५ माघमा नयाँ सभामुख, ४ माघमा मनोनयन

काठमाडौं । प्रतिनिधिसभाले ५ माघमा सभामुख पाउने भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदले नयाँ सभामुख चयन गर्न प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन उम्मेदवारी दर्ता गर्ने र तेस्रो दिन निर्वाचन हुनेछ ।

संघीय संसद सचिवालयले सभामुख चयनका लागि ३ माघमा निर्वाचन कार्यक्रमसहितको सूचना निकाल्ने छ । यस्तै, ४ माघमा उम्मेदवारको मनोनयन दर्तालगायतका प्रक्रिया अघि बढाउने सचिवालयको तयारी छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख चयनका लागि ५ माघका दिन ११ बजे निर्वाचन गर्नेगरी प्रक्रियाअघि बढाउने तयारी भएको जानकारी दिए ।

‘५ माघमा सभामुख चयन गर्नेगरी तयारी भएको छ, ४ माघका दिन नै मनोनयन दर्तालगायतका प्रक्रिया अघि बढाउने गरी ३ माघमा सूचना प्रकाशित गर्ने योजना बनाएका छौं,’ संसद सचिवालयका प्रवक्ता गिरीले राजधानीसँग भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा बस्ने गरी सकिएको छ ।

हाल प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गर्दै आइरहेका छन् । प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । तर, संसद सुचारु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

१० पुसमा देशको प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिइसकेका छन् । उनलाई प्रतिनिधिसभामा उपस्थित २७० सदस्यमध्ये २६८ सदस्यले विश्वासको मत दिएका छन् ।

हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको छ । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ ।

सभामुखका लागि हुने निर्वाचनमा भने सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एमालेले आफ्नोतर्फबाट उम्मेदवार उठाउने तयारी गर्दा नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।

एमालेले नेता पृथ्वीसुब्बा गुरुङलाई सभामुखको उम्मेदवार बनाउने गरी भित्री तहमा छलफल गरिरहँदा कांग्रेसले भने कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भने गरेको छैन ।

हालको सत्ता गठबन्धन बन्दा प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधा आधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी