सिन्धुली । मध्ये पहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्डको यात्रा जोखिमपूर्ण भएको छ । सडकका विभिन्न ठाउँमा ठूला ठूला पहिरो र सडकमा परेका खाल्डै खाल्डाका कारण यात्रा नै जोखिमपूर्ण भएको हो ।
वर्षातको समय मात्र हैन हिउँदमा समेत यो खण्डमा सुख्खा पहिरो खस्ने भएकाले यो सडकको यात्रा जोखिमपूर्ण रहेको सवारी चालकहरु बताउँछन । साँघुरो सडक, सडकका विचमा परेका खाल्डै खाल्डा र पहिरोका कारण राजमार्गमा सवारी चलाउन नै जोखिम भएको छ ।
सडकको मर्मतमा समेत ध्यान दिईएको छैन । पहिरो नियन्त्रण हुन सकेको छैन । यो राजमार्गमा गोलञ्जोर गाउँपालिकाको अक्करेभिर र कुँडुलेमा ठूला पहिरो छन । खाङसाङको कुहिरेभिर पनि उत्तिकै जोखिमपूर्ण पहिरो हो । यी बाहेक अन्य दर्जनौं स्थानमा पहिरो नै पहिरो छन ।
पहिरोका कारण साँघुरो सडक झनै साँघुरो भएको छ । सडकका गन्नै नसकिने गरि सवारी साधनले छल्नै नसक्ने खाल्डा खुल्डी छन । हिउँद लागिसक्दा समेत सडकको मर्मतमा ध्यान पुगेको देखिदैन । यो सडक खण्ड ६० किलोमिटर रहेको छ । पूवी पहाडको गन्तव्य मार्ग र राष्ट्रिय गौरवको आयोजनाको विजोग हुदा समेत सम्बन्धित निकायले मर्मत तथा पहिरो निर्माणमा ध्यान दिन सकेको छैन ।