काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनका कारण प्रभावित बन्न पुगेका यातायात कार्यालयका सेवा पुनः पुरानै लयबाट थालनी भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल, लाइसेन्स नवीकरण, वितरणलगायत काम निर्वाचनपछि पुनः सुरु भएको हो ।
गत निर्वाचनमा यातायात कार्यालयका कर्मचारी पनि खटिएका कारण विभिन्न कार्यालयमा सेवा प्रभावित बन्न पुगेको थियो । बाग्मती प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, भक्तपुरले शुक्रबार एक सूचना जारी गर्दै सेवा सुचारु गरिएको जनाएको छ ।
‘यस कार्यालयको २४ कात्तिक, २०७९ मा प्रकाशित सूचनाबमोजिम स्थगित गरी सेवा ११ मंसिरबाट सुचारु गरिने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।
कार्यालयका अनुसार २५ कात्तिकमा हुने भनिएको वर्ग बीसी र एकेको प्रयोगात्मक परीक्षा आगामी १६ गते हुनेछ । यस्तै, २८ कात्तिकमा हुने भनिएको बीसी र एकेको लिखित परीक्षा पनि आगामी १६ गते नै हुने कार्यालयले जनाएको छ ।
यस्तै, बायोमेट्रिक गरी राजस्व बुझाउन बाँकी सेवाग्राहीले आजदेखि राजस्व बुझाई लिखित तथा प्रयोगात्मक परीक्षाको मिति लिनुसक्ने कार्यालयले जनाएको छ ।
यस्तै, बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय, चाबाहिलले पनि लिखित परीक्षाका लागि सूचना प्रकाशित गरेको छ । कार्यालयले गत २४, २५, र २७ गते नयाँ दर्ताको राजस्व बुझाएकाका लागि भोलि सोमबार लिखित परीक्षा सञ्चालन हुने जनाएको छ । २८ गते राजस्व बुझाएका लागि भने मंगलबार परीक्षा हुनेछ भने २९ गते राजस्व बुझाएकाका लागि बुधबार परीक्षा हुनेछ ।
कार्यालयले ३० कात्तिक र ९ मंसिरका दिन राजस्व बुझाएकाका लागि आगामी बिहीबार लिखित परीक्षा हुने जनाएको छ ।
यसअघि, निर्वाचनका कारण यातायात कार्यालय साना÷ठूला सवारी एकान्तकुना, चाबहिल, भक्तपुरलगायतका कार्यालयले सेवा प्रभावित हुने’bout सूचना जारी गरेर जानकारी गराएका थिए । उक्त समयमा स्थगित सेवा पुनः हुन थालेको हो ।