१२ पटक मन्त्री भएका गच्छदार पहिलो पटक पराजित

Online Nepali News Portal

टहरी । सुनसरी ३ मा नेकपा एमालेकी नेत्री भगवती चौधरीले नेपाली कांग्रेसका विवादास्पद छबिका विजयकुमार गच्छदारलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

चौधरी ४० हजार ७८८ मत प्राप्त गर्दै विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबू मैनालीले ६ हजार ४५३ मत प्राप्त गर्दै तेस्रो भए ।

०७० र ०७४ को निर्वाचनमा पनि उनै चौधरी र गच्छदारबीच प्रतिस्पर्धा भएको थियो । ०७४ मा गच्छदारले चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीको ३८ हजार ६५१ मत आएको थियो । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारमा मुछिएकाले एमालेले यसलाई चुनावी मुद्वा बनाएर चुनावी मैदानमा होमिएको थियो ।

२०७८ असार ३० गते विशेष अदालतले १० लाख धरौटीमा छोडे पनि उनको मुद्दा किनारा लागेको छैन । अघिल्लोपटक वाम गठबन्धन हुँदा कांग्रेस एक्लैले चुनाव जितेका कारण गच्छदार यसपटक गठबन्धनको बलमा चुनाव जित्ने रणनीतिमा रहेपनि उनी पहिलोपटक पराजित बने । २०४८ यता निरन्तर चुनाव जित्दै आएका गच्छदारले यसपटक पनि चुनाव जितेर आँफू ललिता निवास जग्गा प्रकरणमा निर्दोष रहेको देखाउन खोजेका थिए । तर, जनताको अभिमतबाट उनी पहिलोपटक पराजित भएका हुन् ।

गच्छदार २०४८ पछि निरन्तर सत्ता र शक्तिमा रहने नेतामध्येमा पर्छन् । २०४८ मा नेपाली कांग्रेसबाट चुनाव जितेका उनी सञ्चार राज्यमन्त्रीबाट सरकारमा सहभागी भए । १२ पटक मन्त्री बनेका गच्छदारले धेरैपटक चाहिँ भौतिक योजना तथा निर्माण मन्त्रालयको नेतृत्व सम्हाले । गच्छदारसँग पाँचपटक उपप्रधानमन्त्री बनेको अनुभव छ ।

उनी सुनसरीबाट २०४८, ०५१ र ०५६ को संसदीय चुनाव, ०६४ र ०७० को संविधानसभा चुनाव र ०७४ मा संघीय संसद्मा विजयी भएका छन् । कांग्रेसबाट राजनीतिमा उदाएका गच्छदारले २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए ।

गच्छदार २०६४ मा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई घुक्र्याएर फोरम प्रवेश गरेका थिए । सो दलमा रहँदा पनि उनले उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी पाएका थिए । ०७४ मा कांग्रेसमा फर्किएका उनले कांग्रेसबाटै चुनाव जितेका थिए । सुनसरीमा ज्ञानेन्द्रबहादुरकार्कीको प्रवेशअघि पार्टीभित्र र प्रशासनमा पनि गच्छदारकै दबदबा थियो । तर, कार्की सुनसरीमा झरेसँगै गच्छदार जिल्लाभित्रै कमजोर छन् ।

सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा धेरैजसो ग्रामीण भेग पर्छ । यहाँ आर्थिक अवस्था कमजोर र चौधरी समुदायको बाहूल्यता छ । धेरैजसो सर्वसाधारण मजदूरी पेसामा निर्भर छन् । एक लाख २५ हजार ४३२ मतदाता रहेको यो इटहरीको ६ देखि १५ नं. वडा, दुहबीका १ देखि १२ (सबै वडा), बर्जु गाउँपालिकाका सबै वडा, गढी गाउँपालिकाका १ देखि ६ (सबै वडा) इनरुवा नगरपालिकाको ७ नं. वडा समावेश छन् ।

निर्वाचित चौधरी को हुन् ?

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पूर्व वनराज्यमन्त्री समेत हुन् । ०४६ सालको जनआन्दोलनमा सहभागी भएकी उनी ०४८ सालदेखि नेकपा एमालेको सदस्यता लिएकी हुन् । फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थामार्फत महिला तथा विपन्नलाई रोजगारी सृजना गरिरहेकी उनका श्रीमान दिनेश चौधरीको करीब एक दशकअघि सवारी दुर्घटनामा निधन भयो ।

तरपनि अविचलित नभइ निरन्तर पार्टी राजनीतिमा सक्रिय भएकी उनले दशकदेखि हुन नसकेको विकास निर्माणको काम आँफूले पाँच वर्षमै गर्ने बताउँदै आएकी छन् ।

यस्ता छन् एजेन्डा

विभिन्न बुँदागत रूपमा एजेन्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छन् । राजनीतिमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशील बनाउन सक्रिय भएकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना रहेको र त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने उनको एजेन्डा रहेको छ ।

महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छन् । चौधरीले एक गाउँ, एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छन् । पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताउँदै गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले आफ्नो एजेन्डामा प्रस्तुत गरेकी छन् ।
यस्तै, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुकासाथै भूमीहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
साकार हुँदै जित्नैपर्ने दबाब