मध्यपहाडी राजमार्ग सात वर्षसम्म कालोपत्रे अलपत्र

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत खोटाङ चखेवाभञ्ज्याङ–सेखुवा सडकको १० किलोमिटर खण्ड सात वर्षदेखि अलपत्र छ । नेपाली कांग्रेस डोल्पा सभापति दिपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी सिद्धीसाई कन्ट्रक्सनसहित भारत कन्स्ट्रक्सन÷मैनाचुलीे जेभीले ठेक्का लिएको निर्माण ठेक्का सम्पन्न नहुँदा २०७२ सालदेखि अलपत्र अवस्थामा रहेको हो ।

जसका कारण चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बाझैं बन्न पुगेको छ । स्थानीय तथा सो बाटो भएर यात्रा गर्नेले दिनदिनै सास्ती भोग्दै आएका छन् ।

जेभी कम्पनीले ३० फागुन २०७५ सम्म सम्पन्न गर्नेगरी २ चैत २०७२ मा कालेपत्रे सम्पन्ने गर्न सम्झौता गरेको थियो । राजमार्गअन्तर्गत खोटाङ भोजपुरका अन्य सबै भागमा कालोपत्रे सम्पन्न भइसकेको छ । राजनीतिक शक्तिको आडमा शाहीले भने कालोपत्रेको काम नै नगरी नवीकरण गर्दै आएको पाइएको छ । यसपटक पनि राजनीतिक पहुँच र शक्तिको आडमा पुनः ठेक्का नवीकरणका लागि प्रयास भइरहेको स्रोतको दाबी छ ।

केही दिनअघि निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित स्थानीयले ठेक्का तोड्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् आयोजनालाई ज्ञापनपत्र बुझाएका थिए ।

‘कालोपत्रे अलपत्र पारेको’ भन्दै साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका स्थानीयले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईंमार्फत् पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेल, काभ्रेलाई ३ सय ३ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र पठाइएको हो ।

ज्ञापनपत्रमा ‘ठेक्का तोड्न र समयमै निर्माण कार्य सम्पन्न गर्न’ माग गरिएको छ । स्थानीयका तर्फबाट रघुनन्द राई, इन्द्रबहादुर रोकालगायतले बुझाएको पत्रमा ‘निर्माण कम्पनीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रे काम फेरि पनि पहिलेजस्तै अलपत्र हुने’ दाबी गरिएको छ ।

उनीहरूले चारपटक म्याद थप हुँदासमेत कालोपत्रे काम गर्न नसकेको ठेकेदारबाट काम हुनेमा आशा नै गर्न नसकिने उल्लेख गरेका छन् ।

ठेक्का तोड्न सिफारिस
स्थानीयले ठेक्का तोड्न माग गरिरहँदा पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयले भने ठेक्का तोड्न सडक विभागलाई यसअघि नै सिफारिस गरिसकेको पाइएको छ ।

ठेकेदारले कालोपत्रे पूरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्न गत १८ मंसिरमा सडक विभागसमक्ष सिफारिस गरिएको पुष्पलाल राजमार्ग योजना कार्यालय धुलिखेलले जनाएको छ ।

सम्झौताअनुसार कालोपत्रेको प्रगति नभएपछि गत २२ कात्तिकमा ‘ठेक्का किन नतोड्ने ?’ भनेर दोस्रोपटक सूचना निकालेको कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

कालोपत्रे कार्यमा चरम ढिलासुस्ती भएपछि पुष्पलाल राजमार्ग योजना कार्यालयले १९ मंसिर २०७७ को पनि ‘ठेक्का किन नतोड्नेसम्बन्धी अत्यन्य जरुरी सूचना’ प्रकाशन गरेको थियो ।

भारत कन्स्ट्रक्सन र मैनाचुली र सिद्दिसाईले ३० फागुन २०७५ सम्ममा सम्पन्न गर्नेगरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर, त्यसअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ मा दोस्रो म्याद १३ असार २०७८ मा र तेस्रोपटक थप म्याद ३० फागुन २०७८ मा नै सकेको छ ।

भोजपुर–दिक्तेल सडकखण्ड अपग्रेडिङ गर्ने कार्यक्रमअन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण तथा सबबेस, बेससहित डीबीएसटी सर्फेस सतहसहित सडक स्तरोन्नति गर्नेगरी भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धीसाईले चेनेज ठेक्का लिएको थियो ।

चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रे सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठमाडौं आवतजावत गर्न स्थायी रूपमै छोटो र सहज बाटो खुल्ने छ । मध्यपहाडी भोजपुरभित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडकखण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङदेखि सेखुवासम्म सडक हालसम्म कालोपत्रे हुन सकेको छैन ।

ठेक्का तोडिने बेला प्रतिबद्धता
सरकारले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको बेला निर्माण कम्पनीले भने कालोपत्र ६ महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदारको ढिलासुस्तीले ठेक्का सम्झौता तोड्ने चरणमा पुगेको सडक कालोपत्रको काम आगामी असार मसान्तसम्ममा पूरा गर्ने भन्दै स्वयं ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धी शाही जेभी काठमाडौँले लिखित प्रतिबद्धता जनाएको हो ।

साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम सम्पन्न गर्ने आठबुँदे प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धतापत्रमा निर्माण कार्य भइरहेको सडकमा सवारी साधन निर्वाध आवागमनका लागि नियमित मर्मत सम्भार गर्ने, चखेवा भञ्ज्याङतर्फबाट सबबेसको काम सुरु गरेर २५ माघसम्म सम्पन्न गर्ने र २६ माघदेखि ‘बेस लेइङ’ काम सुरु गर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

माओवादी बैठकमा गृहमन्त्री र राष्ट्रपतिवारे भएन छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने