जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणनाको उच्च अदालत जनकपुरले आदेश दिएको छ ।
न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणनाका लागि शुक्रबार आदेश दिएको जानकारी उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले दिएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन–७ को वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यरत छन् ।
निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा (अशोक) ले ३७८ मत पाएका छन् ।
कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेका थिए । तर अदालतले अन्तरिम आदेश जारी नगरी आज पुनः मतगणनाको आदेश दिएको छ । रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए ।