स्वतन्त्रप्रति आशा र भरोसा बढ्दै

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा खर्भरै खुलेका नयाँ दल तथा स्वतन्त्र उम्मेदवार ‘ठूला भनिएका’ दलका लागि चुनौती बन्दै गएका छन् ।

आधा वर्ष पुग्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार साँझसम्म ४ सिट जितिसकेको छ । आधा दर्जन ठाउँमा उसको अग्रता छ । प्रतिनिधिसभा काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोबिता गौतमले पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरिन् ।

‘ठूला’ भनिएका दललाई चुनौती

काठमाडौं ६ मा रास्वपाकै शिशिर खनालले पूर्वमन्त्री एवं कांग्रेस नेता भिमसेनदास प्रधान तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाललाई हराएका छन् । त्यस्तै, काठमाडौं ७ मा रास्वपाकै गणेश पराजुली विजयी बने भने काठमाडौं ८ मा बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई हराएर स्वतन्त्रका विराजभक्त श्रेष्ठ विजयी बने ।

प्रतिनिधिसभा ललितपुर क्षेत्र ३ मा रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले बहालावाला मन्त्री पम्फा भुसाललाई पछि पार्दै जितनजिक पुगेकी छन् ।

पछिल्लो नतिजाअनुसार दुई स्वतन्त्र उम्मेदवारले जित हात पारिसकेका छन् । देशभर नयाँ दल रास्वपा उम्मेदवारले सम्मानजक मतपरिणाम लिएको पाउन सकिन्छ । धेरै ठाउँमा कांग्रेस, एमाले र माओवादीभन्दा रास्वपा तथा अन्य स्वतन्त्र उम्मेदवारको मत संख्या उल्लेख्य देखिएको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायत गठबन्धनका उम्मेदवार एकातिर पराजित र अर्कातिर नेकपा एमालेले राप्रपालगायत साना दलसँगको गठबन्धनका उम्मेदवार नयाँ दल तथा स्वतन्त्र उम्मेदवारभन्दा पछि परेका छन् ।

गठबन्धनकै उम्मेदवार ठाउँठाउँमा पराजित बन्न पुगेका छन् । रास्वपाले ठूला दलका उम्मेदवारलाई कतै हराउने र कतै पछि पार्न थालेपछि राजनीतिक तरंग पैदा भएको छ । युवा जमात र मतदाताले पुराना पार्टीका उम्मेदवारलाई खासै रुचाएको पाइएको छैन ।

राजनीतिक विश्लेषकका अनुसार ‘ठूला दलले सिद्धान्त र निष्ठाको राजनीति नगर्दा नयाँ दल र स्वतन्त्र उम्मेदवार मतदाताको रोजाइ’मा परेका हुन् ।

ठूला दलका नेता आपसी झगडामा अल्झिरहने तथा आफन्तवादमा फसेको र देश विकासका लागि सही मार्ग दिन नसक्दा जनताको आक्रोशको मत अन्यत्र गएको विश्लेषकको ठम्याइ छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ठूला दलको व्यवहारबाट विरक्तिएका मतदातालाई सचेत गराउन नसक्दा कम मत खसेको औंल्याउँछन् ।

विश्लेषक हरि रोका दलले सही अडान लिएर अगाडि नबढ्दा मतदाताले आक्रोशका रूपमा नयाँ पार्टी र स्वतन्त्रमा मतदान गरेको बताउँछन् । आगामी दिन राजनीतिक दलले आफ्ना क्रियाकलाप ‘नसुधारे योभन्दा खतरनाक परिणाम’ भोग्नुपर्ने उनको चेतावनी छ ।

कतिपय विश्लेषक ‘दलीय गठबन्धन नै मतदातालाई मन नपरेको’ बताउँछन् । ‘दलले अवसर पाउँदा नियुक्तिलगायत आफन्त तथा आफूनजिककालाई मात्रै राख्ने गरेको र जनताका लागि सेवकभन्दा शासकको जस्तो व्यवहार गरेकाले पनि मतदाताले विकल्पका रूपमा नयाँ दल र स्वतन्त्र रोजेको’ तर्क उनीहरूको छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित