काठमाडौं । आज आइतबार १ माघ अर्थात् माघेसंक्रान्ति पर्व मनाँइँदै छ । पहिलेजस्तो माघेसंक्रान्तिको रौनक भने विस्तारै कम हुँदै गएको महसुस गरिन थालिएको छ ।
पर्व उही भए पनि मनाउने तरिका भने फरक बन्दै गएको पाइएको छ । मौलिक पर्वप्रति युवापुस्ताको चासो कम हुँदैजाँदा पुराना पुस्ताका गुनासा बढ्न थालेको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिकाका मुकुन्द ढुंगेल पहिलेजस्तो उत्साह र उमंग माघेसंक्रान्तिमा नदेखिएको सुनाउँछन् । ‘पहिला–पहिला घिउ, चाकु, तरुल, सेलरोटी खाएर परिवारसँग बसेर रमाइलो गर्न पाउँदा धेरै खुसी हुन्थ्यौं,’ ७५औं वसन्त पार गरिसकेका ढुंगेल भन्छन्, ‘गाउँघरमा मामाघर जाने, आफन्तकोमा जाने चलन थियो । पछिल्लो समय अहिलेका पिढीलाई माघेसंक्रान्तिप्रति खासै चासो देखिँदैन ।’
ललितपुर गोदावरी नगरपालिका–३ बडीखेलका ७६ वर्षीय सुदर्शन न्यौपाने पहिलाजस्तो माघेसंक्रान्ति मनाउने घट्दै जाँदा चिन्तित छन् । ‘जसोतसो हामीले यो संस्कृति धानिरहेका छौं,’ उनी भन्छन्, ‘के थाहा अबको पुस्ताले यसलाई बिर्सने पो हो कि ?’
संक्रान्तिका दिन स्नानपछि पूजाआजासाथ ब्राह्मणलाई भोजन गराउने, सिदा दान गर्ने परम्परा भए पनि यसलाई कतिपयले ‘खानपान चाड’का रूपमा मात्र बुझिरहेका छन् ।
‘माघेसंक्रान्तिमा बिहान नुहाएर शुद्ध हुँदै पूजाआजा गरी ब्राह्मणलाई घरमा डाकी सिदा र दक्षिणा दिने चलन थियो,’ काठमाडौं दक्षिणकाली नगरपालिकाका रामहरी अर्याल भन्छन्, ‘अहिले शरीर शुद्धीभन्दा पनि खानपानमा बढी ध्यान दिने, दाजुभाइ–दिदीबहिनी भेला भएर नाचगानसहित भजनकीर्तन गर्ने चलन हराउँदै गएको छ ।’
हरेक महिनाको पहिलो दिन संक्रान्ति मनाउने गरिए पनि माघमा मनाइने ‘मकर संक्रान्ति’लाई विशेष महŒवसाथ हेर्ने गरिन्छ । यस चाडलाई ‘माघी’का रूपमा पनि लिने गरिन्छ ।
हिन्दूधर्ममा दसैं–तिहारजस्तै माघेसंक्रान्तिलाई पनि उत्तिकै महŒवसाथ मनाउने चलन छ । ज्योतिष शास्त्रानुसार सौर तिथिका हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।
माघेसंक्रान्ति पर्व नेपालभर नदी, तलाउ तथा त्रिवेणीमा स्नानसहित मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाउने परम्परा छ ।
यस दिन नुहाइधुवाइ गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरूल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा ‘विशेष फल’ प्राप्त हुने र ती पदार्थ खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी भइने विश्वास छ । आजकै दिन शरीरमा तेल लगाउनाले र मासको खिचडी खानाले सर्दी नलाग्ने विश्वास छ ।
यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगासागरलगायत नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्ने गर्छ । यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
त्यस्तै, नयाँ वर्ष आरम्भका रूपमा लिइने ‘माघी’ पर्वका अवसरमा थारू बस्तीका गाउँको मूलघरमा भेला भई खानपिन र नाचगान गरी रमाइलो गरिन्छ । माघी पर्वकै अवसर पारेर थारू समुदायमा दाजु भाइबीच अंशबन्डासमेत हुने गर्छ ।
गत वर्षको समीक्षा र आगामी वर्षको कार्ययोजना पनि माघीमै बनाइन्छ । पाँच दिनसम्म मनाइने पर्वका बेला नदी वा जलाशयमा नुहाइधुवाई गरिसकेपछि मान्यजनबाट टीकाग्रहण गर्ने, चेलीबेटीलाई माइतीघरमा बोलाएर चामल, दाल, नुनलगायत अन्न दक्षिणाका रूपमा दिने चलन छ ।
थारूहरूले माघीको अवसरमा आफ्नो संस्कृति झल्किने सखिया, झुम्रा, मुग्रहवा, दिननचुवालगायत सांस्कृतिक नृत्य गर्ने परम्परा छ । सरकारले यस पर्वलाई २०६४ सालदेखि ‘राष्ट्रिय पर्व’का रूपमा मान्यता दिएको हो ।
१ माघलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाए पनि थारूहरूले ‘नयाँ वर्ष’का रूपमा मनाउने गर्छन् । दाङ, बाँके, बर्दिया, कैलालीलगायत सुदूरपश्चिमका थारूले माघ पहिलो दिनलाई ‘मुक्ति र स्वतन्त्रताको नयाँ वर्ष’का रूपमा धुमधामसाथ मनाउने गर्छन् ।
नयाँ वर्ष सुरुवातका दिन गाउँका सबै मिलेर अर्को वर्षका लागि नयाँ कामको प्रतिबद्धता गर्ने तथा गाउँका थकाली, मुखिया, महतो, धामी, पुजारी यसैदिन सर्वसम्मत छानिन्छन् ।
माघीको अवसरमा महिला र पुरुषले मघौटा नाचगान गर्ने प्रचलन छ । माघीको मुख्य परिकार ढिकिर (जाँड) र अनदी (चामलको रोटी) हुन् ।