प्रदेश १ को मुख्यमन्त्रीमा कार्की

इटहरी । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । संविधानको धारा ६८(२) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभाका ६० सांसदको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश १ का चौथो मुख्यमन्त्री बनेका छन् ।

एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एकजना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका थिए । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबीका लागि आइतबार साँझसम्मको समयसीमा दिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सांसद छन् ।

दोस्रो स्थानमा रहेको कांग्रेससँग २९ र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन् । राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग चार र जसपासँग एकजना सांसद छन् । प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको मत जोड्दा ६० सिट पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।

कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५(क) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि शेरधन राई मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री भएका उनी यसपटक माओवादी, राप्रपा र जसपासहितको साथबाट मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ओलीका विश्वासिला पात्र मानिन्छन् । एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाको संसदीय दलका नेताको हस्ताक्षरसहितको दाबी पत्र कार्कीले प्रदेश प्रमुखलाई आइतबार बुझाएका थिए । उनै कार्कीसहित माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाकी संसदीय दलकी नेता निर्मला लिम्बुले दाबीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रदेश प्रमुखलाई बुझाइएको दाबीपत्रमा भनिएको छ, ‘हामी हस्ताक्षरकर्ता दलहरूको प्रतिनिधित्व प्रदेशसभा सदस्य संख्या कूल प्रदेशसभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँ (हिक्मत कार्की) लाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ ।’

यसैबीच प्रदेश १ मा सभामुखको निर्वाचन २८ पुसमा र उपसभामुखको ३० पुसमा हुने भएको छ । ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी