काठमाडौं । कोरोनाको कारण तीन वर्षदेखि रोकिएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आगामी ९ मंसिरबाट काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि विशेष अतिथिका रूपमा भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री सबाना आजमी नेपाल आउने भएकी छन् ।
आयोजक संस्था मण्डला थिएटरले आइतबार यो विषयमा जानकारी गराउँदै सबाना नेपाल आउने पक्का भएको जनाएको छ । बाँकी अरू विदेशी अतिथिसँग पनि कुराकानी भइरहेको मण्डलाले जनाएको छ ।
९ मंसिरमा महोत्सवको उद्घाटनमा विशेष अतिथिका रूपमा आपूmहरूले रंगमञ्च र चलचित्रमा सुप्रसिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको आयोजक राजन खतिवडाले बताएका छन् ।
महोत्सव निर्देशक सिर्जना सुब्बाका अनुसार महोत्सवमा सबानाले नेपाली रंगकर्मी तथा कलाकारलाई ‘मास्टरक्लास’ पनि दिने छिन् । सो मास्टरक्लास महोत्सवको दोस्रो दिन १० मंसिर साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुने पनि उनले जानकारी गराएकी छन् । महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट सबानाले पुरस्कृत पनि गर्ने छिन् ।
भारतमा प्रशंसित अभिनेत्रीमध्ये एक सबाना आजमी हुन् । उनले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी छन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।
महोत्सवकी संयोजक विजया कार्कीका अनुसार सामाजिक रूपान्तरणका लागि रंगमञ्च विविधिताको उत्सव भन्ने नाराका साथ यो महोत्सव आयोजना हुन लागेको छ । काठमाडौंको थापागाउँमा रहेको मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकले भाग लिएको पनि कार्कीले बताएकी छन् । जसमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।