काठमाडौं । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए । नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ ।
राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी विभागमा लागेको लाइन ‘एक महिनाभित्र हटाउन’ निर्देशन दिएकै दिनदेखि विभागले ‘काम ढिलाइमा प्राविधिक समस्या देखिएको’ भन्दै वितरण रोकेको थियो ।
विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।
विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनुहुन अनुरोध गरिएको छ । सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नियमित रूपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गर्नुभएका सेवाग्राही बुक गरेको मिति र समयमा बायोमेट्रिकका लागि विभागमा उपस्थित भइदिनुहुन अनुरोध छ ।’
विभागले मंगलबार अर्को सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा अप्वाइन्टमेन्टका लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ इनरोलमेन्ट सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो ।
विभागकी प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा थप भनिएको थियो, ‘सम्पूर्ण सिस्टमको एउटा कम्पोनेन्ट (भ्यालिडेसन)मा प्राविधिक समस्याका कारण डाटा प्रोसेसिङमा सुस्तता देखिएको हुँदा राहदानी वितरणमा मात्र केही ढिलाइ हुने जानकारी गराउन चाहन्छौं ।’