४० दलले गुमाए धरौटी

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभातर्फ २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३५ उम्मेदवारी परेकोमा दुवैतर्फ गरी ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको जनाएको हो ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवार १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ ।

आयोगका अनुसार प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २ सय ३७ महिला र एक अन्य गरी कुल २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ । यो संख्या कुल उम्मेदवारको ७६ प्रतिशतभन्दा बढी हो ।

आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ गरी ४ हजार २ सय ८५ उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए । निर्वाचन कानुनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत पाउन नसक्ने उम्मेदवारको धरौटी जफत हुन्छ ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि प्रतिनिधिसभामा ४० दलको धरौटी जफत भएको छ । कुनै राजनीतिक दलले कम्तीमा १ सिट प्राप्त नगरेमा र ३ प्रतिशत ‘थ्रेस होल्ड’ नकटाएमा त्यस्तो दलले राखेको धरौटी जफत हुने कानुनी व्यवस्थाबमोजिम प्रतिनिधिसभातर्फ बन्दसूची पेस गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभातर्फ ७ दलले मात्र धरौटी जोगाउन सफल भएका छन्् । ती दलबाटै प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फ प्रतिनिधित्व भएका छन्् ।

त्यस्तै, प्रदेशसभातर्फ प्रदेश (१)मा ३०, मधेस प्रदेशमा २६, बाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ दलको धरौटी जफत भएको छ ।

प्रदेशसभा निर्वाचनतर्फ प्रदेश (१) मा ६ दलले मात्रै ‘राष्ट्रिय दल’को मान्यता पाएका छन्् । मधेस प्रदेशमा १०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ दल ‘थ्रेस होल्ड’ कटाएर ‘राष्ट्रिय दल’ बनेका हुन् । उनीहरूको भने धरौती सुरक्षित भएको छ ।

प्रदेशसभामा खसेको मतको सदर मतमा १ दशमलव ५० प्रतिशत मत पाउने दलले मात्र ‘राष्ट्रिय दल’को मान्यता पाउने व्यवस्था थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १० हजार रुपैयाँ र समानुपातिकतर्फ बन्द सूची पेस गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै, प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले ५ हजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभामा ९१ महिला
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनबाट १ सय ८४ पुरुष र ९१ महिला गरी २ सय ७५ जना निर्वाचित भएको जनाएको छ । आयोगले बुधबार प्रतिनिधि तथा प्रदेशसभातर्फ घोषणा गरेको अन्तिम मतपरिणामअनुसार प्रदेशसभातर्फ सातै प्रदेशमा गरी प्रत्यक्ष ३ सय ३० र समानुपातिकतर्फबाट २ सय २० गरी ५ सय ५० प्रदेशसभा सदस्य पनि निर्वाचित भएका छन्् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमार्फत प्रतिनिधिसभामा पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फ गरी ६६ दशमलव ९० प्रतिशत पुरुष निर्वाचत हुँदा ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् ।

आज राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइँदै
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ । आयोग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा निर्वाचनतर्फको परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरिने जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आगामी २ पुसमा प्रदेश प्रमुखलाई बुझाइनेछ ।

प्रतिनिधिसभाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभातर्फको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएपछि सबै सदस्यको नाम राजपत्रमा प्रकाशित गरिनेछ ।

प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत धेरै
आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय कार्यालय कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिनिधिसभामा २ सय ७५ तथा प्रदेशसभामा सातै प्रदेशमा गरी ५ सय ५० सदस्य निर्वाचित भएको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५ दशमलव ६ र समानुपातिकमा ५ दशमलव ९ प्रतिशत मत बदर भएको छ । त्यस्तै, प्रदेशमा प्रत्यक्षमा ४ दशमलव ७ र समानुपातिकमा ६ दशमलव ५५ प्रतिशत मत बदर भएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५ दशमलव ६ प्रतिशत मत बदर भएको जानकारी दिए । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये १ करोड ४ लाख ७ हजार ९५ मत सदर भएको हो ।

यसैगरी, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ (६१ दशमलव ५ प्रतिशत) मतदान भएको छ । त्यसमध्ये १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको आयोगले जनाएको छ । समानुपातिकतर्फ ५ दशमलव ९ प्रतिशत मत बदर भएको हो ।

त्यस्तै, प्रदेशसभा प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५ सय (६१ दशमलब ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको छ । त्यसमध्ये ४ दशमलव ७ प्रतिशत मत बदर भएको छ ।

प्रदेशसभासभा समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३ सय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको आयोगले जनाएको छ । समानुपातिकतर्फ ६ दशमलव ५५ प्रतिशत मत बदर भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित