लोकतान्त्रिक टोपीभित्रको चिन्तन

भन्ने गरिन्छ, देश विकासका लागि सक्षम नेतृत्वको खाँचो हुन्छ । प्रधानमन्त्री वा कार्यपालिका प्रमुखको व्यक्तित्व, भिजन, मिसन, एक्सनले देशलाई दिशानिर्देश गर्छ । देश विकासका लागि पारदर्शिता, जबाफदेहिता तथा कार्य क्षमताजस्ता राजकीय गुणहरू अनिवार्य ठानिन्छ । हाम्रो देशको सन्दर्भमा प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि बनेका प्रधानमन्त्रीहरूमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको कार्य क्षमता केही सकारात्मक देखिए तापनि अन्य कार्यपालिका प्रमुखहरू जुन जोगी आए पनि कानै चिरेका जस्ता देखिए, प्रमाणित भए । देशले राजनेता पाउन सकेन । लोकतन्त्रको टोपी लगाउने तर टोपीभित्रका कार्य क्षमता अत्यन्त कमजोर र चिन्तन अलोकतान्त्रिक प्रमाणित भयो ।

अन्तर्राष्ट्रिय जगत्का सक्षम व्यक्ति एवं व्यक्तित्वहरूको नाम लिने क्रममा सिंगापुरका लि क्वाइन यु, अफ्रिकाका नेल्सन मन्डेला, चीनका सिजिङपिङ, भारतका नरेन्द्र मोदी, मलेसियाका मुहम्मद महाथिरलगायतका राजनेता चर्चामा आउने गर्छन् । हाम्रो देशमा पनि उल्लिखित विकासवादी व्यक्तिहरूको चर्चा गर्ने नेताको कमी छैन । परन्तु, यिनीहरूमा स्वार्थ, लोभ र कुशासनका क्रियाकलाप छरपस्ट देखिन्छन् । फलतः लोकतन्त्र देश र जनताका लागि उपयोग हुन सकिरहेको छैन ।

देशमा विकासको मूल फुटाउने गफ गर्न सिपालु नेतृत्वले झुठा आश्वासन बाँडेर भोट कुल्याउने र नोटको राजनीति गर्ने भ्रष्ट नेतृत्वको कारण देश अस्तव्यस्तको अवस्थामा छ । जनता विकासको पर्खाइमा पट्यारलाग्दो समय बिताइरहेका छन् । देशले एउटा सक्षम नेतृत्वको आवश्यकता महसुस भएको लामो समय भयो । प्रजातन्त्रको पुनस्र्थापना हुनुभन्दा अगाडिको राजनीतिक इतिहासमा राजा महेन्द्रको कार्यकाल र विश्वेश्वरप्रसाद कोइरालाको समयलाई सम्झने गरिन्छ । आजसम्म यो देशमा राजनीतिक दर्शन र वादका हरेक विकल्पको प्रयोग गरियो । यति सानो देशलाई राजनीतिक विभाजन गरी तीन तहको सरकार बनाइयो । गाउँगाउँमा सिंहदरबार भनियो । जे भनिए तापनि आमनागरिकको जीवनमा परिवर्तन आउन सकेन । देश विकास हुन सकेन । विधिको शासन हराउँदै गयो । यसको मूल कारण लोकतन्त्रको टोपी लगाएको नेतृत्वको टोपीभित्रको चिन्तन अत्यन्त अलोकतान्त्रिक, अपारदर्शी, कुशासनमैत्री र स्वार्थले भरिएकाले देशको दुर्दशा भएको हो । ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्ने गीतको भावजस्तै नेपाली समाजले देश निर्माण गर्ने काबिल नेतृत्व खोजी रहेको छ । तर, कहिले पाउला ?

पार्टी नेतृत्वको टोपीभित्रको चिन्तन अत्यन्त अलोकतान्त्रिक, अपारदर्शी, कुशासनमैत्री र स्वार्थले भरिएको हुँदा देशले यो दुर्दशा भोग्नुपरेको हो

२०५२ देखि २०६२ सालसम्म विकास र सामाजिक रूपान्तरणका नाममा माओवादी युद्ध चल्यो । यो युद्धले राजनीतिक रूपमा व्यापक परिवर्तन ल्यायो । तर, यो परिवर्तनले देशलाई उभो लगाउन सकेन । यो व्यवस्था झन् खर्चिलो र बोझिलो भयो । जनताको संविधान बनाउने नाममा २÷२ पटक गरिएको संविधान सभाको निर्वाचन र अरबांै रुपियाँको लगानीमा बनेको २०७२ सालको संविधान तत्पश्चात् भएको आमनिर्वाचनपछाडि देश एउटा राजनीतिक कोर्सको अन्त्य भई यसको व्यवस्थापन र आर्थिक समृद्धिको आशामा थियो । तीव्र गतिमा देश विकासको पर्खाइमा थियो । परन्तु, राजनीतिक नेतृत्व ‘ढंग न ढाल खानको काल’को अवस्थाबाट गुज्रियो । यिनीहरूका कारण देश अभाव, गरिबी, भ्रष्टाचार, बेरोजगारी, वैदेशिक हस्तक्षेप र अनेक सामाजिक समस्याबाट आक्रान्त छ । युवाहरू स्वदेशमा छैनन् । दलहरू यो वा त्यो नाममा राजनीति गरेर आप्mनो दुनो सोझाउने काममा व्यस्त छन् ।

अहिले, देशको विकास एकादेशको कथाजस्तो भएको छ । केही व्यक्ति र समूहले मात्र नेपाली राजनीतिलाई दुहुनो गाई बनाइरहेका छन् । भ्रष्टाचार, कालोबजारी, मनपरीतन्त्रमा व्याप्त छ । काम गर्ने कालु मकै खाने भालु भनेझैं जनताको तागत र बलिदानबाट आएको गणतन्त्रलाई राजनीतिक दलहरूले बिनालगानीको आयआर्जनको स्रोत बनाएका छन् । अहिले देश कुहिरोमा हराएको कागजस्तै दिशाहीनताको अवस्थामा पु¥याएको पुरानो नेतृत्व, व्यक्ति वा नेता विशेष चुनावी प्रचारप्रसारमा व्यस्त छन् । गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरू प्रधानमन्त्री हुने वा राजनीतिक लाभका पदहरू बाँडफाँट गर्ने रणनीतिमा लागेका छन् ।

नेपालको राजनीति लोकलाज हराएको असक्षम समूहको चंगुलमा फसेको छ । लोकतन्त्रको टोपी ढल्काउनेहरू दन्तबजानमा व्यस्त छन् । यिनीहरूकै कारण प्रशासनतन्त्र जनसेवामुखी हुन सकेको छैन । देश कंगाल बन्दै गएको छ । यो वास्तविकतालाई आममतदाताले कहिले बुभ्mने ? फेरि पनि यिनै असक्षमलाई मतदान गर्ने हो भने देश बर्बाद हुनेछ । निर्वाचनमा गरिने अरबांैको जनताको कर खेर जानेछ । फेरि पनि राज्यशक्तिको हालीमुहाली पुरानै सीमित व्यक्ति र समूहको वरिपरि केन्द्रित हुनेछ । राज्यको ढुकटी र सुविधा दोहन गर्न यो समूहलाई सित्तैको धन फुपूको श्राद्ध भनेझैं हुनेछ ।

लोकतन्त्रको टोपी लगाएर नेतृत्वमा पुग्न सफल राजनीतिक दल वा नेताहरू अयोग्य भएमा यसको नकारात्मक असर भयावह हुने कुरा विगतले देखाइसकेको छ

स्वार्थ उन्मुख राजनीतिकै कारण नेपाली समाजको सामाजिक सद्भावका आधार भत्काइएका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक, क्षेत्रीय र वर्गीय विभेद घट्नुको सट्टा बढ्दै गएका छन् । अहिलेको नेतृत्वलाई सचेत युवाहरूले विगतमा जुत्ता प्रहार गरे । कतिपय नेताका गाला चड्काए । गालीगलौज गरे, गर्दै छन् । तर, कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राख्दा पनि बांगाको बांगै भनेझैं यिनीहरूको चिन्तन र व्यवहार बदलिएको छैन, कार्यशैली फेरिएको छैन । तसर्थ, मतदाताले विगतमा यिनीहरूले गरेका कामको मूल्यांकन नगरी भोट खसाल्नु ठूलो भुल हुनेछ । यसो नगरियोस् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको विकास निर्माणको स्वर्णिम अवसरलाई गुमाउँदै राजनीतिक पार्टीहरू भ्रष्टाचार, गुटगत स्वार्थ र खिचातानीमा व्यस्त भएको दशकमा माओवादीको जन्म भयो । राजनीतिक सत्तालाई सत्तोसराप गर्दै, जातीय, वर्गीय एवं क्षेत्रीय विभेदको मुद्दा उठाएर युरोपियन समाजको सपना बाँड्न खप्पिस केही सर्वहारा भन्नेहरूको संगठन बन्यो । राजनीतिक फलप्राप्तिको उदासीनताबाट चक्कर काटिरहेको नेपाली समाजले उल्लिखित मुद्दाहरूमा विस्वस्त भई युद्धमा होमियो । यो युद्धले १० वर्षसम्म नेपाली समाजलाई उथुलपुथुल पा¥यो । हजारौंले ज्यान गुमाए । हजारांै अपांग, घाइते तथा बेपत्ता भए ।

यसैगरी, १० बर्से चलाइएको माओवादीको जनयुद्धले राजनीतिक फाइदाका लागि सदियौंदेखि सामाजिक मेलमिलापको नमुनाका रूपमा रहेको समाजलाई बाँड्ने र भाँड्ने काम भयो । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि यो राजनीतिक दल पटक पटक सत्तामा पुग्यो । जब यो दललाई देश विकास गर्ने अवसर प्राप्त भयो, तब नेतृत्वले राजनीतिलाई आर्थिक दोहनको अवसरका रूपमा उपयोग ग¥यो । देशको स्रोतहरूलाई भागबन्डा गर्दै सुविधा लिने र दिने काममा दलका शीर्ष भनिनेहरू अभ्यस्त भए । फलतः देशमा तमाम विकृति र विसंगति झाँगिए । नेतृत्व नै स्वच्छ नभएपछि मातहतका निकाय नागरिकप्रति जिम्मेवार बन्न सकेनन् । जनताको दैनिकी कष्टकर बन्दै गयो । यस्तै हो त लोकतान्त्रिक दलहरूबाट समाजले चाहेको कार्यशैली ?

देशमा लोकतन्त्रको टोपी लगाएर नेतृत्वमा पुग्न सफल राजनीतिक दल वा राष्ट्रिय मुद्दामा निर्णायक ठाउँमा रहेका व्यक्तिहरू योग्य नभएमा यसको नकारात्मक असर भयावह हुने कुरा विगतका दिनमा व्यापक देखियो । प्रजातान्त्रिक राज्यलाई विधिको बाटोमा हिँडाउन सक्षम नेतृत्वको खाँचो हुन्छ । भ्रष्टाचार विकासकोे शत्रु भएकाले यसका जरा काट्नसक्ने नेतृत्व आवश्यक हुन्छ । देशलाई विकास गर्न प्रयोगवादी शासन व्यवस्था, भ्रष्टाचार निर्मूलीकरण, अल्पकालीन र दीर्घकालीन विकास योजना, मिजासिलो एवं जनमुखी कर्मचारीतन्त्र, हाम्रा राम्राभन्दा पनि राम्रा हाम्रा भन्ने प्रशासनिक अभ्यास, राम्रो काम गर्नेलाई बढुवा र नराम्रो काम गर्नेलाई तत्काल खोसुवा गर्ने नीति र कार्यान्वयन जरुरी हुन्छ । तसर्थ, माथि उल्लेखित शासकीय गुण भएको राजनीतिक दल र व्यक्तिको खोजी गरौं । नेतृत्वमा पठाऔं । एक दिन मतदान गरेर अर्को निर्वाचनसम्म पछुतो हुने काम नगरौं । लोकतान्त्रिक टोपी होइन, टोपीभित्रको क्षमताका आधारमा नेतृत्व चयन गरांै ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९