धनगढी । सुदूरपश्चिममा सभामुख चयन गर्ने काम अनिश्चित बनेको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक समेत अनिश्चित भएको छ । प्रदेश सभा सचिवालयले अर्काे सूचना जारी नभएसम्म बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।
शुक्रबार बिहान ११ बजे सभामुखको पुनः निर्वाचन गर्ने गरी विहिबार साँझको बैठक स्थगित भएको थियो । प्रदेशसभाको सभामुख पदका लागि बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेकाले सभामुख निर्वाचन हुन सकेको थिएन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा बैठकमा भएको निर्वाचनमा ५० जना मतदानमा सहभागी भएका थिए । त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीको पक्षमा २६ मत खसेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य शिवराज भट्टले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत नपुगेकाले दुवै प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका भण्डारीको पक्षमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो । त्यस अनुसार उनले २९ मत पाउनुपर्ने थियो । उनको मतदानमा दुई सांसद अनुपस्थित र एक मत बदर भएको थियो ।
नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र एमाले सांसद चक्र मल्ल मतदानमा सहभागी भएनन् । एक मत बदर भएको थियो। कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका मानबहादुर रावलले २३ मत पाएका थिए । उनलाई कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक जना सांसदको समर्थन थियो । जेष्ठ सदस्यले बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका थिए ।
तर सभामुख चयनको प्रक्रिया भने अन्योलमै छ । कसरी प्रदेश सभा सञ्चालन गर्न सकिन्छ भनेर कानुनबिद् लगायतकासँग छलफल गरिहेको र चाँडै सभा सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।