काठमाडौं । नेपाली तथा विदेशी चलचित्र रिलिज हुनुभन्दा चार दिनअघि नै सेन्सर गर्नुपर्ने नियम लागू भएको छ । यही नियमअनुसार चलचित्र ‘तिम्रो मेरो साथ’को सोमबार सेन्सर गरिएको छ । यो चलचित्र सेन्सर पास भएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र तिम्रो मेरो साथमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ ।
आगामी शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आउने यो सिनेमालाई सोमबार सेन्सर बोर्डले सबै हेर्न मिल्ने युनिभर्सल (यु) प्रमाणपत्र दिएको छ, ‘अब हाम्रो फिल्म जुनसुकै उमेरका दर्शकले पनि सहजैरूपमा हेर्न पाउनेछन् । सिनेमाले समाजमा मनोरञ्जनसँगै सकरात्मक सन्देश दिनेछ ।’ यो चलचित्रका निर्देशक रमेश एमके पौडेलले राजधानीसँग भने । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सबिर नै कार्यकारी निर्माण रहेको यो चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।