काठमाडौं । नेपाली चलचित्रको छायाँकन पनि पुरा नहुँदै केही निर्माताहरुले धमाधम आगामी नयाँ वर्ष २०८० को लागि आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका छन् । यतीबेला दुई जना निर्माताले आगामी नयाँ वर्षमा आफ्ना फिल्म रिलिज गर्ने घोषणा गरेका छन् ।
जस मध्य एउटा चलचित्र नाई नभन्नु ल ६ को छायाँकन भरखर सुरु भएको छ । घोषणा गरिएको अर्को चलचित्र भगवत गीतको त छायाँकन नै सुरु भएको छैन । नयाँ वर्षमा नेपाली चलचित्रको राम्रो व्यापार हुने भएकाले फिल्मको छायाँकन नहुँदै उनीहरुले रिलिज मिति नयाँ वर्षलाई तोकेका हुन् ।
उता छायाँकन हालै सकिएको अनमोल केसी अभिनेत्री चलचित्र ‘२.० छड्के’ फागुन १९ वा नयाँ वर्षमा रिलिज हुने भनेर चर्चा चलिरहेको बेला निर्माता सुनिल कुमार थापाले भगवत गीत आगामी नयाँ वर्षमा रिलिज गर्ने घोषणा गरेका हुन् । यस्तै अर्का निर्माता निर्देशक विकाशराज आचार्यले पनि आफ्नो चलचित्र नाई नभन्नु ल ६ को रिलिज आगामी नयाँ वर्षमा गर्ने घोषणा गरेका छन् ।
सुनिल कुमार थापाको चलचित्र भगवत गीतको टिजर केही महिना अघि रिलिज गरिएको थियो । तर यो चलचित्रको अहिलेसम्म नायक सहित मुख्य कलाकार नै चयन गरिएको छैन । फिल्मलाई झरना थापाले निर्देशन गर्दैछिन् । उनीहरुको छोरी तथा अभिनेत्री सुहाना थापालाई यसमा नायिकाको रुपमा अनुबन्धित गरिए पनि बाँकी कलाकार चयन बाँकी नै छ । तथापि फिल्मलाई मँसिरबाट छायाँकन सुरु गरेर नयाँ वर्ष २०८० मा रिलिज गर्ने उनीहरुले बताएका छन् ।
यता चलचित्र नाई नभन्नु ल ६ को गत साताबाट झापाका छायाँकन सुरु भएको छ । यो चलचित्रमा आँचल शर्मा, आर्शिवाद क्षत्री, योगिशा खत्री, बाल कलाकार अर्थव उप्रेतीलगायतको अभिनय छ । चलचित्रको निर्मातामा मा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेका छन् । आफ्नो चलचित्रको छायाँकन मँसिर भित्र सम्पन्न हुने र आगामी नयाँ वर्षमा यसलाई रिलिज गर्ने निर्देशक विकाश आचार्यले बताएका छन् ।
यसअघि नाई नभन्नु ल को पाँच वटै सृँखला सफल भएकाले यो पनि दर्शकले रुचाउने उनको जिकिर छ । यदि अनमोलको फिल्म छड्के नयाँ वर्षमा रिलिज भएको खण्डमा यी दुई सिनेमाको रिलिज फेरी सर्ने वितरकहरुको कथन छ ।