काठमाडाैंमा फेरि मेलम्ची पानी


काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची खोलाबाट ल्याइएको पानी आधा वर्षपछि फेरि उपत्यकाबासीका धारासम्म पुगेको छ । पछिल्लोपटक २०७७ चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु गरिएको थियो । तर, १ असार २०७८ मा मेलम्ची नदीमा आएको बाढीपहिरोले संरचनामै क्षति पु-याएपछि खानेपानी खानेपानी वितरण बन्द गरिएको थियो ।

यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी रूपमा बनाइएको संरचनामार्फत ११ वैशाख २०७९ मा पुनः पानी वितरण थालियो । तर, दुई महिना नबित्दै ‘बाढीबाट सुरुङ जोगाउन’ भन्दै पुनः पानी वितरण बन्द गरियो ।

आयोजनाले वर्षा सकिएपछि केही ढिला गरी गत १२ मंसिरमा मेलम्ची पानी सुरुङमा प्रवेश गराएको हो । शुक्रबारदेखि भने काठमाडौं उपत्यकाका धारामा वितरण सुरु गरिएको छ ।

करिब ६५ अर्ब खर्चेर झन्डै तीन दशकपछि निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट अहिले अस्थायी रूपमा पानी वितरण गरिएको छ । २०७८ साल असारको बाढीपहिराले ‘हेडवक्र्स’ ध्वस्त पारेपछि दीर्घकालीन रूपमा आयोजना ‘कसरी अघि बढ्छ ?’ भन्नेमा अझै टुंगो लाग्न सकेको छैन ।

उपत्यकाको पानी वितरण जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीका पाइप संरचना मर्मत गर्दै एक साताभित्र वितरण गरिसक्ने दाबी गरेको छ ।

केयुकेएलले ‘अहिले आंशिक रूपमा मात्रै मेलम्ची आयोजनाबाट खानेपानी आएको’ बताउँदै सोही अनुरुप वितरण गरिएको जनाएको छ । ‘१७ करोड लिटर पूरा उपलब्ध भएपश्चात् पानी वितरण समयतालिका सार्वजनिक गरिने अनुरोध गर्दछौं,’ आयोजनाद्वारा जारी सूचनामा भनिएको छ, ‘अहिले पुरानो पाइपलाइन सञ्जालबाट वितरण हुनेहुँदा चुहावट भएको देखिएमा कार्यालयमा जानकारी गराई सहयोग गरी दिनुहुन अनुरोध छ ।’

यसअघि, १५ चैत २०७७ बाट मेलम्ची पानी वितरण सुरु गरिए पनि चैत तेस्रो साताबाट मात्रै त्यसले रुप लिएको थियो । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइन सफल परीक्षणपछि काठमाडौंबासीका धारासम्म मेलम्ची पानी पु¥याइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने खानेपानी कार्यक्रम उद्घाटन गरेकी थिइन्् । २२ फागुन २०७७ मा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो ।

परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोक मेलम्ची आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुग्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फ्लसिङ टनेल हाइड्रो मेकानिकल गेट’को बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजल खसेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ को मध्यावधि चुनावमा ‘काठमाडौंको सडक मेलम्ची पानीले पखालिदिने बाचा गरे’पछि यसको परिकल्पना अघि बढेको थियो ।

मेलम्ची आयोजनाको सुरु २०५८/५९ मै भएको थियो । आयोजना सुरु गर्दा २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणमा ढिलासुस्ती, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, कोरोनालगायत कारण निर्माण अवधि पटकपटक थपिन पुगेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जलविद्युत्मा लगानी गर्न विपन्न नागरिकलाई ५ लाख रुपैयाँ बिनाधितो कर्जा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको लक्ष्मीनियामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी