हिटी प्रणाली र खानेपानी व्यवस्थापन

काठमाडौं उपत्यकामा लिच्छवीकालीन समयमै खानेपानीको उचित व्यवस्थापन गरिएको पाइन्छ । थोरै जनसंख्या भएको तत्कालीन समयमा स्वच्छ खानेपानी प्रवद्र्धन गरी समस्याको समाधान गर्न सक्षम भएको देखिन्छ । राजा मानदेवको समय सन् ४५९ देखि ५०५ सम्मको अवधिमै ढुंगेधारालगायतका धारा व्यवस्थापन गरेको पाइन्छ । त्यतिबेला आफ्नो धर्म–कीर्ति राख्न, पुण्य कमाउन राजा महाराजादेखि साहु, महाजन तथा सर्वसाधारण मानिस सार्वजनिक स्थान मन्दिर, बाटो, खुला ठाउँको उपयुक्त स्थानमा धारा राख्ने चलन थियो । त्यतिबेलाका हिटी (धारा) आफंै जीवन्त रहन सक्ने अवस्था थिएन, हिटी (धारा)लाई जीवन्तता दिन पानीको मुहानबाट धारासम्म पानी आउने कुलोहरूको छुट्टै प्रबन्ध गरिएको पाइन्छ । ती कुलोहरूमा पृथक किसिमको पानीलाई स्वच्छ बनाउने प्रविधिको उपयोग गरेको पाइन्छ ।

कतिपय हिटी (धारा)को नजिकै पोखरीको बन्दोबस्त गरिएको हुन्छ र सोही पोखरी नै धाराका निम्ति पानीको स्रोत हुने गरेको पाइन्छ । काठमाडौं उपत्यकाका अधिकांश धारा लिच्छवीकालमै निर्माण भएको पाइन्छ भने भूमिगत रूपमा पानीको वितरण व्यवस्थापन गर्ने प्रणाली पनि लिच्छवीकालबाट भएको हो त्यसमा मल्लकालमा पुनर्वल प्रदान गरेको पाइन्छ । परम्परागत रूपमा पानी आवश्यकता पूर्ति गर्न हिटी (धारा), टु (इनार), जरुंहिटी (टुटे धारा), पुखु पोखरी, तःध (राजकुलो), बोंङा (कुवा), नाली आदिबाट गरिन्थ्यो ।

नेपालमा पाइप प्रणालीको धाराका सुरुबाट गर्ने श्रेय राणा प्रधानमन्त्री वीरशमशेर राणालाई जान्छ उनले सन् १८९१ बाटै पाइप प्रणालीको धारा जडान गर्ने योजना सुरु गरेका थिए भने सन् १८९५ उनले ‘वीरधारा’ नाउ राखी धारा व्यवस्थापन गरेका थिए । यो नै नेपालको पाइप प्रणालीबाट खानेपानी वितरण गरेको पहिलो इतिहास हो । त्यसपछि नेपालमा अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय सहयोगमा सबैभन्दा पहिला सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको स्थापना गरेका थिए । सो पानी प्रशोधन केन्द्रमा पानीलाई थिग्रियाउने, माटो–बालुवा फिल्टर, क्लारिनेसनसमेत गर्ने व्यवस्था सो पानी प्रशोधन केन्द्रमा प्रबन्ध गरिएको थियो । पछि त्यस्तै गरी फर्पिङ, नागार्जुन, बालाजुलगायतमा पनि पानी प्रशोधन गर्ने काम गरेका थिए ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय सहयोगमा सबैभन्दा पहिला सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको स्थापना गरेका थिए

राजा र जनताको सक्रियतामा २००७ सालमा १ सय ४ वर्षे राणा शासनको पतनपछि २०१३ सालबाट योजनाबद्ध विकास कार्य भए त्यसपछिका पञ्चवर्षीय योजनाबाट देशमा क्रमशः खानेपानी सेवा प्रवद्र्धन कार्य अघिबढेको देखिन्छ । पहिलो पञ्चवर्षीय योजनाअन्तर्गत सन् १९५७ मा सुन्दरीजन पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो । चौथो पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा नेपालको ७.५ प्रतिशत जनता पाइप प्रणालीको खानेपानीको पहुँचमा पुगेका थिए । कृषिका निम्ति सिँचाइ प्रणाली विकासका साथ साथै सहरी क्षेत्रमा ढल प्रणालीको सुरुबाट समेत गरियो ।

वैदेशिक सहायता तथा ऋणसमेत लिई देशका सुदूरपश्चिम क्षेत्रका जिल्लामा समेत खानेपानी वितरण योजना लगि छैठौं पञ्चवर्षीय योजना अवधिको अन्त्यसम्ममा ३७ प्रतिशत जनता खानेपानीको पहु“चमा पुगेका थिए । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यपछि सन् १९९२ देखि आठौं पञ्चवर्षीय योजनाको प्रारम्भ भयो । खानेपानी तथा सरसफाइ क्षेत्रमा पनि नया“ कोसे ढुंगा साबित हुने खालका योजना निर्माणमा लागेको देखिन्छ । सन् १९९१ देखि सन् २००० सम्मको दशकलाई खानेपानी वितरण तथा सरसफाइ क्षेत्रमा पुनरावलोकन तथा विकास योजन गर्ने अवधिका रूपमा लिने घोषणा गरियो । यसै अवधिभित्र ७२ प्रतिशत जनसंख्यालाई खानेपानी सेवा उपलब्ध गराउने र आगामी १० वर्षभित्र सम्पूर्ण जनसंख्यामा खानेपानीको सेवा पु¥याउने लक्ष्य लिइयो । स्थानीय सीप र प्रविधिको सम्मान गर्दै सोको उपयोग गरी अधिकतम स्थानीय स्रोतसाधन प्रयोग गरी न्यूनतम १० प्रतिशत लागतमा योगदान गरी योजना चलाउने नीति लिन थालियो ।

जन सचेतनाको वृद्धि गरी सहरी तथा ग्रामीण दुवै क्षेत्रमा उपयुक्त सरसफाइ सुविधा प्रदान गरी आधारभूत रूपमा खानेपानी उपलब्ध गराउन केन्द्रित हुने लक्ष्य थियो । खानेपानीबाट हुने विभिन्न रोगको नियन्त्रण गरी बाल मृत्युदरमा कमी ल्याउने, सहरी खानेपानी वितरण प्रणाली तथा सुविधामा निजी क्षेत्रको सहभागितामा व्यवस्थापनलाई सुधार गर्ने नीति योजनामा समावेश हुन थाले । ढल प्रणालीको विकास सँगसँगै खानेपानी प्रशोधन सुविधासहित शुद्ध खानेपानी प्रदान गरी विकासका पूर्वाधार सामाजिक रूपमा समावेशीकरण स्वस्थ वातावरणको सुनिश्चित गर्ने लक्ष्य लिन थालियो । सम्पन्न खानेपानी योजनाको सञ्चालन, मर्मतसम्भारसहित योजना निर्माण, योजना लागू गर्न, व्यवस्थापनसमेत गर्न स्थानीय समुदायको सहभागिता वृद्धि गर्ने रणनीति लिइएको थियो ।

गुणस्तरीय खानेपानी र सरसफाइ सेवाको पहुँच पु-याउने, सुख्खा क्षेत्रमा खानेपानी पु-याउन वर्षाको पानी संकलन, सौर्य र विद्युतीय पम्प र हाइड्रोलिक -याम्पजस्ता वैकल्पिक प्रविधिको प्रवद्र्धन गर्ने, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमलाई विभिन्न क्षेत्रको कार्यक्रममा समाहित गराउने, खानेपानी तथा सरसफाइ योजनामा स्थानीय स्रोतसाधन प्रयोग गरी वातावरणमैत्री बनाउने रणनीति लिइएको थियो । सबैलाई आधारभूत तहको खानेपानी र सरसफाइ सुविधा पु-याउने, मध्यम र उच्चस्तरको खानेपानी र सरसफाइ सुविधा बढाउने कुरामा प्राथमिकता दिने लक्ष्य योजनाको छ । जसका लागि आधारभूत खानेपानी सेवाको बन्दोबस्त गर्ने, खानेपानीको गुणस्तर वृद्धि गर्नेजस्ता कार्यक्रम तथा रणनीति लिन थालेको पाइन्छ ।

मौसम परिवर्तन, बढ्दो खानेपानीको अभाव, जनसंख्या वृद्धि, जनसांख्यिकीय परिवर्तन र सहरीकरणजस्ता समस्या खानेपानी वितरणका विद्यमान समस्या नै हुन्

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन सन् २०१७ अनुसार विश्वमा करिब ८ अर्ब जनसंख्यामध्ये ५ अर्ब ३० करोड मानिसले सुरक्षित तथा व्यवस्थित खानेपानी उपभोग गर्छन् । जुन पानी कुनै पनि किसिमको हानिकारक चिजबाट सुरक्षित रहेको र आफू बसेको ठाउँमा सहजै उपलब्ध भएको अवस्था छ भने विश्वका ९० प्रतिशत करिब ६ अर्ब ८० करोड जनतालाई आधारभूतस्तरको खानेपानी उपलब्ध छन् । आधारभूत स्तर भन्नाले पानीको भाडा लिएर जाने, पानी भर्न लाइन बस्ने, पानी भर्ने र पानी भरी घर पुग्न बढीमा ३० मिनेटसम्म समय लाग्ने भनी बुझ्नुपर्छ । संसारका १४ करोड ४० लाख मानिस सतहको पानीमा आश्रित रहेको छ भने ६४ करोड १० लाख जनतालाई आधारभूतस्तरको पनि खानेपानी सेवा उपलब्ध छैन भने २ अर्ब जनताले त मानव मलमूत्रलगायत फोहोर मिश्रित पानी खान बाध्य अवस्था छ । यस्ता फोहोर मिसिएको पानीका कारण झाडापखाला, आउँ, हैजा, विषमज्वरो, पोलियोजस्ता अनेक रोग लाग्ने गर्छ । विश्वमा प्रत्येक वर्ष यस्तो फोहोर मिसिएको पानीको सेवनका कारण झाडापखाला भएर मात्र ४ लाख ८५ हजार मानिसको मृत्यु भइरहेको छ । विश्वका पिछडिएका मुलुकमा २२ प्रतिशत स्वास्थ्य सेवामा पानीको अभाव, २१ प्रतिशत सरसफाइको अव्यवस्था, २२ प्रतिशतमा फोहोरमैला व्यवस्थापन सेवाको अभाव रहेको पाइन्छ ।

मौसम परिवर्तन, बढ्दो खानेपानीको अभाव, जनसंख्या वृद्धि, जनसांख्यिकीय परिवर्तन र सहरीकरणजस्ता समस्या खानेपानी वितरणका विद्यमान समस्या नै हुन् । विश्व स्वास्थ्य संगठनले यही हिसाबले अगाडि बढ्ने हो भने सन् २०२५ सम्ममा विश्वका आधा जनसंख्या पानीको समस्याबाट पीडित हुनेछन् भनेका छन् ।

राज्य पुनःसंरचना पनि राजनीतिक तथा प्रशासनिक रूपमा नेपाललाई ७७ जिल्लामा वर्गीकरण गरिएको छ । हाल देशभरमा ८७.८८ प्रतिशत घरधुरीमा आधारभूतस्तरको खानेपानी प्रदान गर्ने प्रणालीको पहुँचमा भएको देखिन्छ । जसमा पाइप प्रणालीको धाराबाट पानी खाने, ट्युबेलबाट पानी खाने, सुरक्षित मुहान तथा इनारबाट पानी खाने र वर्षातको पानी संकलन गरी पानी खाने घरधुरीलाई यस तथ्यांकमा समावेश गरिएको छ । नेपालका करिब ५१.६९ प्रतिशत घरधुरीले पाइप प्रणालीबाट वितरित खानेपानी सेवा उपभोग गरिरहेका छन् । ३३.३८ प्रतिशत घरधुरी स्यालो तथा डिप ट्युबवेलबाट प्राप्त खानेपानीमा आश्रित रहेको देखिन्छ ।

यसैगरी करिब २.७ प्रतिशत घरधुरी केही न केही रूपमा सुधार गरी सुरक्षित बनाइएका प्राकृतिक मुहानबाट प्राप्त खानेपानी प्रयोग गरिरहेका छन् । यसबाहेक सानो हिस्सा भए पनि आकासेपानी संकलन गरी खानेपानीका रूपमा प्रयोग गर्ने घरधुरी पनि नेपालमा छन् । प्राप्त तथ्यांकका आधारमा यस्ता घरधुरीको हिस्सा करिब ०.११ प्रतिशत रहेको छ । यसप्रकार नेपालका करिब १२.१२ प्रतिशत घरधुरी आधारभूतस्तरको खानेपानी प्रणालीको पहुँचबाहिर रहेको देखिन्छ ।
(लेखक आदर्श आजाद कलेजका प्राध्यापक हुन्)

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा