दक्षिणकाली नगरपालिका–९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र ३८ वर्षीय श्रीमती लक्ष्मी आफ्नै कोठामा मृत अवस्थामा फेला परे भने उनका १३ वर्षीय छोरा र छोरी समेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगियो । त्यस्तै, अछामको राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय रोशनी तिरुवा बिहान घर छेवैको छाउगोठमा मृत फेला परेकी थिइन् । यस वर्ष पनि कोठा न्यानो बनाउन खोज्दा तथा बाथरुममा गिजरको तातो पानीले नुहाउन खोज्दा निस्सासिएर १ दर्जन बढीले मृत्युवरण गरिसकेका छन् भने रोगी हुने र जटिलता हुनेको तथ्यांक नै छैन ।
चिसोले झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याएकाले अस्पतालमा भीड छ ।
मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पारेकाले उनीहरूकै भीड बढी छ । मौसम भोजभतेरको भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्रिाइटिस, झाडा, बान्ता, पखाला हुने र जन्डिस, टाइफाइड आदिको समस्या पनि प्रशस्त पाइन्छ ।
जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगहरू बढी गम्भीर बन्छन् । चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुने वा रक्तनली खुम्चने तब रक्तसञ्चार कमी भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परिश्रमले मुटुमा असर परी हृदयाघातको सम्भावना बढाउँछ । त्यस्तै, रक्तप्रवाहको कमीले स्ट्रोक, मांशपेसी र जोर्नीको पीडा, स्वासनली खुम्ची दम, निमोनिया ६० बर्ष बढी उमेरमा हाड खिइने, एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने, निलो हुने गर्दछ ।
सामान्य रक्तचाप भएकामा बढ्ने, नियन्त्रणमा रहेकोमा अनियन्त्रित हुने र पहिलेदेखि नै अनियन्त्रित भएकोमा अचानक बढेर आकस्मिक उपचारमा जाने गर्छन् । जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्न सक्छ, सेतो, रातो र प्लेटलेटको संख्यामा १० प्रतिशत जति वृद्धि हुन्छ । रगतको गाढापनामा २० प्रतिशत बढ्छ । तसर्थ प्रत्येक व्यक्तिमा रगत जम्ने सम्भावना गर्मीको तुलनामा बढी हुन्छ ।
अत्यधिक चिसो र शीतलहरका कारण शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई शीतांग भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम भए जिउ काम्न बन्द हुन्छ, सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम भए बिरामी हिड्न सक्दैन, शरीरका सबै अंगले काम गर्न छाड्छन् र मृत्यु हुन्छ ।
जाडो बढेसँगै जताततै आगो तापिरहेको देखिन्छ । आगो ताप्न के टायर, प्लास्टिक के सडक किनारमा थुपारिएका फोहर सबै बालेर आगो तापेको देखिन्छ, जसले तत्काल त न्यानो हुन्छ । तर, उत्पन्न धुवाले स्वास्थ्यमा तत्कालै तथा वातावरणमा दीर्घकालीन नकारात्मक असर गर्छ । उपत्यकाको हावामा एक दिन पहिले भएको प्रदूषणमा जाडो बढेर आगा ताप्नासाथ २ गुणा बढ्छ । कचौरा आकारको काठमाडौंबाट धुवा हतपत बाहिर जान पाउँदैन । त्यसैमा प्लास्टिक, टायर बाल्दा कार्बनमोनोअक्साईड, प्युरेन, डाइअक्सनले क्यान्सरसम्म गराउन सक्छ ।
वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, कान घाँटी र श्वासप्रस्वासमा असर र दीर्घकालमा मुटु, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन क्षमतामा ह्रास गराउँछ । जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् ।
जाडोमा बिजुली, कोइला, दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सुध्न र महसुस गर्न सकिँदैन । त्यो कार्बनमोनोअक्साइड हो जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा भनिन्छ । सीओ ग्यास सामान्यतः सहीरूपले बल्न नसकेको स्टोभ, हिटिङ सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा पाइन्छ । ग्यास गिजरमा पानी ताती रहँदा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरूममा झ्याल र भेन्टिलेसन राम्रो नभए गिजर प्रयोग हँुदा ग्यास भुँईमा बस्छ र अक्सिजन कम भएर सीओ ग्यासको निर्माण हुन्छ तब निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ ।
सीओको सामान्य सम्पर्कमा आउँदा सुरुमा हल्का टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिगटा, थकान, वाकवाकी, चिटचिट हुनेगर्छ । निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । कहिलेकाहीं बिना कुनै लक्षण त प्रायः लक्षण पछि बेहोसी हुन्छन् । ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ टयाब्लेट खाएझै लठ्ठ पर्छन् र अन्तत तिनको मृत्यु हुन्छ ।
सीओ ग्यास शरीरमा अक्सिजन पु¥याउने रातो रक्तकोषमा असर पार्छ, अक्सिजन परिवहन प्रणालीमा प्रभावित पार्छ र अक्सिजन नपाउनाले शरीरका कोषहरू मर्न थाल्छन् र कार्बनडाइअक्साइडभन्दा बढी खतरनाक हुन्छ । टाउको दुःखेको दुख्यै गर्नु, सोच्ने क्षमतामा असर हुनु, सास फेर्न असजिलो हुनु हडबडाउन थाल्नु, आँखा र हातको तालमेल हुन छाड्नु, मुटुको चाल बढ्नु, शरीरको तापक्रम कम हुनु, पेटमा समस्या उत्पन्न हुनु, रक्तचापमा कमी हुनु कार्बनमोनोअक्साईड विषाक्ततताको लक्षणहरू हुन् । विषाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी हुन्छ ।
गर्मीभन्दा जाडोमा आगोले पोलिएका बिरामीहरू बढी आउछन् । वर्षभर ६ सय यस्ता बिरामी हेर्ने एक अस्पतालले जनवरीमा मात्रै १ सय बढी हेर्ने गरेको तथ्यांक छ । जलेका छाला निर्माण गर्न चाहिने छाला, छालादान संस्कृति नेपालमा नभएकाले भारतबाट आयात गर्दा कम्तीमा २ लाख पर्ने गरेको छ । ६० वर्ष नाघेका वृद्धवृद्धामा शरीरको २० प्रतिशत जल्दा पनि मेजर बर्न मानिन्छ । तसर्थ ज्येष्ठ नागरिकले आगो ताप्दा एकदम नजिकबाट नताप्ने, आगो ताप्दा साडीजस्तो फैलिएको लुगाभन्दा अलि कसिलो लुगा लगाउनपुर्छ ।
हिटर वा अन्य कुरा बाल्दा त्यसको नजिकै पानी राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउनु हुँदैन । दाउरा, गुइँठा र ब्रिकेट बाली कोठा तताउँदा, न्यानो पार्दा भ्mयाल ढोका खुला राख्नुपर्छ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर बाहिरै राखी उपयोग गर्दा झयाल वा भेन्टिलेसन खुलै राख्नुपर्छ । भेन्टिलेसन ठूला र खुला हुनुपर्छ । कोठा र शरीर तातो बनाउँदै गर्दा टाउको दुख्ने तथा उल्टी होला जस्तो हुनासाथ उपकरण बन्द गरी भ्mयालढोका खोलिहाल्नुपर्छ, ताजा हावामा निस्केर सास फेर्नुपर्छ ।
सिलिन्डर तथा केरोसिन हिटरभन्दा इलेक्ट्रिक हिटर उपयुक्त छ तर एकदम सुक्खा बनाउने भएकाले नजिकै पानीको भाडो राख्नुपर्छ । कोठामा हिटर, कोइला वा मकल बाल्दा हावा ओहरदोहर गर्न दिनुपर्छ । राति सुत्दा हिटर बन्द गर्ने, ग्यास लिक भएको जस्तो लागे अँध्यारोमा पनि बत्तीको स्विच अन गर्न हुँदैन, ’cause बत्तीको झिल्काले ग्यासमा लाइटरको काम गर्न सक्छ । सुरुमा भ्mयाल ढोका खोल्नुपर्छ । पानी हालेर वा कपडा पानीमा भिजाएर रेगुलेटरको ठाउँमा चेक गर्दा फोकाफोकी आए लिक भएको बुझ्नपर्छ । ग्यास गिजरबाट सिधै नुहाउँदा हातमा पानी थापेर चेक गरेर मात्र नुहाउनपर्छ । व्यक्ति बेहोसी देखिए तुरुन्त अस्पतालमा लग्नुपर्छ ।