सोचान्तरणको स्रोत नागरिक शिक्षा

शिक्षाको व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय उद्देश्यहरू हुन्छन् । राज्यले शिक्षाका उद्देश्यहरू तय गरेको छ । तय गरिएका उद्देश्यमध्ये बालबालिकामा जीवनका लागि आवश्यक पर्ने आधारभूत दक्षता विकास गर्नुपर्ने भन्ने लेखिएको छ । यसैगरी, जीवनोपयोगी, प्रजातान्त्रिक एवं सामाजिक मूल्य र मान्यता विकास गर्नु शिक्षाको उद्देश्य हो । राज्यले शिक्षाको उद्देश्यमा नैतिक चरित्रवान् व्यक्तित्वको विकास गर्ने, भाषिक क्षमता, सिर्जनशीलता, राष्ट्रिय संस्कृति र परम्पराप्रति आदर, वैज्ञानिक दृष्टिकोण, स्वाबलम्बन, उद्यमशीलता, सहयोगात्मक भावना, प्रजातान्त्रिक चेतनाप्रति सचेतता जगाउने खालको शिक्षा हुनुपर्ने भनिएको छ । तथापि, आजको शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र उत्पादन भएका शिक्षित जनशक्तिमा उल्लेखित उद्देश्यको सिकाइ हुन नसकेकोे अवस्था छ । शिक्षित जनशक्तिमा नैतिकता एवं लोकतान्त्रिक आचरणको विकास कमजोर हुुँदै गएको शिक्षाविद्, अभिभावक, शिक्षक, प्रध्यापक तथा सामाजिक बुझाइ छ ।

माथि अनुच्छेदमा उल्लेखित गरिएका केही शिक्षाका प्रमुख उद्देश्यमध्ये नैतिक चरित्रवान् र प्रजान्त्रिक चेतनाको विकास नागरिक शिक्षाअन्तर्गतको सिकाइमा पर्दछन् । नागरिक शिक्षाले व्यक्ति र समाजको सोचमा रूपान्तरण गर्न सहयोग गर्दछ । यसका साथै नैतिकवान्, लोकतान्त्रिक एवं अनुशासित नागरिक उत्पादन गर्न मद्दत गर्दछ । नागरिक शिक्षाले व्यक्ति वा समाजलाई शिष्ट, सभ्य एवं कर्तव्यनिष्ठ हुनसक्ने ज्ञान आर्जन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । व्यक्तिमा लोककल्याणकारी भावनाको विकास गराइदिन्छ । व्यक्ति कल्याणकारी भएपछि परिवार हुँदै समाजमा अभ्यास हुन्छ । परोपकारी भावना भएका नागरिकमा बसुधैव कुटम्बकम्को भावनामा आधारित मानवतावादी व्यवहारको अभ्यास हुन सक्दछ । यसरी हेर्दा नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित व्यक्ति वा समाजको चिन्तन र व्यवहार परिवर्तन हुन्छ । अनि सोचान्तरणमा भूमिका खेल्दछ ।

आज समाजमा आफ्नो फाइदाको कुरा गर्दा पूरा गर्दा अरूको स्वार्थमा धक्का दिन नहुने व्यवहार एवं अभ्यासको खाँचो छ । ‘आप्mनो टाउको फुटेपछि मितको टाउको बेलैसरह’ भन्ने लोकउक्तिले समाजमा चरितार्थ हुँदै आएको छ । समाजमा भ्रष्टाचार, कालोबजारी, तस्करी, ठगी चेलीबेटी बेचबिखन जस्ता क्रियाकलाप व्याप्त छन् । यसैगरी राजनीतिक दलमा गुट टुट, फुट, गठबन्धन, समूहगत विभाजनलगायतका अभ्यासले ताकपरे तिवारी नत्र गोतामे लोकउक्तिलाई चरितार्थ गरेको छ । अहिले समाजको हितभन्दा आप्mनोहित चाहना, वा स्वार्थसिद्ध गर्ने अभ्यास बढी देखिन्छ । कल्याणकारी भाव ओझेलमा पर्दै छ । भौतिकवादी चिन्तनको जित भएपछि धन कमाउने लालसा बढ्दै जान्छ । मै खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ, मै बाँचू मै नाचूँ अरू सब मरून् दुर्बलहरू भन्ने सोचाइले डेरा जमाउँछ र यस्तै भएको छ । तसर्थ, लोककल्याणकारी समाज निर्माण गर्न समाजको सोचान्तरण आजको आवश्यकता हो ।

नागरिक शिक्षाको विषयवस्तुको प्रशिक्षण भएपछि आफ्नो अधिकार र कर्तव्यको बोध भएका नागरिक उत्पादन हुन्छन् । एक आपसमा मिलेर काम गर्न, आफ्ना विचार अरूलाई सम्प्रेषण गर्न र अरूका कुराहरू धैर्यपूर्वक सुन्न सक्ने क्षमताका लागि नागरिक शिक्षा आवश्यक ठानिन्छ ।

समाजमा सामूहिक निर्णय र नीतिअनुसार काम गर्ने आचरणको विकास हुन्छ । व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने प्रजातान्त्रिक आचरण फस्टाउँछ । नागरिक शिक्षाकोे ज्ञानले प्रशिक्षित व्यक्ति वा समाजमा सँगै बस्न, सामूहिक काम गर्न, एकले अर्काको सम्मान गर्न, विविध समुदायबीच सांस्कृतिक र सामाजिक मूल्यमान्यतालाई स्वतस्पूmर्त रूपमा स्वीकार गरी समभावको व्यवहार गर्ने सोचको विकास हुन्छ । समाजले सामाजिक एकता र मेलमिलापको महत्वलाई आत्मसात गर्न सक्दछ । भातृत्व भावनाको विकास हुन सक्दछ ।

समाजमा अग्रज र नयाँ पुस्ताबीच मौलिक ज्ञान एवं सीपहरू हस्तान्तरण एवं पुस्तान्तरण आजको आवश्यकता हो

नेपाली समाजको सामाजिक अभ्यास आप्mनो दिऊँ त मरी जाऊँ अर्काको पाए त चार माना खाऊँको अवस्थामा छ । अहिले समाजमा पारिवारिक विखण्डन, सामाजिक असमझदारी, अपराधजन्य क्रियाकलापको ग्राफ बढ्दो छ । दलाली, तस्करी, बेइमानी जसरी भए पनि आप्mनो पोल्टामा फाइदा पार्ने कसरतका कारण समाजमा लोककल्याणकारी चिन्तन एवं व्यवहार हराउँदै गएको अवस्था छ । मानवीय व्यवहार स्वार्थ केन्द्रित भएको छ । कुनै पनि राष्ट्रमा सामाजिक एकता र राष्ट्रियता बलियो हुनका लागि त्यस देशका नागरिक अनुशासित, कर्मशील र सहयोगी हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले राष्ट्रिय एकताको चेतना र सामाजिक सद्भावको आचरण विकास गर्ने हुनाले पाश्चात्य राष्ट्रले नागरिक शिक्षालाई उच्च प्राथमिकता दिएको पाइन्छ । शिक्षाविद् स्टोस्कीले मानिसलाई सामाजिक जीवनमा नैतिकवान् बनाउन नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ भन्ने धारणा राखेका छन् । विद्वान स्मिथले त नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो भनेका छन् । यी भनाइलाई आधार बनाएर हेर्दा पनि नागरिक शिक्षाको ठूलो महत्व रहेको पाइन्छ ।

हाम्रो समाजमा नागरिक चेतनालाई राजनीति र अधिकारसँग जोडेर हेरेको देखिन्छ । राजनीतिक चेतना र मानव अधिकार नागरिक शिक्षाको एउटा पाटो हो । नागरिक अधिकारसँगै हरेक मानिसको कर्तव्य निर्वाह गर्नुपर्छ । कर्तव्यले मानिसलाई, सभ्य, शिष्ट, नम्र, सरल, मिलनसार एवं सहिष्णु बनाउन प्रभावकारी भूमिका खेल्दछ । मानिसको चेतनाको विकास उसले सिकेको शिक्षाबाट प्राप्त ज्ञान, सीप, आचरण र चिन्तनको आधारबाट सिर्जित हुन्छ । त्यसैले नागरिक शिक्षालाई विद्यालय तहदेखि उच्चशिक्षासम्म औपचारिक पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक छ । यसका अतिरिक्त नागरिक शिक्षाका प्रशिक्षण केन्द्र स्थापना गरी हरेक स्थानीय तहमा भिन्न उमेर समूहका जनतालाई प्रशिक्षित गराउन जरूरी छ । यसो गर्दा राज्य तथा सम्बन्धित निकायले विज्ञ, समाजसेवी एवं स्थानीय सामाजिक अभियान्ताको सहयोग लिन सक्दछ ।

समाजमा शान्ति, सद्भाव, सहयोग र परोपकारी भावनाको विकासले सभ्य र सिर्जनशील समाजको निर्माण हुन्छ । नागरिक शिक्षा समाजका विभिन्न तह, वर्ग र क्षमताका नागरिकलाई आफ्नो काम, कर्तव्य, अधिकार तथा मानव जीवनका सुसंस्कृत, व्यवहार निर्माणको स्रोत हो । प्रजातान्त्रिक देशका जनताले राजनीतिक ज्ञानबाट प्रशिक्षित तथा देश विकासमा सहभागी हुनका लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ भन्ने अवधारणा शिक्षाशास्त्री गुटम्यानको रहेको छ । यसरी हेर्दा नागरिक शिक्षा अनुशासित, लोककल्याणकारी जनशक्ति उत्पादनकोे स्रोत हो भन्ने अर्थ लाग्दछ । सामाजिक सद्भाव र शान्ति कायम गर्न नागरिकबीच आपसी समझदारीको खाँचो हुन्छ । समाजमा रहेका हरेक जात, जाति, धर्म, वर्ग, संस्कृतिका मूल्य–मान्यता र पहिचानलाई एकआपसमा सम्मान गर्नसक्ने व्यवहारको विकास हुन आवश्यक हुन्छ । त्यसैले हाम्रो नेपाली समाजको चिन्तन र अभ्यासमा आवश्यक सोच तथा अभ्यास बदल्न नागरिक शिक्षा दिक्षा आवश्यक ठानिन्छ ।

नागरिक शिक्षाले व्यक्ति र समाजको सोचमा रूपान्तरण गर्ने हुनाले यसले नैतिकवान्, लोकतान्त्रिक एवं अनुशासित नागरिक उत्पादन गर्न मद्दत गर्दछ

अहिले हामी आधुनिक समाज निर्माणको दौरानमा छौं । नयाँ पुस्ता आधुनिक जीवनशैलीको घोडे दौडमा छ । आप्mनो देशको इतिहास, संस्कृति, भाषा, जीवनशैलीलगायते आधुनिकताले व्यक्ति र समाजको मौलिक पहिचान मेटाउँछ । राष्ट्रियता डगमगाउँछ । हाम्रो समाज पूर्वीय सभ्यता र आध्यात्मिक चिन्तनबाट निर्देशित छ । हाम्रा पुर्खाले आध्यात्मिक चिन्तनको फराकिलो एवं उदार भावनाको पनि विकास गरे । मठमन्दिरको स्थापना गरे । अतिथि देवाको अभ्यास सिकाए । मानवताको पाठ सिकाए । पाटी पौवा एवं धर्मशाला निर्माण गरी मानव सेवा गरे । ठाउँठाउँमा चौतारी निर्माण गरे देवीदेवताको पूजाआरधना गर्ने धार्मिक संस्कार र संस्कृतिको विकास गरे । अहिले आधुनिकताको नाममा उल्लेखित अभ्यास कमजोर बन्दै गएका छन् । यस सन्दर्भमा अग्रज पुस्ताले नयाँपुस्तालाई उल्लेखित ज्ञान एवं अभ्यास पुस्तान्तरण गर्न आवश्यक छ । शास्त्रीय ज्ञान र ढाँचामा मौलिक तथा आधुनिक समाज निर्माण गर्नुपर्छ । यसका लागि नयाँ तथा अग्रजपुस्ताको सोचान्तरण आजको आवश्यकता हो । नागरिक शिक्षाको विषयवस्तुको ज्ञानमैत्री संवादबाट नै सोचान्तरणमा रूपान्तरण सम्भव हुन्छ ।

वर्तमान अवस्थामा पुरानो र नयाँ पुस्ताको विचार विनिमयको अभ्यास कमजोर हुँदै गएको छ । आजको पुस्ताले अहिले समाजमा उपलब्ध भएका डिजिटल सुविधा, फेरिएको खानपान, पोसाक र जीवनशैलीलाई आधुनिकताको नाम दिएको पाइन्छ । अग्रजले परम्परागत जीवनशैली चटक्क बिर्सिएर आधुनिकताको नाममा होमिन चाहँदैन । समाजको मौलिक पहिचान मेटाउन हँुदैन भन्ने संस्कृतिविद्को मत रहेको छ । यस सन्दर्भमा आजको जीवनशैलीलाई बाधा पु¥याउने कतिपय सामाजिक अभ्यासलाई समयानुसार संशोधन, परिमार्जन वा परिवर्तन गर्दै मौलिक पहिचानमा आधारित आधुनिक समाज निर्माण गर्नु समयको माग हो । त्यसैले हरेक उमेर समूहको सोचान्तरणमा बदलाव आउनु आजको आवश्यकता हो ।

अन्त्यमा बद्लिएको जीवनशैली र यसको अभ्यासमा नयाँपुस्ता अगाडि छ भने सामाजिक मूल्य, मान्यता तथा सांस्कृतिक एवं सामाजिक व्यवहारमा अग्रजहरू नयाँ पुस्ताका गुरू हुन् । ज्ञानका स्रोत हुन् । मार्ग निर्देशक हुन् । त्यसैले समाजमा अग्रज र नयाँ पुस्ताबीच मौलिक ज्ञान एवं सीप हस्तान्तरण एवं पुस्तान्तरण आजको आवश्यकता हो । त्यसैले अग्रज र नयाँ पुस्ताको सोचान्तरण जरूरी छ । यसका लागि नागरिक शिक्षाको ज्ञानको प्रशिक्षण आवश्यक ठानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९