कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप तीव्र

काठमाडौं । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् ।

यो दौडमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेत ‘आकांक्षी’ देखिएका छन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीचमै हुने अवस्था बढेको छ । कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला भने यो दौडधुपबाट ‘ब्याक’ भइसकेका छन् । उनले मंगलबार सभापति देउवालाई भेटेरै सघाउने यस्तो ‘संकेत’ गरेको बताइन्छ ।

देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा. शेखर कोइराला भने ‘दलको नेता तथा आगामी प्रधानमन्त्री’ विषयमा मौन छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूनिकटका नेतामार्फत दलको नेताका लागि बालुवाटारबाटै ‘लबिङ’ गरिरहेका छन् । उनले केही शीर्षनेतालाई बालुवाटारमै बोलाएरै ‘इच्छा’ देखाएका छन् ।

– बालुवाटारबाटै देउवाको ‘लबिङ’

– गगन ‘डोर टु डोर’ भेटघाटमा

– शशांक ब्याक

प्रवक्ता डा. प्रकाशशरण महतलाई समेत ‘लबिङ’मा खटाइएको छ भने कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि पनि ‘देउवालाई दलको नेता बनाउन मुख खोलेरै’ अघि बढिरहेका छन् ।

दल नेताका लागि महामन्त्री थापाले भने ‘डोर टु डोर’ भेटघाट गरिरहेका छन् । १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई भेटेरै उनले ‘दलको नेताका लागि सहयोग गर्न’ आग्रह गरेका छन् ।

उता, नेता रामचन्द्र पौडेललाई पनि थापाले भेटेरै सहयोगका लागि आग्रह गरिसकेका छन् । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलसँग समेत थापाले भेटघाट गरेका छन् । त्यस्तै, नेता चन्द्र भण्डारीसँग भेटेका थापाले उपसभापति धनराज गुरुङसँग सहयोगका लागि आग्रह गरेका छन् ।

कांग्रेस १४औं महाधिवेशनबाट देउवा सभापति र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन् ।

कांग्रेस विधानमा ‘संसदीय दलको नेता प्रधानमन्त्री हुने’ व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै भएका कारण र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि ‘दलको नेता बन्न’ दौडधुप बढेको हो । दलको नेता आकांक्षी रहेका पौडेल तनहुँ १ र सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् ।

कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सो महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइरालाले ‘मौन बसेर देउवालाई सघाएको’ कांग्रेस वृत्तमा चर्चा छ । सिंह भने ‘पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने’ अवस्था बन्न सक्छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने ‘थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने’मा जोड दिँदै आएका छन् ।

‘निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका’ शर्माले ‘दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने’ सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

महामन्त्री शर्माले केही दिनअघि गृहजिल्लाबाट निर्वाचन सकाएर काठमाडौं पर्किएपछि त्रिभुवन विमानस्थलबाट सिधैं थापा निवास गएर प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित बनेकोमा बधाई दिँदै ‘संसदीय दलको नेता’का लागि शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी