इलाम । बर्सेनि रेडपान्डा संरक्षणका लागि खर्च गरिरहे पनि रेडपान्डा संरक्षणमा भने चुनौती बढिरहेको हो । इलामको सन्दुकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगे थाम, जमुनाको चोया टार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोग माईको माथिल्लो सामुदायिक वनलगायतमा पाइने मालिंगो र भालुचिन्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा बिक्री गर्न थालेपछि रेडपान्डा झन संकटमा पर्न थालेको छ ।
लजालु स्वभावको भएकाले जंगली जनावर र कुकुरले सजिलै आक्रमण गर्ने हुँदा पनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन । पछिल्लो समय स्थानीय तहले सडक निर्माण गर्ने क्रममा रेडपान्डा पाइने क्षेत्रमा डोजर चलाउने गरेको कारण पनि रेडपान्डा संरक्षणमा चुनौती बढेको छ ।
रेडपान्डा पाइने क्षेत्रमा डोजर चल्दा बोटबिरुवा मासिनुका साथै त्यसको आवाजको कारण रेडपान्डा त्यस क्षेत्रमा नबस्ने गरेको इलाम नगरपालिका–३ पुवा मझुवाका सोम सुनुवार बताउँछन् । उनी भन्छन्, ‘रेडपान्डा आइरहने गरेका ठाउँमा बाटो खनेपछि उदांगो भएको र त्यसले रेडपान्डा मात्र नभएर अन्य लोपोन्मुख वनस्पति पनि लोप हुन थालेका छन् ।’
दीर्घकालीन योजनाबिना नै जथाभावी सडक खनेपछि पहिले त्यस क्षेत्रमा पाइने रेडपान्डा यतिबेला देखिन छाडेको स्थानीय बताउँछन् ।
सामुदायिक विद्यालयमा पढाइ
संरक्षणका लागि रेडपान्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा रेडपान्डा संरक्षणसम्बन्धी पढाइ सुरु गरिएको छ । उत्तरी इलामको रेडपान्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयका कक्षा ६ र ७ मा ऐच्छिक रूपमा वातावरण संरक्षण शिक्षा पढाइ सञ्चालन भएको छ । वातावरण संरक्षण शिक्षाले विद्यार्थीलाई रेडपान्डा र वातावरण संरक्षणमा अभिप्रेरित गर्ने उद्देश्यले पढाइ थालिएको हो ।
जिल्लाका रेडपान्डा पाइने क्षेत्रमा पर्ने सामुदायिक विद्यालयमा रेडपान्डा संरक्षणसम्बन्धी पढाइ भइरहेको छ । यहाँका ६ वटा विद्यालयको कक्षा ६ र ७ मा ऐच्छिक रूपमा वातावरण संरक्षण शिक्षा पढाइ भएको हो । संरक्षणका कार्यमा अग्रसर रेडपान्डा नेटवर्कले इलामसहित पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा पाठ्यक्रम तयार गरी पठनपाठन गरिरहेको रेडपान्डा नेटवर्कले जनाएको छ । विद्यालयस्तरमा विद्यार्थी समूह गठन गरी रेडपान्डालगायत जैविक विविधता विषय समावेश भएको भित्तेपत्रिका प्रकाशन गर्ने रेडपान्डा दिवसमा हाजिरी जवाफ, नाटक, वादविवाद, चित्रकला प्रतियोगिता आयोजना गर्ने गरेको राईले बताए ।
स्थानीय समुदायको रेडपान्डाको वासस्थानसँग सिधा सरोकार रहेकाले संरक्षण शिक्षा जरुरी भएको संरक्षणमा क्रियाशील संस्था उच्च पहाडी संस्थाले जनाएको छ । घाँस, दाउरा, निगालो, मालिंगोजस्ता महत्वपूर्ण वन पैदावार संकलनका क्रममा स्थानीय समुदाय रेडपान्डाको वासस्थानमा आश्रित भएकाले संरक्षणमा चुनौती रहेको छ । वातावरण संरक्षण शिक्षाले विद्यार्थीहरूलाई रेडपान्डा र वातावरण संरक्षणमा अभिप्रेरित गर्ने जनाइएको छ ।
छैन तथ्यांक
रेडपान्डा संरक्षणका लागि नेटवर्कमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखिए पनि कति रेडपान्डा छन् भन्ने तथ्यांक नेटवर्कले निकाल्न सकेको छैन । इलामका १८ भन्दा बढी सामुदायिक वनमा रेडपान्डा संरक्षण कार्यक्रम चलिरहेको छ । रेडपान्डाको चोरी–सिकारी नियन्त्रणका लागि अनुगमन, विद्यालयहरूमा क्लब गठन, रेडपान्डाको अनुगमनका लागि क्यामेराबाट निगरानी गर्नेजस्ता कार्यक्रम संस्थाले चलाउँदै आएको भए पनि अहिलेसम्म कति तथ्यांक कति छ भन्ने यकिन हुन सकेको छैन ।
इलामको पुवामझुवा र माईपोखरीमा कुकुरले आक्रमण गरेको अवस्थमाम मृत फेला परेको थियो भने गोर्खेमा मरिरहेको अवस्थामा घाँस काट्न गएका मानिसले फेला पारेको भए पनि कति मरे भन्न तथ्यांक नभएको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक कृष्ण राईले बताए । संरक्षण गर्न भनेर नेटवर्कमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखे पनि अहिलेसम्म रेडपान्डाको तथ्यांक यकिन हुन सकेको छैन ।
हाब्रेको नामले चिनिने रेडपान्डा कालो, रातो र सेतो रङ मिसिएको हुन्छ भने पुच्छर ठूलो र लामो गरेको बिरालो जस्तै हुन्छ । समुन्द्री सतहको १६ सय मिटरदेखि २४ सय मिटरसम्म यसको वासस्थान उपयुक्त मानिन्छ । रेडपान्डा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा पाइन्छ ।
आहारा संरक्षण गरिँदै
विश्वमै लोपोन्मुख रूपमा रहेको रेडपान्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारिमा वृक्षरोपण गरिएको छ । रेडपान्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्न लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपान्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो । रेडपान्डाको संरक्षणमा क्रियाशील रेडपान्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्थामार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर बिरुवा रोप्न थालिएको हो ।
सन्दकपुर गाउँपालिका–५ को जौवारी, कोप्चे तथा मुर्चुल डाँडा क्षेत्रमा व्यक्तिको नाममा रहेको जग्गा खरिद गरेर सरकारलाई प्रदान गरिएपछि बिरुवा रोप्न थालिएको हो । रेडपाण्डको बासस्थान आसपासमा भएको, रेडपान्डा पाइने सामुदायिक वनबीचमा भएको व्यक्तिको जग्गा र रेडपान्डा आउजाउ गर्ने कोरिडोर क्षेत्रमा भएको जग्गा किनेर सरकारको नाममा पास गरिदिएपछि बिरुवा रोप्न थालिएको हो ।
सो जग्गामा टेंगा, बान्टे, मालिंगो, निगालो, गुराँस, गोब्रेलगायतका बिरुवा रोप्न थालिएको स्थानीय दीपक गुरुङले बताए । उनले रेडपान्डा नेटवर्कले २÷३ सय रोपनी जग्गा किनेर यो क्षेत्रभरि रेडपान्डालाई सुहाउँदो खालको बोटविरुवा रोप्न खोजिरहेकोमा खुसी व्यक्त गरे ।
व्यक्तिबाट खरिद गरिएको जग्गामा रेडपान्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाको साझेदारीमा वृक्षरोपणको काम थालिएको छ । त्यस जग्गामा रेडपान्डाले रुचाउने प्रजातिका बिरुवा लगाउन थालिएको छ ।
सो जग्गामा तारबार गरेर संरक्षण थालेपछि खाली रहेको जमिनमा मालिंगोलगायतका बिरुवा हुर्किन थालेको र रेडपान्डा कोरिडोर क्षेत्रमा अझै पनि व्यक्तिको नाममा खाली जग्गा रहेको र ती जग्गासमेत खरिद गर्नुपर्ने आवश्यकता रहेको उच्च पहाडी संस्था इलामका कार्यक्रम संयोजक कृष्ण राईले बताए ।
व्यक्तिबाट खरिद गरिएको जग्गालाई संरक्षण गरेर रेडपान्डा बस्न योग्य भएपछि संरक्षणका लागि समुदायलाई नै हस्तान्तरण गरिनेछ । अहिले त्यसको संरक्षण नेटवर्कले गर्नेछ ।