ललितपुर । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले चालेको कदमले धार्मिक क्षेत्र पनि प्रभावित बनेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चलगायत धार्मिक स्थलमा एकपटकमा २५ जना बढी भेला नहुने व्यवस्था मिलाउने निर्णय गरेपछि यसको प्रभाव धार्मिक तथा सांस्कृतिक क्षेत्रमा देखिने भएको हो ।
यसैगरी, पार्टी प्यालेसमा पनि भेला हुँदा २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने भनेपछि व्रततीर्थको भोज, व्रतबन्ध, पूजाआजा, सप्ताह आदि प्रत्यक्ष प्रभावित हुने देखिएको पण्डित माधवप्रसाद शर्मा बताउँछन् । ‘यहाँसम्म कि अब मृत्यु संस्कारमा पनि धेरै मानिस जम्मा हुन सक्दैनन्,’ उनले भने ।
सरकारले मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चलगायत धार्मिक स्थलमा एकपटकमा २५ जनाभन्दा बढी भेला नहुने व्यवस्था मिलाउन विकल्प पनि अघि सारेको छ । त्यस्ता स्थलमा लामबद्ध हुने दर्शनार्थी र तिर्थालुबीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने व्यवस्था मिलाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । बुधबार बसेको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णय कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री योगेश भट्टराईले मठ मन्दिरलगायत धार्मिक स्थलमा लामबद्ध हुँदा कम्तीमा एक मिटर दूरी कायम गर्न निर्देशन दिएका हुन् ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित
कारोना भाइरसको संक्रमण फैलिने जोखिमले काठमाडांै उपत्यकामा मनाइने जात्राहरू प्रभावित हुने भएका छन् । यो वर्ष सेतो मच्छिन्द्रनाथको रथ यात्रा नहुने भएको छ । विश्वभर महामारीका रूपमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले सतर्कता अपनाउँदै यस वर्ष रथ यात्रा नगर्ने निर्णय भएको सेतो मच्छिन्द्रनाथ रथयात्रा ११४० व्यवस्थापना समितिले जनाएको छ । समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि यो जात्रा चैत्र १९ देखि २१ सम्म गरिने
तयारी थियो ।
सरोकारवालाहरूसँग बसेको बैठकमा यस वर्ष आवश्यक र अनिवार्य विधिविधानअनुसार पूजा मात्र गर्ने र रथ यात्रा नगर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका–२५ का वडाअध्यक्ष एवं पुजारी नीलकाजी शाक्यले जानकारी दिए । रथयात्राका क्रममा हजारौं मानिसको भिड हुने र त्यसक्रममा संक्रमण फैलिने डर बढी हुने भएकाले जात्रा नै स्थगित गरिएको उनले बताए । उनले सरकारले २५ जनाभन्दा बढी भिड जम्मा गरेर भेला नगर्न भनिरहेको सन्र्दभमा आफूहरूले सरकारलाई साथ दिएको बताए । उनका अनुसार जात्रा नहुने भएपछि सेतो मच्छिद्रनाथमा क्षमापूजा गरिनेछ ।
पाहाँः चह्रेमा र द्यः ल्वाकिगु जात्रा प्रभावित
यसैबीच, कोरोनाको सजकता उपनाउँदै यसपटकका पाहाँः चह्रेमा राजधानीको असन र टुडिखेलमा द्यः ल्वाकिगु जात्रा (देवताको खट जुदाउने) भए पनि जात्रा पर्व प्रभावित हुने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै खट जात्रा नगरिने निर्णय गरिएको काठमाडांै महानगरपालिका–२२ का अध्यक्ष चिरीकाजी मर्हजनले जानकारी दिए । काठमाडांैको नेवार समुदायको यो दसैं पछिको ठूलो पर्व हो ।
जात्राका क्रममा हजारांै मानिस भेला हुने हँुदा असनमा खट नजुधाउने, चिलाख नसाट्ने र उत्सवका रूपमा दैनिक रूपमा जात्रा पनि नगर्ने भएको गुठीले विज्ञप्तिमार्फत जनाएको छ । असन र टुडिखेलमा द्यः ल्वाकेगु जात्रा नहुने भए पनि जात्राका लागि निकालिनुपर्ने सबै देवीलाई विधिपूर्वक निकालिनेछ । जात्राका क्रममा धेरै संख्यामा मानिसलाई जम्मा नगरी गुठीका आवश्यक व्यतिmले मात्रै बाजा बजाएर सहभागी हुने तयारी छ ।
मन्दिर प्रवेशमा रोक
काठमाडांैको संकटा, भद्रकाली र महांकाल मन्दिर प्रवेशमा भक्तजनलाई शुक्रबारबाट रोक लगाइएको छ । गुठी, मन्दिर, पुजारी, वडा कार्यालयलगायतका सरोकारवालाबीच भएको छलफलपछि यो निर्णय भएका वडा नमबर २२ का अध्यक्ष महर्जनले जानकारी दिए ।