इटहरी । सुनसरीमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार साँझ ६ः१० बजतिर सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहास्थित पकली–चतरा सडकखण्डमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार कालाबञ्जारबाट नडाहातर्फ आँउदै गरेको प्र। १–०२–०४३ प १७१ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट जाँदै गरेको को ३८ प ९२१० नम्बरको मोटरसाइकल र को १७ प ६९४४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा को १७ प ६९४४ नम्बरका मोटरसाइकल चालक मोरङ बेलबारी २ बस्ने ३५ वर्षीय हर्कबहादुर राईको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, चारजना गम्भीर घाइते भएका छन् ।
घाइतेहरूमा बराहक्षेत्र १ बस्ने अन्दाजी ३३ वर्षीय रञ्जित कार्की, बराहक्षेत्र १ बस्ने ३५ वर्षीय सुवास श्रेष्ठ, सुन्दरहरैँचा नगरपालिका २ बस्ने ३८ वर्षीय हेमचन्द्र गुरागाईँ र गुरागाईँकी श्रीमती २६ वर्षीया इन्दिरा गुरागाईँ रहेका छन् । उनीहरूको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।