संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी कारागारमा बन्दी जीवन बिताइरहेकी जेलिसाको नामले नै भन्छ, उनी जेल अर्थात हिरासतमा जन्मेकी हुन् । प्रहरी हिरासतमा जन्मिएको ४९ दिनकी शिशु संखुवासभाको जिल्ला कारागार बन्दीगृहमा छन् । वरिपरी अग्लो र फराकिलो पर्खालले घेरेको, ढोकामा ठूला ठूला ताल्चा लगाइएको घरमा सयौं मानिसको ४९ दिनकी शिशुलाई जेलिसा नामाकरण भयो । नामाकरणकर्ता पण्डित उनी जस्तै बन्दी थिए । विभिन्न अपराधमा जीवन बिताउँदै गरेका करिब एक सय पन्ध्र जना कैदी, पोष्ट पोष्टमा बसेका पन्ध्र जना जति सुरक्षाकर्मी । त्यसैले होला उनीहरुले सानी शिशुको नाम जुराए, ‘जेलिसा’ ।
सभापोखरी गाउँपालिका–६ बस्ने भक्तबहादुर विश्वकर्माले चिचिला गाउँपालिका–५ घर भएकी सुस्मा विश्वकर्मालाई ११ महिना अघि दोस्रो विवाह गरेका थिए । भक्त र सुस्माले माया प्रेम बसेपछि राजी खुशीमा दोस्रो विवाह गरेका हुन् । उनीहरुले दोस्रो विवाह गर्ने बित्तिकै भक्तबहादुरकी जेठी श्रीमती रुमिता विश्वकर्माले जिल्ला प्रहरी कार्यालय संखुवासभामा आफ्नो श्रीमानले बहुविवाह गरेको भन्दै मुद्धा दर्ता गरेपछि प्रहरीले दुवैलाई माघ १५ गते पक्राउ गरेको थियो ।
संखुवासभाको हिरासतमा जन्मिएकाले खाँदबारी कारागारका बन्दीहरुले उनलाई ‘जेलिसा’ नाम राखिदिएका छन् । जातीय संस्कार अनुसारको नाम जुराउने उनको भागमा परेन । हजुरबा, हजुरआमाको न्यानो माया सेकताप परिवारका अन्य सदस्यहरुको न्यानो मायालु स्र्पश भने पाएकी छैनन् । अस्पतालको रेखदेखमा जन्मने अन्य नवजात शिशुलाई सरकारले दिने गरेका न्यानो कपडा पनि पाएको छैन । “सुनौला हजार दिन” सपना हुन पुगेको छ । यस धर्तीमा उनको आगमनलाई यहाँको राज्य व्यवस्थाले यही रुपमा स्वागत गरेको छ ।
नेपालको ग्रामीण समाजमा सुत्केरी र शिशुको स्याहारका लागि उसको परिवार पहिलेदेखि नै तयारी गरिन्छ । खसी, कुखुराका भाले, घिउ लगायतका पौष्टिक आहारको जोहो हुन्छ । महिलाको घर र माइति दुवैतिर । अझ सरकारले मातृत्वको सुरक्षाका लागि छुट्टै अनिवार्य व्यवस्था गरेको छ । सुत्केरी हुन अस्पताल जान अभिप्रेरित गर्ने कार्यक्रम छ, कर्मचारी खटाएको छ । तर, ‘जेलिसा’ की आमाको भागमा यो सुविधा परेन । सुत्केरी हुँदा घर र माइतीबाट पाइने स्याहार सुसार र पौष्टिक खानेकुरा, आत्मीयता प्राप्त हुने अवस्थाबाट बञ्चित हुन परेको छ । उनको स्याहारका लागि कारागार व्यवस्थापनले मासिक एक हजार रुपैया सुत्केरी भत्ता दिएको छ ।
बहुविवाह मुद्धा लागेका उनीहरुलाई जिल्ला अदालत संखुवासभाले सुष्मालाई ७५ हजार र उनको श्रीमान भक्तबहादुरलाई २ लाख ३५ हजार रुपैया धरौटी रकम तोकेको थियो । तर उनीहरुले उक्त धरौटी वापतको रकम तिर्न नसक्दा गएको फागुन १४ गते कारागार चलान गरिएको जिल्ला अ दालतका स्रेस्तेदार डिल्ली प्रसाईले बताए । उनीहरुले धरौटी बापतको रकम जम्मा गरेमा तारिखमा छुट्न सक्ने स्रेस्तेदार प्रसाईले बताए । नेपालको संविधान अनुसार बहुविवाह गरेमा एक बर्षदेखि पाँच बर्ष कैद र पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने नियम रहेको छ । बहुविवाहलाई नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ले निषिद्ध गरेको छ । त्यसैले जेलिसा र उनको बाबुआमा दुवै बहुविवाहको अपराधमा खाँदबारी कारागारमा छन् ।
बहुविवाहको अपराध गरेका सुस्मा र भक्तबहादुरले धरौटी बापतको रकम जम्मा गरे तारिखमा छुट्न सक्ने जिल्ला अदालतले जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ले बहुविवाह गर्नेलाई एक बर्षदेखि पाँच बर्ष कैद र पाँच हजारदेखि ५० हजार रुपैयासम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ । धरौटी बुझाउन नसकेपछि बाबु र आमासँगै ४८ दिने शिशु कारागारमा रहेको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।