सुन्तला बेच्न कृषकलाई भ्याइनभ्याई

हुमाकान्त पोखरेल

गुल्मी धुर्कोट गाउँपालिका–१ नयाँगाउँका टिकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तला स्याहारसुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र विक्री गर्ने भएकोले त झन् उनी बगैंचामै व्यस्त हुन्छन् । त्यसैले हमाललाई भेट्न सुन्तलाको बगैंचामै पुग्नुपर्छ ।

५३ वर्षीया हमालले ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । यसैबाट उनले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘गतभन्दा यो वर्ष राम्रो उत्पादन भएको छ,’ उनी भन्छन्, ‘अहिले कम्तीमा सात लाखको सुन्तला बिक्री गर्ने अनुमान छ ।’

सुन्तला लिन घरमै व्यापारी आइपुग्छन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ । अहिले उनी प्रतिकिलो ५० देखि ६० रुपैया“मा सुन्तला विक्री गरिरहेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा छ । तर, हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेशा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ,’ उनी भन्छन्, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।’

हमालले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दै आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको छ भने थप ४० हजार विरुवा नर्सरीमा छन् ।

केही वर्षपछि ती विरुवाले पनि उत्पादन दिँदा उनको आम्दानी झनै बढ्ने देखिन्छ । सुन्तलाबाट कम मेहनतमै बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनी बताउँछन् ।

सोही ठाउँकै गोमादेवी पोखरेलले पनि २०४७ सालदेखि सुन्तला खेती गर्दैै आएकी छन् । कुल तीन रोपनी जग्गामा १ सय १५ बोट सुन्तला छन् । सुन्तलाका साथसाथै बारीमा अन्य खेतीसमेत हुन्छ । बोटमा अहिले २५ क्विन्टलजति सुन्तला उत्पादन भएको छ ।

‘गत वर्ष १५ क्विन्टल सुन्तला बिक्रीबाट एक लाखभन्दा बढी आम्दानी भएको थियो,’ उनले भनिन्, ‘यो वर्ष उत्पादन राम्रो छ, ढाई लाखसम्म आम्दानी हुन्छ ।’ व्यापारी घरसम्मै आएर सुन्तला लैजाने उनले पनि बताइन् ।

अर्की स्थानीय प्रेमकला खनालले यस वर्ष डेढ लाखमा सुन्तलाको बगैंचा नै विक्री गरिन् । स्थानीय व्यापारीलाई ठेक्कामै बिक्री गरेकी उनको बारीमा अहिले दुई सय बोट सुन्तला छन् ।

‘वार्षिक ३० क्विन्टल हाराहारीमा सुन्तला उत्पादन हुन्छ, गत वर्ष ९० हजारको बेचें,’ उनले भनिन्, ‘टिप्न र जोख्न झन्झट हुने भएकाले यो वर्ष बगैंचा नै विक्री गरें ।’

अर्का किसान भविष्वर पौडेलले पनि सुन्तला बिक्रीबाट ६० हजारभन्दा बढी आम्दानी गर्छन् ।

नयाँगाउँकै ताराबहादुर जिसी सुन्तला व्यापारीका रूपमा काम गर्छन् । उनले गत वर्षमात्रै नयाँगाउँबाट ४० लाखको सुन्तला निर्यात गरेका थिए । यस वर्ष सुन्तला उत्पादन राम्रो भएको झण्डै ५० लाखको निर्यात गर्ने जिसी बताउ“छन् । किसानसँगबाट औसतमा ४५ देखि ५० रुपैया“मा खरिद गरी तम्घास र बुटबलसम्म निर्यात गर्ने उनी बताउ“छन् ।

बिचौलियाबाट मार
गुल्मीमा सुन्तलाको उत्पादन अध्यधिक मात्रामा हुने गरेको छ । तर, जिल्लामै भण्डारण गर्ने चिस्यान केन्द्र छैन । जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् ।

‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ,’ नयाँगाउँकी गोमादेवी पोखरेलले भनिन्, ‘आफूखुसी मूख्य राखेर व्यापारीले लैजान्छन् ।’ यसका साथै सिँचाई सुविधा, आवश्यक मललगायत भए सुन्तला उत्पादनमा वृद्धि गर्न सकिने पोखरेलको भनाई छ ।

अर्का किसान मिलन खनाल सडकको राम्रो सुविधा भए यातायातमा सहज हुने र किसानले बढी मूल्य पाउने बताउँछन् ।

धुर्कोट गाउँपालिका–१ नयाँगाउँका वडाध्यक्ष चेतमान कुँवरले सुन्तला उत्पादनका लागि बीउ र बिरुवामा अनुदान दिनेलगायत कार्यक्रम सञ्चालन गरेका छन् । नयाँगाउँको प्रमुख आम्दानीको स्रोत नै सुन्तला भएकाले त्यसको उत्पादन वृद्धि र बजारीकरणका लागि आफूहरूले पहल गरेको कुँवरको भनाई छ ।

२९ करोडको सुन्तला
सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ घोषणा गरेको छ । राम्रो मौसम, अनुदानलगायत कारण जिल्लामा यस वर्ष २९ करोड ३७ लाख २ हजारभन्दा बढीका सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

‘उत्पादित सुन्तला बजारमा आउने क्रम जारी छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी भन्छन्, ‘गत वर्ष २५ करोडको सुन्तला उत्पादन भएकोमा यो वर्ष उत्पादनमा वृद्धि भएको छ ।’ खुद्रा बजारमा भने सुन्तलाको भाउ प्रतिकिलो १ सय २० रुपैयाँसम्म छ ।

यी हुन् मुख्य क्षेत्र
जिल्लामा कुल ५ सय ८८ हेक्टर जमिन सुन्तला खेतीका लागि योग्य छ । मुसिकोट नगरपालिका–९ अर्लाङकोटमा ५० हेक्टरमा जमिनमा सुन्तला उत्पादन हुन्छ ।

मुसिकोटकै वडा ८ मा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । रुरु गाउँपालिका बलेटक्सारमा १० हेक्टर, छत्रकोट गाउँपालिका दिगाममा १ सय २० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ ।

सोही गाउँपालिकाकै हर्दिनेटामा १ सय ६१ हेक्टर, हुँगामा १५ हेक्टर गुल्मीदरबार गाउँपालिका गौडाकोटमा ५० हेक्टर, विरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ ।

गुल्मीदरबारकै राजामा ३० हेक्टर, धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा १ सय ४० हेक्टर, नयाँगाउँमा २ सय २५ हेक्टर, पीपलधारामा १ सय ३८ हेक्टर, हाडहाडेमा १ सय २९ हेक्टर, जैसिथोकमा १० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

त्यस्तै, वाग्लामा १५ हेक्टर, मदाने गाउँपालिका भनभनेमा ३० हेक्टर, पुर्काेट दहमा १० हेक्टर, कालिगण्डगी गाउँपालिका भुर्तङमा १० हेक्टर, जयखानीमा ७० हेक्टर, अर्वेनीमा २० हेक्टर, रेसुंगा नगरपालिका–३ भाडगाउँ, ४ अर्खले, ५ बालकाटे र ६ को गुरुङगाउँलगायत स्थानमा १ सय ९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ ।

चन्द्रकोट गाउँपालिका हरेवामा ४० हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको कृषि ज्ञान केन्द्र, गुल्मी प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा