‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको बताएका छन् ।

आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले आफू भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए । प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकता रहेकाले आफूले सरकारका सचिवहरूसँगको छलफलमा पनि सोही विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको स्पष्ट पारे ।

‘जनताले हामीप्रति आसाको नजरले हेरिरहेका छन्, अब केही हुन्छ, नयाँ हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिबद्धतासहित हामीले काम गर्नुछ ।’ प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको सहयोगको आवश्यकता रहेकोसमेत औंल्याए ।

‘सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासनको कुरा राज्यको आमजिम्मेवारी होे, यसमा सरकार गम्भीर छ ।’ उनले भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न नसक्ने जिकिर गर्दै यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न भएकाले आमजनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहने प्रष्ट पारे । ‘भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ, त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले याबिनेटको पहिलो बैठकमा पनि सुशासनको विषयलाई गम्भीर रूपमा उठान गरिएको स्पष्ट पारे । सुशासन र समृद्धिका निम्ति सरकार गम्भीर भएर लाग्ने भन्दै उनले यसमा सबैको थप सहयोग चाहिने बताए । ‘आयोगका लागि चाहिने सबै सहयोग सरकारका तर्फबाट हुन्छ,’ प्रचण्डले भने, ‘ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधारलगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्छ ।’

मुलुकका कर्मचारी संसारको कुनैपनि कर्मचारीतन्त्रभन्दा कमजोर नभएको भन्दै सुरक्षा अंगको कार्यक्षमताको पनि प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरे । उनले राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न नसकिएको भन्दै यसपटक सही नेतृत्व र सही व्यवस्थापन गरिने प्रस्ट पारे ।

सरकारको प्रारम्भिक पहल उत्साहजनक : प्रमुख आयुक्त राई
छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताए । प्रमुख आयुक्त राईले प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई गरेको निर्देशनात्मक सम्बोधनले आयोग उत्साहित भएको र राज्यका सबै अंग जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने स्पष्ट पारे ।

आयोगले संसद्मा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अघि बढाउनलगायत आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारणका निम्ति आयोगका सबै सकारात्मक प्रस्ताव सम्बोधन गर्न आफू तत्पर रहेको जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा