यसरी मनाइयाे मिथिलामा मकर संक्रान्ति

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल गंगासागरमा नुहाउनेहरुको आज विहानैदेखि भीड लागेको छ । बाक्लो कुहिरो र अध्याधिक जाडोका बाबजुत पनि गंगासागरमा सयौ व्यक्तिले नुहाए । मकर संक्रान्तिका बेला गंगासागरमा नुहाउँदा विशिष्टफल प्राप्त हुने जनविश्वास रहेको छ । संक्रान्तिका दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

जनकपुरधामको गंगा सागरको पनि त्रेता युगसंगको इतिहास रहेकाले यो क्षेत्रका व्यक्ति कुनै विशिष्ट कार्य हुँदा गंगासागरमा नुहाउने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए । मकर संक्रान्तिमा यो पोखरीको स्नानकोविशिष्ट महत्व रहेको उनको कथन रहेको छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, तिलको लड्डु, वस्त्र, पानीको भाँडा सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख रहेको छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । संक्रान्तिका दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता पनि रहेको धार्मिक जानकार दिगम्बर झा दिनमणिले वताए ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुस ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन सुरु हुन्छ । शास्त्र अनुसार दक्षिणयनलाई देवताको रात्री अर्थात नेगेटिभ इनर्जीको प्रतिक मानिन्छ । जबकी उत्तरायणलाई देवताको दिन अर्थात पोजेटिभिटीको प्रतिक मानिन्छ । यस दिन जप, तप, ध्यान, स्नान, श्रद्धा, तर्पण आदिको विशेष महत्व छ । यय दिन दान गर्नु सय गुणा दान बराबर मानिन्छ ।

मकर संक्रान्तिदेखि सूर्य उत्तरतर्फ आउन थाल्छ । अर्थात गर्मी मौसम सुरु हुन्छ । अन्धकार कम हुन्छ । सूर्यको प्रकाश तेज हुन्छ । प्रकाश अधिक हुने भएकाले प्राणिको चेतना र कार्यशक्तिमा वृद्धि हुन्छ ।

यस तिथिको मानिसको जीवनमा पनि प्रभाव पार्नु सर्वथा स्वाभाविकै हो, यसदेखि नै बूढापाकामा पनि जोश एवम् जाँगर चल्न थाल्छ र सूर्यको प्रकाशबाट यिनीहरूले घामको सेवन गरेर भिटामिन ‘डी’ को प्राप्ति गर्ने गर्दछन । सूर्यको आराधना एवम् अर्चना गर्दा यसको रश्मिमा रापको अभिवृद्धि हुँदै जान्छ र चिसोबाट मानिसलाई मुक्ति पनि मिल्दै जान्छ । सूर्यलाई आरोग्यप्रदायक देवताका रूपमा मानिसले अन्तस्करणबाटै अभिप्रेरित भएर पूजाआजा गर्न थाल्छन । यस पर्वको महान् सन्देश नै मित्रता, शान्ति र अनेकतामा एकता हो भन्न सकिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए ।

तिला संक्रान्ति

देशका अन्य ठाउँमा यो पर्वलाई जे नाउँ दिएपनि मिथिलामा तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । सन्तानले सेवा गर्ने र हरेक आदेश पालना गर्ने भनेर वचन दिएपछि तिल र शख्खरको मिश्रण प्रसादका रुपमा अभिभावकले दिने गर्छन् र सोही अवसरमा सन्तानहरुले ढोगेर आर्शीवाद प्राप्त गर्छन् सांस्कृतिविद् एवं मैथिली साहित्यकार पुनम झा मैथिलीले वताइन ।

मिथिलामा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने चलन रहेको छ । यसका लागि घर घरमा एक हप्ता पहिलादेखि नै तयारी हुँदै आएको थियो । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघ महिानको सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् ।

कतिपय धर्मावलम्बीले बिहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु चामल, सख्खर तिल आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ । धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ ।

यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भन्ने गरेको सांस्कृतिविद चन्द्रमोहन झा पड़वा बताउछन् । यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवा च्युरालाई पनि भन्ने चलन छ ।

यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ । खासगरी मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइ दिने परम्परा पनि छ । यस प्रथालाई मैथिलीमा जडाउर भनिन्छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउ खिचडी खान्छन् ।

खिचडीको भोज

यसपर्वको अवसरमा घर घरमा खिचडी बनाउँछन नै । तर जनकपुरधामको केही स्थानमा खिचडी भोज हुने गर्छन । गंगासागरमा सेभ हिस्टोरिकल जनकपुरधामले खिचडी भोज गर्ने गर्छन । सो स्थलमा सयौ व्यक्तिलाई निमन्त्रण दिई खिचडी खान बोलाउने गरिन्छ । मिथिलाको प्रमुख भोजन खिचडीलाई अन्य समुदायमा पनि जनाउन यसप्रकारको कार्यक्रम गर्ने गरिएकोसेभ हिस्टोरिकल जनकपुरधामका कोषाध्यक्ष राकुमार महासेठले वताए ।

यसैगरी अरगज्जा सरमा युवा अभियानी सुशिल कर्णको नेतृत्वमा खिचडी भोज हुनेगर्छन । सो स्थलमापनि भोज खानेहरुको भीड लागेको हुन्छ । कतिलेआफनो घरमा खिचडी बनाएर वृद्धाश्रमर अनाथ आश्रम, कुष्ठरोगी धर्मशालामा गएर खिचडी खुवाउने गर्छन ।

पुराणका कथा

एकपल्ट जाबाली महर्षिसँग सुनाग नामक मुनिले मकरसङ्क्रान्तिको महत्वका ’boutमा सोधेका थिए । जाबाली महर्षिले उत्तर दिएका थिए कि यस पर्वमा भगवान् शङ्करको प्रतिमालाई घिउसित अभिषेक गरेर तिलको फूल र वेलपत्र चढाएपछि शङ्कर भगवान् खूब खुसी भएर आशिर्वाद दिनुहुन्छ ।

श्रद्धापूर्वक पूजा गरेर शङ्करको प्रतिमालाई प्रदक्षिणा गरेको खण्डमा अझ बढी पुण्य र फलको प्राप्ति हुन्छ । ‘त्रयंबक’ मन्त्र ‘उँ नुँ स’ को उच्चारण गरेपछि अझ पुण्यप्रद मानिन्छ । दधिमंथनको दान पनि यस अवसरमा गर्नु अझ पुण्यदायी मानिएको छ । एकपल्ट कृपाचार्यकी श्रीमती कृपिले दुर्वासा ऋषिसँग आफ्नो निर्धनता एवम् निःसन्तान हुनुको दुःखलाई दूर गर्ने प्रार्थना गरेपछि दुर्वासा ऋषिले उनलाई दधिमंथनको उपाय बताएको कुरो पनि पुराणमा उल्लेख भएको पाइन्छ । यसबाट उनको दुःख र दरिद्रता नष्ट हुन गएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित