गिडिखोलाका स्थानीय तैनाथ थिए । सबैलाई चिसोले सताएको थियो, चिसो ज्यानले आगो खोजिरहेको थियो । भिजेका दाउरा बल्न निकै समय लाग्यो । ज्यान निकै थाकेकाले खाना नखाएरै सुत्ने कि भन्ने साथिहरु थिए, तर व्यवश्थापनमा खटिएका गिडिखोलाका दाजुभाई युद्धस्तरमा जुटे । १० नबज्दै खाना ख्वाउन व्यवश्थापकिय टिम सफल भयो । खाना खाइसके पछि आगोको मज्जा लिदै गफिन थाल्यौं । पत्रकारद्धय कर्ण भण्डारी, नेत्र शाही, महेश नेपाली, मानदत्त रावल, दिलमाया शाही, सागर परियार, दिपक बुढ्थापा, सुदिप रावत लगाएतका साथिहरुले मलाई भैरे क्यारेक्टर मा ठट्टा गर्न हौसाए । त्यो साँझ निकै रमाइलो भयो ।


दोस्रो दिनको यात्रा थियो, ‘फुलचौंल्या देखी गिडिदह सम्म’ । रुघाले मेरो शक्ति क्रमश क्षयिकरण भइरहेको थियो । विहान पख कपाल बेसी दुख्न थालेपछि तातोपानी गाउँपािलकाका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौंलागाईले औषधिको प्रवन्ध मिलाए । टोली लाग्यो, गिडिदह तर्फ । टिम भित्र एउटा कथन थियो,‘मरे इतिहास बन्ने छौं, बाँचे इतिहास रच्ने छौं ।’ भेरिखोलाको सिरानमा पर्ने पानसय पाटन छिचोल्न थालियो । सुर्की गाउँको कालिकाथान, सानीको उकालो ओरालो, लामाचौर हुँदै डुण्नमा काँधमा पुगियो । असोज लागि सकेकाले वर्षायाममा उर्लेर बग्ने पाटनका खोलाहरु तेल सकिन लागेका बत्ति जस्तो मधुरो गतिमा बगिरहेका थिए । ओरालो झरे पछि गिडिदह को सानो अंश आँखामा ठोकियो । कठिन यात्राका दृष्य विर्सदै गिडिदहको पानी स्पर्श गर्ने तथा नजिकै बाट पुरै ताल हेर्न सबै जना लालायित देखिन्थे । तातोपानीका उपाध्यक्षसिमा रावलले खान दिएको भाएमेलोले यात्रा अझ सहज बनायो ।

दम नलागोस् भनेर पाटन क्षेत्रमा भाएमेलो खाने गरिन्छ । यो जुम्ला पाइने औषधीय गुण भएको विरुवा हो । बिस्तारै हामी ओरालो लाग्यौं । बेलुका ५ बजेतिर गिडिदह नजिक पुग्यौं । गिडि दह (ताल) तिन खण्डमा बाँडिएको छ । दुई ताल अस्तित्वमा छन्, एक खण्ड बाढीले पुरिएको छ । गिडि दहबाट निस्कने नदि माथि पुल थिएन । व्यवश्थापनमा जुटेका युवाले रुख काटेर तत्काल काठको साँघु तयार गरे । यद्यपि साँघु माथि यात्रा गर्दा सबैले एक पटक यमराज सम्झेको हुनु पर्छ । नदि सँगै टाँसिएको रुखमा डोरी समातेर तर्दा सानो गल्तिले पनि ज्यान जान सक्थ्यो । बेलुका अबेर ताल छेउको धर्मशालामा पुग्यौं । जीर्ण धर्मशालाले ‘कुखुराले प्वाँख भित्र चल्ला लुकाएझैं’ धर्मशालाले हामीलाई लुकायो । खाना खानुअघि फुर्सदिला बनेका साथीहरु आगोको वरिपरि झुम्मिएर कथा, कहानी सुनाउन थाले । मैले टिकटकमा (भैरे) क्यारेक्टरमा भिडियो बनाउने गरेको छु, त्यहाँ सबैले भैरे नामले सम्बोधन गरिरहेका थिए । भनिन्छ, ‘जुन चिज प्रयोगमा हुदैन, त्यो लोप भएर जान्छ ।’ सबैले भैरे भनेको देख्दा मेरो बास्तविक नाम लोप हुने हो कि भन्ने महसुस पनि भयो । घना जँगलको बिचमा जमघट गरेर भूत, देवता र विरता सँग जोडिएका कथा बाचन गर्नु, सपना जस्तो पनि लागिरहेको थियो । रातभर स्थानीयले देउडा गाए । देउडा मार्फत पत्रकारलाई गिडिदह को प्रचार प्रसारका लागी अनुनय विनय गरिरहेका थिए, स्थानीयले । रेडियो खुला आकाशको खुबै चर्चा गरिरहेका थिए ।

तेस्रो दिन जब, सुर्य उदाएर गिडिदह छर्लङ्ग देखियो, मन मग्नमुग्ध भयो । पुर्व जोगिनि दह बाट उदाएको सुर्यको किरण गिडिदहमा ठोक्किएर धर्मशाला तर्फ परावर्तन हुँदा तालको स्वरुप निकै चम्किलो देखियो । त्यसो त दिनमा सात पटक तालले रुप बदल्ने गरेको हामिले नसुनेको पनि होइन । कुनै भूगोलमा टक्क उभिएर चारै दिशाका दृश्य नियाल्नुहोस्, त कति धेरै कुरा नियाल्न सकिन्छ । मेरो आँखामा पनि त्यहाँको पर्यावरण, तालको आकृषक दृश्य कैद हुन पुग्यो । वरिपरि घना जँगल, बिचमा आकाशे रंगका दुइ विशाल ताल, वन्यजन्तु र चराहरुको चिरविर आवाज र प्रकृतिले निशुल्क उपलब्ध गराएको पाटनको दृश्य हेरेर म निकै रोमाञ्चित भएको थिएँ । ‘प्रकृति भन्दा सुन्दर चिज अरु केहि छैन ।’ यो भनाईले सार्थकता पाएको अनुभूति भयो ।

जुम्लाको इतिहासमा गिडिदहमा पहिलो पटक सरकारी टोली पुगेको थियो । जुम्लाकै ठुलो तर गुमनाम तालमा पहिलो पटक तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाई, उपाध्यक्ष, सिमा रावल, तातोपानी ३ का वडा अध्यक्ष गोकर्ण चौंलागाई, वडा नम्वर ४ का अध्यक्ष अमर रोकाया, वडा नम्वर ६ का वडा अध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापा लगाएत कर्मचारी टिम, पत्रकार र स्थानीय गिडिदह सम्मेलनमा पुगेका थिए । असोज ६ गते विहान गिडिदह सम्मेलन सम्पन्न भएको हो ।

समुन्द्र सहतबाट ३ हजार ४ सय मिटरको उचाईमा अवस्थित गिडिदहको लम्बाई, चौडाई र गहिराई नाप्न भने सकिएको छैन । ‘ताल विशेषज्ञ झिकाएर गिडिदह पुर्याउने लक्ष्य पुरा हुन सकेन, निकट भविष्यमा ताल मापनको लागि चाँडै पहल गरिने छ ।’ वडा अध्यक्ष अमर रोकायाले जानकारि दिए । तातोपानी गाउँपािलकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले गिडिदह सम्मेलन मा १४ बुँदे घोषणा पत्र वाचन गर्दै गिडिदहको पर्यटन विकासका लागि डिपिआर बनाई पर्यटक पुर्याउने लक्ष्य राखिएको बताए । गिडिदह सम्मेलनले तिन वटा किर्तिमान कायम गर्यो । पहिलो, ‘गिडि ताल गएपछि भूतप्रेतले ज्यान लिने परम्परागत अन्धविश्वास तोड्यो ।’ दोस्रो, ‘६० कटेका जेष्ठ नागरिक र ९० किलो तौल भएका जुम्ली हाई अल्टिच्युटको गिडिदह पुगे,जुन सामान्य कुरा थिएन ।’ र तेस्रो अहिले सम्म गिडिदह प्रचार प्रसारका लागि कुनै पनि निकायले तालमा पुगेर औपचारि फोटो तथा भिडियो लिने र कार्यक्रम गर्न सकेको थिएन, त्यो तातोपानी ४ ले सम्भव बनायो । हामीले गिडिदह हेरेनौं मात्रै इतिहास रचेर फर्कियौं ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९