बिवाइएससी आहाराराको फाइनलमा


पोखरा । अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पहिलो हाफको इन्जुरी टाइममा रोजिन प्रजापतिले गरेको गोल निर्णायक बन्दा पाहुना टोली पहिलो पल्ट फाइनल पुगेको हो । उसले अब शनिबार फाइनलमा संकटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० ले पराजित गरेको अमेरिकी टोलीले अतिरिक्त गोलका थुप्रै अवसर भने खेर फालेको थियो । पहिलो हाफको ३ मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा रोजिनले हेडमार्फत उत्कृष्ट गोल गरेका हुन् । प्रवीण बस्नेतले दिएको एयर बलमा रोनिजले विपक्षी पोस्टको जाली चुमाएका हुन् ।

आहाराराको डेब्यु टोली चर्च ब्वाइजले पोखरा रंगशालामा उत्कृष्ट लय समात्दै आएको भए पनि बिहीबारको खेलमा विदेशी टिमका अग्ला र शारीरिक रुपमा सुगठित खेलाडीको सामु जोर चलेन । उसका लागि विपक्षीको डिफेन्स चिर्न हम्मेहम्मे परेको थियो । विपक्षीका आधा दर्जन बढी पोस्ट प्रहार हुँदा चर्च ब्वाइजले झिनो प्रहार गर्न सकेको थियो । खेलको ८४ औं चर्च ब्वाइजका आशीष चौधरी रेडकार्ड खाँदै बाहिरिएका थिए ।

खेल सुरुआतको ११ औं मिनेटमा अमेरिकी टिमका थोमस स्याकरको प्रहार खेर गयो । लगत्तै अर्को मिनेटमा मिगुल पाराफक्सले डि–बक्स नजिकै पाएको बल गोलमा परिणत हुन सकेन । १३ औं मिनेटमा विल्सको फ्रि–किकमा मिगुलले दोस्रो बार च्याप्दै हानेको प्रहार विपक्षी कीपरले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफ १–० ले टुंगिएकोमा दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा अन्ततः रेफ्री प्रज्ज्वल क्षेत्रीले बिवाइएससीको पक्षमा जीतको संकेत गरे । मिनिसोटाले अन्तिम क्वाटरफाइनलमा मनाङलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल खेलेको हो । गत वर्षदेखि आहारारा खेल्न आएको बिवाईएससी पहिलो वर्ष क्वाटरफाइनलमा एपिएफसँग ३–१ ले पराजित भए पनि यसपालि उत्कृष्ट खेल पस्किदै आएको छ । आफूहरुले यसपालि पोखराबाट उपाधि जितेर फर्किने प्रशिक्षक प्रदीप हुमागाईं दाबी गर्छन् ।

पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै संकटा फाइनल पुगेको छ । सिधैं क्वाटरफाइनल खेलेको संकटाले त्रिभुवन आर्मी क्लबको चुनौती ३–१ ले पन्छाएको थियो ।

विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् । १४ पुसदेखि सुरु प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ हो । प्रतियोगितामा १० टिमले भाग लिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
ज्येष्ठ नागरिकका गुनासा