साविक विजेता एपीएफ सेमिफाइनलमा

पोखरा । साविक विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लब २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विभागीय एपिएफले विजयी यात्रा सुरु गरेको हो । एपिएफको जीतमा खेलको ३७ औं मिनेटमा विकु तामाङ र ४० औं मिनेटमा युवराज खड्काले गोलको योगदान दिएका हुन् । एपिएफका विकु तामाङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ८ हजार रुपैयाँ हात पारे ।

अब एपिएफले २० पुसमा पहिलो सेमिफाइनल खेल्नेछ । उसको प्रतिस्पर्धी विभागीय त्रिभुवन आर्मी क्लब वा संकटा क्लबबीचको खेलको विजेता हुनेछ । शनिबारको खेलमा एपिएफले सुरुआती अग्रता लिने क्रममा मैदानको करिब मध्यभागबाट आएको पास सदुपयोग गर्दै विकुले विपक्षी पोस्टको जाली चुमाउन सफल भएका हुन् । त्यस्तै, त्यसको ३ मिनेट नबित्दै प्रदीप लामाको पासमा युवराजले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरे । खेलमा दुवै टिमले दोस्रो हाफमा कीपर परिवर्तन गरे । ८२ औं मिनेटमा एपिएफका राजु नगरकोटीको स्थानमा अञ्जल श्रेष्ठले कीपर सम्हाल्दा विपक्षी धरानको तर्फबाट सौरभ बरालको स्थान ७५ औं मिनेटमा असिव राईले लिएका थिए ।

जीतपछि एपिएफका रत्नकाजी महर्जनले आगामी प्रतिस्पर्धामा अझ सुधारिएको खेल पस्किने प्रतिक्रिया दिए । पहिलो हाफमा केटाहरु (खेलाडीहरु) राम्रै खेले पनि दोस्रो हाफमा अलिकति ओभर कन्फिडेन्ट भएर केयरलेस गरेको उनको भनाइ थियो । सेमिफाइनलमा जुन टिम आए पनि आफूहरुलाई फरक नपर्ने र गत वर्षको टाइटल जोगाउने उनको विश्वास छ ।

धरानका प्रशिक्षक सागर घिमिरेले कतिपय अवस्थामा खेलाडीले पनि नखेलिदिने बताए । एपिएफले दोस्रो हाफमा थप गोलको अवसर खेर फालेको थियो । धरान पहिलो हाफमै २–० ले पछि परेकोमा दोस्रो हाफमा फर्किने प्रयास असफल भएपछि घर फर्किन बाध्य भयो । धरान पोखरामा नियमितजसो सहभागी हुने पूर्वेली टिम हो । क्याराभानसहित आहारारा खेल्न धरान १५ पटक पोखरा आइसकेको छ । १६ औं संस्करणमा सेमिफाइनल यात्रा तय गरेको इतिहास छ । त्यसबेला धरानलाई पाखा लगाउँदै नेपाल पुलिस क्लबले १–० को जीत हात पारेको थियो । आइतबार दोस्रो क्वाटरफाइनलको खेल चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । आहारारामा डेब्यु टोली चर्च ब्वाइजले दोस्रो प्रिक्वाटरफाइनलमा विभागीय नेपाल पुलिसलाई २–१ ले पराजित गर्दै जीत सुरुआत गरेको हो । मच्छिन्द्र भने सिधैं क्वाटरफाइनल खेल्ने भएको हो ।

डिफेण्डिङ च्याम्पियन एपिएफले २० औं संस्करणमा मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पहिलो पल्ट उपाधि चुमेको हो । यसपालि आयोजकले पुरस्कार राशि वृद्धि गर्दै विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख दिने घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को