काठमाडौं । चितवन भरतपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले गरेको निर्णयलाई मध्यनगर गर्दै निर्माण कार्य तत्कालका लागि रोक्ने निर्णय भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मस)ले शनिबार प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको थियो । फाउन्डेसनका अध्यक्ष धुर्मुसले माहोल सहज नहुँदासम्म निर्माण कार्य स्थगित गर्ने बताएका हुन् ।
रंगशालाको मैदानको काम झन्डै ८० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गर्दै कट्टेलले भने, ‘डे«नको सम्पूर्ण काम सकिएको छ । यो साताबाट पिलरका लागि डन्डीको काम गरिरहेका थियौं । तर, यो विश्वमै परेको असरका कारण काम रोक्नुपर्ने अवस्था बनेको छ ।’
सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन आग्रह गरेको छ । रंगशालामा कामदार मात्रै साढे २ सयभन्दा बढी रहेको फाउन्डेसनले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको स्थगित गर्ने बताएको छ । रंगशालामा निर्माणमा दैनिक २ सय ७० जनाभन्दा काममा खटिएको र आउने साताबाट त्यति नै जनशक्ति थप्ने योजना रहे पनि अब तत्कालका लागि भने स्थगित गरेको कट्टेलले जानकारी गराए ।
गत वर्ष भरतपुर नगरपालिकासँग जग्गा सम्झौतामा लिएपछि रंगशालाको निर्माण काम अघि बढेको हो । रंगशाला निर्माणका लागि झन्डै ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।