कैलाली ३ मा दुई पूर्वसहकर्मीलाई उन्मुक्तिको चुनौती

Rajdhani Rastriya Dainik | Online Nepali News Portal


टीकापुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा दुई पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तागठबन्धनका कृष्णकुमार चौधरी र एमालेका गौरीशंकर चौधरीबीच कडा प्रतिस्पर्धा हुने आँकलन देखिएको छ । यो क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्तिका उम्मेदवारले चुनौती दिइरहेका छन् । उक्त पार्टीबाट गंगा चौधरी उम्मेदवार छन् ।

ती दुबैजना तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धका क्रमका सहयात्री हुन् । तत्कालिन अवस्थामा कृष्ण चौधरी ‘कुन्दन’ पार्टीको सांगठनिक र गौरीशंकर चौधरी सैन्य मोर्चामा थिए । माओवादी शान्ति प्रकृयामा आएपछि कुन्दन कैलालीको तत्कालीन क्षेत्र नम्बर ४ बाट २०६४ संविधान सभा सदस्यको उम्मेदवार बनेका बेला उनलाई चुनाव जिताउन अग्र मोर्चामा खटिनेमध्येका गौरीशंकर एक हुन् । कुनैबेला एउटै पार्टीका सहकर्मी उनीहरु यतिबेला फरक पार्टीबाट प्रतिस्पर्धी बनेका छन् ।

कैलाली क्षेत्र नम्बर ३ मा कुनैबेला एउटै पार्टीमा रहेर सहकर्मीका रुपमा काम गरेका यी दुई नेताबीच प्रतिस्पर्धा रोचक हुनेछ । नेकपा खारेज भएपछि गौरीशंकर माओवादी छोडेर एमालेतिर लागे भने संविधान जारी भएपछि बावुराम भट्टराइसँगै माओवादी छोडेका कुन्दन केही महिनाअघिमात्रै माओवादी केन्द्रमा फर्केका व्यक्ति हुन् । दुवै जना आआफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् ।

गौरीशंकर २०७० र २०७४ को चुनावमा माओवादीबाट यहीँ क्षेत्रबाट संघमा विजयी भए । उनले २०७४ मा वामगठबन्धनको सहारमा पूर्वमन्त्री एवम् काँग्रेस नेता रामजनम चौधरीलाई पराजित गरेका थिए । आफू विगतमा मन्त्री र सांसद हुँदा निर्वाचन क्षेत्रमा गरेका कामले जनताले आफूलाई विजयी गराउने चौधरीकोे विश्वास छ । उनी केपी ओली प्रधानमन्त्री हुँदा कृषिमन्त्री थिए ।

क्षेत्र नम्बर ३ द्वन्द्वकालदेखिनै माओवादीको बलियो प्रभाव रहँदै आएको क्षेत्र हो । २०६४ यताका हरेक चुनावमा यो क्षेत्रबाट माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ३ अन्तर्गत भजनी नगरपालिका र कैलारी गाउँपालिका प्रमुखसहित अधिकांश वडा माओवादीले जितेको थियो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने यहाँ माओवादीले अपेक्षित परिणाम ल्याउन सकेन ।

२०६४ को संविधान सभा निर्वाचनमा यहीँ क्षेत्रबाट निर्वाचित भएका कृष्णकुमार चौधरी कुन्दनलाई यसपालि माओवादीको विरासत फर्काउने चुनौती छ । माओवादीको आफ्नै बलियो प्रभाव हुनु र गठबन्धनसमेतको सहारामा उनको जीत सहज देखिन्छ । स्थानीय तहको चुनावको तथ्यांक हेर्ने हो यो क्षेत्रका २६ मध्ये २० वटा वडामा गठबन्धनले जितेको छ ।

प्रदेश सभातर्फ एक क्षेत्रमा माओवादी र दुईमा काँग्रेसले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा काँग्रेसबाट दुई जनाको बागी उम्मेदवारी छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा काँग्रेसले १९ हजार ९९२, माओवादीले ११ हजार ७१६ र एमालेले ११ हजार २३९ मत पाएका थिए । त्यस्तै राप्रपाले छ हजार ६९९, नागरिक उन्मुक्तिले पाँच हजार २४७ र एकीकृत समाजवादीले दुई हजार ३८ मत पाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी