सुनसरी । सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेका छन् ।
शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।
सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगकका कर्मचारीले नेकपा (एमाले) उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा छ सय छ मत बढी थपिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतले आयोगमा पठाएको छ सय छ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।
यसरी थप देखिएको छ सय छ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो । कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गरेका हुन् । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार चार सय ३९ र एमालेका कुसियैतले २३ हजार तीन सय ४१ मत पाएका छन् ।