निर्वाचनभित्रको अर्को निर्वाचन

अहिलेको प्रतिनिधि तथा प्रादेशिक सभाका लागि हुन गइरहेको निर्वाचन बाहिरबाट झट्ट हेर्दा दुई तहको निर्वाचनजस्तो दखिए पनि यसको अन्तर्यमा अर्को महानिर्वाचन नारिएर आएको छ । त्यो हो– देशका अभिभावकका रूपमा रहने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन । यसले राजनीतिक दलहरूलाई बढी अत्याउने गरिरहेको छ ।

देशभरका आममतदाता कसलाई भोट दिने भनी गम खाइरहेका बेला राजनीतिक पार्टीहरू कसलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउने भनेर गम्भीर तर प्रतिस्पर्धात्मक छलफलमा जुटिरहेका छन् । तर, यसको निर्धारण भने ४ मंसिरमा हुने निर्वाचनको परिणामले गर्नेछ । त्यसैले, दलहरूले जोड घटाउ थाले पनि यसका लागि परिणाम नै कुर्नुपर्ने हुन्छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल केही हप्ताभित्र सकिँदै छ । राजनीतिक प्रणालीअनुसार बहुमत प्राप्त दलले सरकार निर्माण गर्ने तथा राष्ट्रपति र उपराष्ट्रपतिको चयन पनि गर्ने प्रावधान रहे पनि कुनचाहिँ गठबन्धनले बाजी मार्ला यसै भन्न सक्ने अवस्था छैन । जनमत र यसका प्रक्रियाका हिसाबले नेताहरू चोचोमोचो मिलाएर टुंगो लगाउन सक्ने अवस्थामा पनि छैनन् ।

मंसिर ४ पछि प्राप्त हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामले मात्र दलका नेताहरूका लागि टुंगोमा पुग्न सक्नेगरी राष्ट्रपति र उपराष्ट्रपतिको चयन’bout छलफलका चौतारी खुल्ला गर्नेछ । चर्चा, हल्ला र तुफान अहिले चियादानीभित्र रहेको भए पनि समयक्रमसँगै यसले बाह्य वातावरणलाई प्रभावित पार्ने देखिन्छ । किनकि, यो सिंगो देशको अभिभावक चयनको प्रक्रिया हो । साथै, राजनीतिक दलका लागि र अझ त्यसमा पनि सरकार निर्माण गर्नेका लागि त यो अन्तिम र निर्णायक द्वार खुला गर्ने सोच र प्रक्रिया पनि हो । अब बन्ने संसद्ले निर्माण गरेका विधेयकमा लालमोहर लगाएर सरकारको आयु लम्ब्याउने र जीवन प्रदान गर्ने सर्वोच्च तथा निर्णायक ठाउँ पनि हो । त्यसैले पनि, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि अगेनुभित्रको आगोझैं दनकन सुरु गरिसकेको छ । जनतामा पनि यसका ’boutमा चिन्ता र चासो व्यक्त हुन थालिसकेको छ । भित्री रूपमा पर्ने गाँठो त यो पनि रहनेछ कि, अहिले स्वतन्त्र उम्मेदवारहरूको दबदबा पनि कम छैन । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गर्ने हो भने पार्टीको समानुपातिक मत प्रभावित हुने देखिन्छ । यसले देशका अभिभावकका रूपमा रहेका राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा पनि दख्खल पु-याउनेछ ।

एकातिर नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ । अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, राप्रपा नेपालको तालमेल छ । निर्वाचन परिणाम यसै आउला भन्न सकिँदैन । स्थानीय निर्वाचनमा ‘हात्ती’ गठबन्धन पनि ‘फुस्सा’मा परिणत भएका छन् । जनताको मन कुँडिएको छ । यस्तो बेलामा मत चुँडिन पनि बेर लाग्ने देखिँदैन । त्यसैले पनि राष्ट्रपति, र उपराष्ट्रपति कुन दलका र को हुने भन्ने कुरा पनि गर्भमै देखिन्छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य तथा सातवटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य मतदाता रहने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतभार क्रमशः ७९ र ४८ तोकिएको छ । संघीय र प्रदेशसभामा बहुमत हुने गठबन्धनका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपति विजयी हुने भएकाले निर्वाचनभित्रको अर्को निर्वाचन तात्तातो बनेर दलहरूको मुखमा पोल्न र बोल्न आइपुगिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण