समस्या सरकारको वाचामै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पादकसँगको भेटघाटमा आफ्नो देश बनाउने हुटहुटीमा सम्पादकबाट सहयोग होस् भनी गरेको अपेक्षालाई मिडियालगायत सबै पक्षले सकारात्मक रूपमा लिएका छन् । मिडियाको त मुख्य धर्म नै राम्रो काम गरेमा समर्थन र नराम्रो काम गरेमा विरोध गर्नु नै हो । त्यसैले प्रधानमन्त्रीले सम्पादक तथा मिडियाको सपोर्ट पाउन आमजनताको चाहना र हितअनुसार काम गर्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्डले सर्भिस डेलिभरीलाई प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्ने बाचा गरेका छन् । यस्तै, राइटम्यान इन राइट प्लेसको अवधारणालाई आत्मसात गर्ने तथा आफ्नो कार्यकालमा सिंहदरबारलाई कर्मशील थलो बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डका यी वाचा र प्रतिबद्धतामा तत्काल कुनै प्रश्न र गुनासा कसैको पनि रहँदैन, बरू यसलाई आशाकै रूपमा हेर्न सकिन्छ । तर, विगतका प्रायः सबै सरकार आफंैले गरेका वाचा र प्रतिबद्धता कार्यान्वयन गर्न चुक्दै आइरहेको यथार्थ हामीसामु छ । प्रचण्ड स्वयं पनि यस अघि नै दुई कार्यकाल प्रधानमन्त्री भइसकेका हुन् । जनसाधरणका आँखामा उनी ‘टेस्टेड’ प्रधानमन्त्री हुन् । उनी पनि यस अघिका दुई कार्यकालमा आशा लाग्दा काम गर्न नसकेका प्रधानमन्त्रीमा पर्छन् । तर, उनले यसपटक आपूmलाई असाधारण जिम्मेवारी आइपरेकाले सोहीअनुसार परिणाम दिनेगरी काम गर्ने प्रतिबद्धता जनाएकाले उनी यसपटक सच्चिएर अघि बढ्छन कि भन्ने विश्वास भने गर्न सकिन्छ ।

त्यसैले अब उनी आफूले गरेका वाचा र प्रतिबद्धता पूरा गर्नतिर लाग्नुपर्छ । यसका लागि पहिलो त उनमा इच्छाशक्ति र इमान दुवै हुनुपर्छ । कर्मचारीलाई विश्वासमा लिएर काम गर्न र गराउन सक्नुपर्छ । किनकि सरकारले गर्ने र गरेका निर्णयको कार्यान्वयन गर्ने प्रमुख भूमिका स्थायी सरकारका रूपमा रहेको सिंगो कर्मचारी संयन्त्रकै हो ।

यसपछि उनलाई प्रधानमन्त्री हुन आधार प्रदान गरेको सत्तागठबनधनको कुरा आउँछ । यो गठबन्धनले निर्वाध रूपमा काम गर्न दिन्छ वा बाधा व्यवधान र आआप्mना स्वार्थअघि सार्छ, त्यो हेर्न बाँकी छ । जनताले चाहेको भाषण, चाहना र भावनाको अभिव्यक्तिमात्र होइन, बरू बोलेका कुराको इमानका साथ गरिनुपर्ने कार्यान्वयन नै हो । अहिले जनता कसले बढी आश्वासन दिन्छ, कसले बढी अरूको आलोचना गर्छ वा कसले सपना देखाउँछ भन्ने पक्षमा छैनन्, बरू थोरै भए पनि बोलेका कुरा कार्यान्वयनमा लिएर को जान्छ भनी हेर्न र अनुभूत गर्न चाहेका छन् । कुन पार्टी र कुन विचार भनेर पनि छुट्याउने कुरामा छैनन् । मात्र कसले के कति गर्न सक्छ, त्यो हेर्न चाहिरहेका छन् । ज्योतिषीलाई हात हेराएर सातपटक प्रधानमन्त्री हुन्छु भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले जनमतको खिल्ली उडाउन थालेपछि निराश भएका जनताले प्रचण्डको आगमनबाट देउवाको घाम तपाईंभन्दा केही फरक पो हुन्छ कि भनी आशा पनि गरेका छन् ।

सम्पादकले ‘समस्या समाधान गर्दै जानुस्, सेवाप्रवाह प्रभावकारी बनाउँदै अघि बढ्नुस्, बिचौलिया र माफियाको घेरा तोड्दै अघि बढ्नुस् अनि हामी तपाईंलाई खोज्दै आउँछौं’ भनी दिएको अग्रिम जवाफ व्यंग्यवाणमा परिणत नहोस् । यसका लागि प्रधानमन्त्रीले यस्ता भेटघाट र छलफललाई कर्मकाण्डी बनाउन किमार्थ हुँदैन ।

जनताका दैनिक उपभोग्य सामानमा आकासिएको महँगीले अझै थप उचाइमा उडान भर्दै छ । कतै सरकार आफंैले जनताका माझमा गरेको वाचा आफूतिर फर्कने गरी गुनासा र आलोचनाको तीर बनेर नआओस् ! सरकारको वाचा नै समस्या नबनोस् । त्यसैले प्रधानमन्त्रीले आफ्नो वाचा र प्रतिबद्धताको सशक्त कार्यान्वयन गर्न सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण