सर्लाही । अकाउन्टविलिटी ल्याब नेपालले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाललाई सम्मान गर्ने भएको छ । अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उदेश्यले इन्टेग्रिटी आइकन मार्फत सम्मान गर्ने गरेको जनाएको छ ।
यस वर्ष पनि इन्टेग्रिटी आइकन २०२२ मार्फत सार्वजनिक संयन्त्र भित्रका पाँच जना कर्मचारीहरु सम्मानित हुने भएका छन् । रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ मुडवलवा बस्ने हाल जिल्ला प्रहरी कार्याय सर्लाहीमा कार्यरत राजेश साह जयसवाल सम्मानित हुने भएका छन् । उनी ६ वर्ष देखि जिल्ला प्रहरी कार्यालय, सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल, सर्लाहीमा कार्यरत छन् ।
कसरी छानिए जयसवाल
राजेशले सानै हुँदा आमा गुमाए । उनका बुबाले दुख गरेर उनी र उनका दाईलाई हुर्काए । उनले बुबाको दुख पनि देखे र आफुले पनि दुःख भोगे । द्वन्दकालमा एकातिर सुरक्षाकर्मी र माओबादी बिचको द्वन्दको त्रास हुन्थ्यो भने, अर्को तर्फ तराईमा सीमा पारिबाट आउने लुटेराहरुले दुःख दिने गर्दथे । युवाहरू रातभरी चोकचोकमा अनिँदो बस्ति कुरेर बस्दथे । त्यही समयमा प्रहरी आउँदा उनीहरूमा क्षणिक भए पनि आशा र भरोसा पलाएर आउंथ्यो । त्यो घटनाले पनि उनलाई प्रहरी सेवामा आउन प्रेरित ग-यो ।
उनको जिम्मेवारी भनेको अस्पतालमा आएका केसहरूको विवरण राख्ने र सम्बन्धित निकाएमा खबर गर्ने हो । तर, उनी भने तोकिएको जिम्मेवारीसँगै मानवीयतालाई पनि महत्व दिने गर्दछन । कोहि असहाय व्यक्ति सेवा लिन आयो भने उसलाई सहयोग गर्नु आफ्नो दायित्व ठान्दछन । कोभिडको सुरुवाती अवस्थामा कर्मचारीहरू बिरामी नजिक जान डराउँथे । शुरुमा पञ्जा, मास्क, पी.पी.ई. सबै सामाग्रीको अभाव थियो । राष्ट्रसेवक नै पछाडी हट्यो भने जनता पनि डराउँछन् भनेर उनी अगाडी सर्दथे । चिकित्सक पनि पछी हटेको अवस्था थियो । उनी आफै बिरामीको नजिक गएर समस्या बुझ्दथे । कसैको मृत्यु भयो भने पोष्टमार्टम गर्ने ठाउँमा शव लैजान उनले नै सहयोग गरिदिन्थे ।
अस्पतालमा पोस्टमार्टम गर्ने व्यवस्थित स्थल थिएन । एउटा मात्र कोठा थियो र त्यहाँ फ्रिज पनि थिएन । बेवारिसे लास आयो भने त कति दिन सम्म राखिन्थ्यो र निकै गन्हाएर सहिनसक्नु हुन्थ्यो । बेला बेलामा उनले नै मट्टीतेल छर्केर गन्ध हटाउने गर्दथे ।
‘म पीडामा परेका मान्छेलाई देख्न सक्दिनँ । आत्मसन्तुष्टि र मानवताका नाताले गर्न सक्ने सेवा सहयोग गर्छु ।’ उनले भने ‘हरेक नागरिकले मानव हुनुको उत्तरदायित्व र जिम्मेवारी निभाउनुपर्छ ।’ यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरबाट प्राप्त भएका ४१० जनामध्येबाट निर्णायक समितिले राजेशसहित पाँच जनालाई छनोट गरेको हो ।
आइकनको निर्णयक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा प्रशासनविद् काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्रा. डा. सुचेता प्याकुरेल थिए ।
अकाउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले नेपाली आइकनको मुख्य उद्देश्य सरकारी सेवाप्रति सर्वसाधारणको वितृष्णा कम गरी राम्रो काम गर्ने, जिम्मेवार र जवाफदेही कर्मचारीको कामलाई बाहिर ल्याउनु रहेको बताए । सन् २०१४ बाट इन्टेग्रिटी आइकन नेपाल सुरु भएको हो । अहिले आइकन पाकिस्तान, श्रीलंका, लाइबेरिया, माली, मेक्सिको, दक्षिण अफ्रिका, जिम्बावे, नाइजेरिया, मेक्सिको लगायत १५ देशमा विस्तार भइसकेको छ । इन्टेग्रिटी आइकन नेपालमा छनोट भएकालाई ल्याबले मंसिर २४ गते काठमाडौंमा सम्मान गर्ने भएको छ ।