काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिङ गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेका गुनासा आएको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताएका छन् ।
काउन्सिलमा शुक्रबार आयोजना गरिएको नयाँ अनलाइनका लागि पैरवी कार्यक्रममा बोल्दै बस्नेतले ‘नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुन जरुरी रहेको’ पनि औंल्याए ।
‘कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पु¥याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारबाही हुनेछ,’ अध्यक्ष बस्नेतले भने ।
अनलाइन र युट्युब च्यानलमा पत्रकारिताको रोगकै रूपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर त्यसविरुद्ध कदम चालिरहेको उनले स्पष्ट पारे ।
प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको शुक्रकार १८औं शृंखला सम्पन्न गरेको हो ।
कार्यक्रममा विषयगत विज्ञका रूपमा आफ्ना भनाई राख्दै राजधानी दैनिकका सम्पादक सागर पण्डितले ‘अनलाइन पत्रकारिताले चुनौती बढाएको र पत्रकारिताका निश्चित मूल्य मान्यता पालना गरेमा धेरै समस्या समाधान हुने’ बताए ।
पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिल जस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने आवश्यकता औल्याए ।
‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’मा विषय विज्ञको रूपमा पण्डितले काउन्सिलद्वारा जारी महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपांगतामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधान’bout जानकारी गराएका थिए ।
काउन्सिल अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६)अन्तर्गतका पत्रकारले गर्न नहुने १४बुँदा’bout प्रष्ट पारे । अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले सत्यता परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने बताए ।
कार्यक्रम सहजीकरण गर्दै काउन्सिल उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नका जवाफ दिए ।