मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

इटहरी । प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबारसाँझ सम्मको समयसीमा दिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सांसद छन् ।

दोश्रो स्थानमा रहेको कांग्रेससँग २९ जना सांसद छन् भने तेश्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन् । राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सांसद छन् । प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको मत जोड्दा ६० सिट पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।

कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ (क) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि शेरधन राई मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानूनमन्त्री भएका उनी यसपटक माओबादी, राप्रपा र जसपासहितको साथबाट मुख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमालेका स्थायी कमिटि सदस्य रहेका उनी ओलीको विश्वासिला पात्र मानिन्छन् ।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाको संसदीय दलका नेताको हस्ताक्षरसहितको दाबी पत्र कार्कीले प्रदेश प्रमुखलाई आइतबार बुझाएका हुन् । उनै कार्कीसहित माओबादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाकी संसदीय दलकी नेता निर्मला लिम्बूले दाबीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुखलाई बुझाएको दाबीपत्रमा भनिएको छ, ‘हामी हस्ताक्षरकर्ता दलहरूको प्रतिनिधित्व प्रदेशसभा सदस्य संख्या कूल प्रदेशसभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँ (हिक्मत कार्की) लाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्ति गरिदिनु हुन अनुरोध छ ।’

प्रदेश प्रमुख खापुङले गत पुस १७ गते एक साताको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्न आह्वान गरेका थिए ।
यसैबीच प्रदेश १ मा सभामुखको पुस २८ गते र उपसभामुखको पुस ३० गते निर्वाचन हुने भएको छ । ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठकले सोमबार दिउँसो १ बजेको लागि बोलाइएको प्रदेशसभाको बैठक मंगलबार ११ बजेका लागि सूचना टाँसेर सार्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा