काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीलाई लामो समयपछि यसपटक तिहारमा दर्शकले नयाँ चलचित्र के घर के डरामा सँगै देख्न पाए । दयाहाङ र विपिनको सँयुक्त अभिनय रहेको के घर के डेराले यी दुई कलाकारका कारण पनि राम्रो व्यापार गरेको छ ।
यि दुई अभिनेतालाई फेरी सँगै अर्को चलचित्रमा आगामी ५ कात्तिकमा देख्न पाइने भएको छ । चलचित्र कबड्डीको चार वटा सफल शृंखला निर्देशन गरेका रामबाबु गुरुङले दयाहाङ र विपिनलाई फेरी एउटै चलचित्रमा उतारेका छन् । उनले आफनो निर्देशनमा बनिरहेको चलचित्र फूलबारीमा फेरी उतारेका छन् ।
यो चलचित्र आगामी ५ फागुनबाट रिलिज गर्ने मिति घोषणासँगै यसको फस्ट लुक्सको रुपमा आईतबार पोष्टर पनि सार्वजनिक गरिएको छ । यो फिल्मका निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर सिनेमाको फस्ट लुक्स आईतबार सार्वजनिक गरिएको हो ।
सिनेमाको आईतबार सार्वजनिक फस्ट लुक्समा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई समेटिएको छ । फस्ट लुक्सले यो सामाजिक चलचित्र भएको अथ्र्याउँछ । यो चलचित्रको अरु कलाकारमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायत रहेको निर्देशक रामबाबुले जनाएका छन् ।
उनका अनुसार अभिभावक र सन्तान बीचको सम्बन्धको कथा यो चलचित्रमा प्रस्तुत गरिँदै छ । सिनेमाले नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा प्रस्तुत गर्ने पनि उनले बताएका छन् ।
यो चलचित्रमा उपेन्द्र सुब्बाको पटकथामा, जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्र फुलवारीमा मनिष ढकाल निर्माताको रुपमा छन् ।