नांगो खुकुरी, ढाल, तरबार नचाउँदै साहसी महिला

खप्तडछान्ना गाउँपालिका–४ की चाखुडी देवी रोकाया अहिले ९६ वर्षको पुग्नु भयो । उनको उमेर सानो हुँदा गाउँमा धेरै भस्सो खेल्ने गर्थे । वर्षको एकपटक गाउँका दाजुभाइ भुवाखाँडामा (भस्सो खेल्ने ठाउँ) जम्मा हुने र घरका एकएक जना पुरुष सहभागी बनेर भस्सो खेल्ने परम्परा थियो । महिला भने गाउँबाट पुरुष भस्सो खेल्दै छिमेकी गाउँ वा गाउँबाट बाहिर निस्किसकेपछि मात्रै गाउँका महिला भुवाखाडामा जम्मा भएर चाँभाई, डेउडा खेल लगाएर महिला पनि रमाइलो गर्थे । रोकायालाई अहिले पनि ती दिनको सम्झना ताजै छ । उनी भन्छिन् ‘हामी सानो हुँदा बुबा, दाजुभाइ सँगै भस्सो खेलमा लाग्ने मन हुन्थ्यो । गाउँका बुढापाका र आमा, दिदीले छोरी मान्छेले भस्सो खेल्न हँुदैन । देउता रिसाउँछन् । राम्रो हँुदैन । भन्दै काखमा लिनुहुन्थ्यो ।

पुरुषहरूले भस्सो खेलेको पनि खुलेर हेर्न पाइँदैन थियो । उनले आफ्नी आमालाई सम्झँदै भनिन् । महिला निकै टाढाबाट मात्रै भस्सो हेर्ने गर्थे । ढोका लगाएर, घरको झ्याल, रूखको छिनारबाट, झ्याङबाट लुकेर हेर्ने परम्परा थियो । खुलेर समाजको अघि जान पनि डर लाग्ने । म पनि समाजको अघि खुलेर जान लाज मान्थे । यसरी पुरुषसँगै भस्सो खेल्नु त परको कुरा हो । तर, अहिलेका महिला त पुरुषसँगै भस्सो खेल्नुहुन्छ । महिला पुरुषमा कुनै पनि भिन्नता छैन । कलियुग हो बाबु । उनले आफ्नो पालामा महिला पशुसरह भएर बस्नुपरेको सम्झना गरिन् । तर, अहिलेका महिला हामीभन्दा कति भाग्यमानी छन् । खुलेर कुरा गर्छन् । समाजले पनि महिलालाई नै अगुवा बनाउँछ । पहिलाभन्दा धेरै राम्रो भएको र आफ्नो पालामा यस्तो कुराको कल्पनासम्म पनि नगरेको उनले बताइन् ।

उनी मात्रै होइनन् । बुढापाका महिला युवायुवतीले भस्सो खेलेको देख्दा, नांगो खुकुरी, तरबारसँगै ढाललाई नचाएको देख्दा अचम्मित छन् । जिल्लाका अन्य महिलाले अहिले पनि पुरुषसँगै गाउँगाउँ पुगेर भस्सो खेलेको देखिँदैन । खेल्ने आँट पनि गरेका छैनन् । तर, खप्तडछान्ना गाउँपालिका–४ बाँसकाँटियाका महिला भने साहसीका साथ पुरुषसँगै भस्सो खेल्न गाउँगाउँ पुगेकी छन् । भस्सो खेल्न गाउँ पुगेकी ऐस्वर्य आधारभूत विद्यालयकी प्राध्यानाध्यापक बासमती खत्रीले भनिन्, ‘महिला पुरुषबराबर भने पनि समाजमा खुलेर महिला बोल्न नसक्ने परिपाटी अझ पनि दूरदराजदेखि सहर बजारमा छ । यसको अन्त्य गर्न यहाँका महिला एकजुट भएको र यसमा पुरुषले पनि साथ दिएको बताइन् ।

अहिलेसम्म इतिहासमा कुनै पनि महिलाले यसरी आफ्नो मौलिक लुगासहित भस्सो खेलेको मैले सुनेकी छैन । अहिले पनि महिलाले चुलोचौको र मेलापातमा मात्रै सीमित हुनुपरेको छ । समाजको हरेक निर्णय पुरुषले मात्रै गर्नुपर्छ भन्ने छैन । जतिको पुरुषको अधिकार समाज परिवर्तन गर्नमा छ । त्योभन्दा बढी जिम्मेवारी र महत्व महिलाको रहेको र संस्कृतिको जगेर्ना महिलाबाट मात्रै सम्भव रहेकाले पनि आपूmहरू अघि सरेको बताइन् ।

उसो त उनीसँगै भस्सो खेल्न गाउँभन्दा टाढा कालुखेती पुगेकी ५२ वर्षीया धनलक्ष्मी खत्रीले सुरुमा ढाल तरबार कहिले पनि नसमातेको तर सुरुमा अलि गाह्रो परेको भए पनि दुई÷तीन दिन लगातार समात्दै खेल्दै जाँदा अहिले भने सहज भएको बताइन् । भस्सोमा खेलिने चाली भने अलिअलि मात्रै आपूmलाई आएको र यसरी खेल्दै जाँदा राम्रोसँग सिक्न सकिने बताइन् । उनीजस्तै समाजले के भन्छ भन्ने होइन आपूmहरूले कसरी परिवर्तन हुने पहिला आपूmहरूबाट नै सुरु गरे मात्रै समाज परिवर्तन हुने सरस्वतीदेवी रोकायाको बुझाइ छ ।

जिल्लाका अन्य ठाउँमा यस पर्वको जगेर्ना गर्न खासै पहल नभएको भए पनि यहाँका युवादेखि महिलामा एकरूपता आएर भस्सोको जगेर्ना र यो पर्वको पुस्तान्तरण गर्ने उद्देश्यले यो भस्सोको आयोजना गरेको समाजसेवी पुष्पराज रोकायाले बताए । महिलाहरू सहभागी भएपछि सबै गाउँका दाजुभाइ पनि अचम्मित छन् । धेरैजस्तो यस कार्यको प्रशंसा गरेको उनले बताए । गाउँगाउँमा भस्सो खेलेर अहिलेसम्म झन्डै १ लाखभन्दा बढी आर्थिक संकलन भएको र सो आर्थिक गाउँनजिकै रहेको महालिंग देउताको आधुनिक मन्दिर निर्माणमा लगाइने रोकायाले बताए ।

युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्ने गर्छन् । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डव वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहा“ विकास निमार्णका काम गर्न स्थानीयको सहभागिता जुटाएको र विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथा पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । भुवाको विशेष आकषर्णका रूपमा चाली नाच, ठाडो भस्सो भारी खेलजस्ता नाच र गायन पर्छन् ।

हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भुवा खेला सुदूरपश्चिममा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ । ढाल तरवारसहित नाचिने भुवा पर्व बझाङका केही स्थानमा समेत भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पौष औंसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्छ । यस पर्वमा महिलाले नै ढाल तरबार र खुकुरी नचाएको देखेपछि धेरैजस्तो व्यक्तिले साहसी महिलाको दर्जा दिएका छन् । जिल्लाका १२ वटा पालिकाका ३० भन्दा बढी गाउँमा यो पर्व मनाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गृह जिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद