काठमाडौं । नेपाली फिल्म निर्माता संघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । संघको हालै निर्वाचित कार्यमितिमा दुई जना केन्द्रिय सदस्य चयन गर्दै बुधबार संघलाई संघलाई पूर्णता दिइएको छ ।
निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार निर्माता संघको नयाँ कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँलाई मनोनयन गरिएको छ ।
निर्माता संघको मँगलबार बसेको कार्यसमिति बैठकले यी दुई जना निर्मातालाई कार्यसमितिको केन्द्रिय सदस्यमा मनोनयन गरेको निर्माता संघका अध्यक्ष खड्काले राजधानीलाई जानकारी गराए,‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो ।’ नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना सहित आफुहरु अघि बढ्न लागेको पनि उनले बताए ।
यी दुबै नेपाली चलचित्रका सफल निर्माता भएको र नेपाली चलचित्रको विकाशमा त्यत्तिकै योगदान दिएको हुनाले गिरी र बानियाँलाई चयन गरिएको पनि अध्यक्ष खड्काले बताएका छन् ।
निर्माता दिपकराज गिरीले छक्का पञ्जा सिरिजको फिल्म बनाईरहेका छन् । उनको नयाँ फिल्म छक्का पञ्जा ४ फागुनमा रिलिज हुँदैछ । यस्तै आधा दर्जन चलचित्र निर्माण गरेको रवीन्द्र सिंह बानियाँको नयाँ फिल्म ‘महापुरुष’ यतीबेला प्रदर्शन भईरहेको छ ।
संघका अध्यक्ष खड्काका अनुसार सोही बैठकले निर्माता संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गरेको छ ।
यस्तै निर्माता संघका पूर्व महासचिब रोज राणा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकाले उनलाई कार्यसमितिले बधाई ज्ञापन गरेको पनि अध्यक्ष खड्काले बताएका छन् । यस्तै निर्माता संघका सदस्य एवम् चलचित्र निर्माता मदुकुमार श्रेष्ठ पनि धादिङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकाले उनलाई पनि बधाई ज्ञापन गरिएको खड्काले बताए ।